७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

संस्कृति र सम्पदा संरक्षण मुख्य अजेन्डा

मुलुक निर्वाचनमय बन्दै गएको छ। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा राजनीतिक दल र उम्मेदवारलाई भोट माग्ने चटारो छ। मत माग्न दलका नेता, कार्यकर्ता र उम्मेदवार मतदाताबीच पुगिरहेका छन्। मत तान्न उम्मेदवारहरूले अनेक अजेन्डा र आश्वासन दिइरहेका छन्। यस्ता आश्वासनमा बाटोघाटो, सडक, पुलपुलेसा, सिँचाइ, खानेपानी, शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता विकासे अजेन्डा प्रमुख छन्।

तर राजधानी काठमाडौंमा एउटा यस्तो निर्वाचन क्षेत्र छ, जहाँका मतदातालाई यस्ता अजेन्डाले खासै छुँदैन। काठमाडौं निर्वाचन क्षेत्र नं. ८ लाई नेवाः सभ्यताको ‘कोर’ क्षेत्र मानिन्छ। धेरैले यसलाई नेवार समुदायको ‘कोर एरिया’ भनेर चित्रण गर्छन्। काठमाडौंमा हुने हरेक निर्वाचनमा ‘कोर एरिया’को चर्चा हुन्छ। रैथाने नेवारी समुदायको बाक्लो बस्ती रहेको क्षेत्रलाई ‘कोर एरिया’ भनेर परिचय दिइन्छ। यही कोर एरियाका भित्री नेवारी बस्ती समेटेर काठमाडौं निर्वाचन क्षेत्र नं. ८ निर्धारण गरिएको छ।

यो क्षेत्रमा काठमाडौं महानगरपालिकाका वडा नं. १३ (कालिमाटी), १५ (डल्लु), १९ (यट्खा), २० (भीमसेन थान), २३ (झोसे, वसन्तपुर) र २४ (मखन) समेटिएका छन्। यी वडामा घना नेवारी बस्ती छन्। यसबाहेक यो क्षेत्रमा नागार्जुन नगरपालिकाका वडा नं. ४ र ५ पनि पर्छन्। यी वडामा गैरनेवार समुदायको पनि बसोबास छ। काठमाडौं–८ नेवार संस्कृति र सम्पदाले समृद्ध छ। स्वयम्भू, हनुमानढोका दरबारजस्ता विश्व सम्पदा सूची यो क्षेत्रका गहना हुन्। यसैकारण यो क्षेत्रमा निर्वाचनको प्रमुख अजेन्डा नेवार सभ्यता, संस्कृति र सम्पदाको संरक्षण हुन्छ। यही अजेन्डावरिपरि चुनाव घुम्छ।

‘यहाँको मूल अजेन्डा नै संस्कृतिको संरक्षण र संवद्र्धन हो। विगतका चुनावमा पनि यस्तै हुँदै आएको छ,’ दुईपटक यही क्षेत्रबाट निर्वाचित भएका पूर्वमन्त्री नवीन्द्रराज जोशी (स्वर्गीय) का स्वकीय सचिव पुष्करराज पाण्डे भन्छन्, ‘मैले बुझेसम्म हरेक उम्मेदवारले भोट माग्दा यो अजेन्डा छुटाउन सक्दैनन्।’ अहिले पनि यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि तीन स्वतन्त्रसहित १९ जना र प्रदेशसभा सदस्यका २ सिटका लागि २१ जना उम्मेदवार छन्। यी उम्मेदवारले यस क्षेत्रको संस्कृति, सम्पदा र सभ्यता संरक्षणलाई नै मुख्य अजेन्डा बनाएर मत मागिरहेका छन्।

कोको छन् प्रतिस्पर्धी ?

यस क्षेत्रबाट प्रतिनिधिसभामा सत्ता गठबन्धनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई उठाएको छ। उनी अघिल्लोपटक यही क्षेत्रबाट निर्वाचित भएका थिए। त्यतिबेला नेकपा एमालेका उम्मेदवार श्रेष्ठ १३ हजार ३९७ मत पाएर विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका नवीन्द्रराज जोशीले १२ हजार ९५३ मत पाएका थिए। अहिले श्रेष्ठ सत्ता गठबन्धनको समर्थनमा नेकपा एकीकृत समाजवादी (नेकपा एस) बाट उम्मेदवार बनेका हुन्। उनलाई सत्ता गठबन्धनका कांग्रेस र नेकपा माओवादी केन्द्रले साथ दिएका छन्। यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेले शिवसुन्दर राजवैद्यलाई उम्मेदवार बनाएको छ। त्यस्तै प्रतिनिधिसभा सदस्यका लागि यो क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रकाश रिमाल, हाम्रो नेपाली पार्टीका सुमन सायमिसहित १९ जना उम्मेदवार छन्।

स्थानीय तह निर्वाचनको नतिजाअनुसार यो क्षेत्रमा नेकपा एसका श्रेष्ठ बलियो उम्मेदवार देखिन्छन्। यो क्षेत्रमा पर्ने स्थानीय तहका वडाध्यक्षका उम्मेदवारले पाएको मत कांग्रेसको १० हजार ८७२, नेकपा एसको ५ हजार १४२ र माओवादी केन्द्रको १८९ छ। यी तीन दलबीच चुनावी गठबन्धन छ। त्यस्तै एमालेको ९ हजार २५३ र राप्रपाको ३ हजार १६० मत छ। प्रतिनिधिसभा सदस्यका लागि हाम्रो नेपाली पार्टीबाट उम्मेदवार बनेका सायमि स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट मेयरका उम्मेदवार थिए। उनले १३ हजार ७७० मत पाएका थिए। उनको अधिकांश मत यही क्षेत्रमा पर्ने वडाहरूबाट आएको थियो। यही कारण उनलाई अहिले पनि बलियो प्रतिस्पर्धी मानिएको छ।

यो क्षेत्रबाट निर्वाचित हुन कांग्रेसको मत निर्णायक मानिएको छ। आफ्नो बलियो क्षेत्रमा नेकपा एसका उम्मेदवार खडा गरिएको भन्दै कांग्रेसका नेताकार्यकर्ता रुष्ट छन्। जानकारहरूका अनुसार यस क्षेत्रका मतदाता पार्टीभन्दा व्यक्ति हेर्ने खालका छन्। यहाँ रहेका गुठीहरूले व्यक्तिका आधारमा निर्णय लिएर मतदान गर्ने भएकाले चुनावी नतिजाबारे अहिले अड्कल काट्न नसकिने जानकारहरू बताउँछन्। नेवार समुदायका पनि मानन्धर, महर्जन, खड्गी र श्रेष्ठका अलग–अलग टोलअनुसारका गुठी छन्। जसका अध्यक्ष तथा पुजारीले लिने निर्णय गुठियारलाई पनि मान्य हुने बताइन्छ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ (क) मा नितान्त नेवारी समुदायको बसोबास छ। काठमाडौं महानगरपालिकाका १३, १९, २०, २३ र २४ नम्बर वडा प्रदेशसभा निर्वाचन क्षेत्र (क) मा समेटिएका छन्। यी वडामा कालिमाटी, यट्खा, भीमसेन थान, झोसे, वसन्तपुर र मखन क्षेत्र पर्छन्। काठमाडौं ८ (क) बाट सत्ता गठबन्धनले प्रदेशसभा सदस्यका लागि कांग्रेसका राजुराज जोशीलाई उम्मेदवार बनाएको छ। उनी कांग्रेसका तर्फबाट ‘हेभिवेट’ उम्मेदवार मानिन्छन्। जोशी २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा मेयरका प्रतिस्पर्धी थिए। उनली पूर्वमन्त्री नवीन्द्रराज जोशीका दाइ हुन्।  

काठमाडौं–८ (क) मा एमालेले निवर्तमान सांसद राजेश शाक्यलाई नै उम्मेदवार बनाएको छ। उनी अघिल्लोपटक माओवादी केन्द्रको सहयोगमा ७ हजार ७८० मतसहित निर्वाचित भएका थिए। त्यसबेला कांग्रेसकी राज्यलक्ष्मी श्रेष्ठले ६ हजार १७६ र विवेकशील साझाका अनिल तुलाधरले ३ हजार २५७ मत पाएका थिए। काठमाडौं ८ (क) मा राप्रपाबाट केदारबहादुर धमला उम्मेदवार छन्।  

नौजना उम्मेदवार रहेको यो क्षेत्रमा कांग्रेसका उम्मेदवार अगाडि देखिन्छन्। स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा यस क्षेत्रमा कांग्रेसको ७ हजार ३९०, एमालेको ६ हजार ६१५, नेकपा एसको १ हजार ६१६, राप्रपाको ९३४ र माओवादी केन्द्रको २५ मत छ।

यस्तै काठमाडौं ८ (ख) मा प्रदेशसभा सदस्यका लागि १२ जना उम्मेदवार छन्। यो क्षेत्रमा काठमाडौं महानगरपालिकाको वडा नं. १५ र नागार्जुन नगरपालिकाका वडा नं. ४ र ५ पर्छन्। यो क्षेत्रमा नेवारबाहेक अन्य समुदायको बाहुल्यता छ। यो क्षेत्रमा सत्ता गठबन्धनले कांग्रेसका अमिन पाण्डेलाई उम्मेदवार बनाएको छ। त्यस्तै एमालेले निमा घ्याम्छो तामाङ र राप्रपाले उद्धव थापालाई उम्मेदवार बनाएको छ। पाण्डे त्यस क्षेत्रमा परिचित व्यक्ति हुन्।  

अघिल्लोपटक यो क्षेत्र वाम गठबन्धनकै बलमा एमालेका उम्मेदवारले जितेका थिए। त्यतिबेला यो क्षेत्रबाट एमाले नेत्री अष्टलक्ष्मी शाक्य ५ हजार १५९ मतसहित विजयी हुँदा कांग्रेसका देवरत्न डंगोलले ३ हजार ६६९ मत पाएका थिए। त्यस्तै राप्रपाका प्रकाश रिमालले २ हजार ६२१ र विवेकशील साझाका उम्मेदवार श्यामकृष्ण श्रेष्ठले १ हजार २७३ मत पाएका थिए।

स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मत हेर्दा यो क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार बलिया देखिन्छन्। वडाध्यक्षले पाएको मतका आधारमा यो क्षेत्रमा सत्ता गठबन्धनमा रहेका नेकपा एसको ३ हजार ५६३, कांग्रेसको ३ हजार ४८२ र माओवादी केन्द्रको १६४ मत छ। त्यस्तै एमालेको २ हजार ६३८ र राप्रपाको २ हजार २२६ मत छ।

विगतमा झैं यसपटक पनि काठमाडौं–८ बाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार भएका नेताले प्रमुख अजेन्डा संस्कृति र सभ्यता संरक्षणलाई बनाएका छन्।। ‘हाम्रो क्षेत्र संस्कृति र सम्पदाका हिसाबमा देशकै समृद्ध र मानक क्षेत्र हो,’ एमालेबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार भएका शिवसुन्दर राजवैद्यले भने, ‘हाम्रो पहिलो अजेन्डा यहाँको संस्कृति, सम्पदा र सभ्यता संरक्षण नै हो। बाँकी कुरा त हाम्रो पार्टीको घोषणापत्रमा आइहाल्छ।’

सत्ता गठबन्धन दलका उम्मेवार पनि यो कुरामा सहमत छन्। ‘यो क्षेत्र संस्कृति र सम्पदाले धनी छ। विश्व सम्पदा सूचीमा समावेश स्वयम्भूदेखि हनुमानढोका दरबार यही क्षेत्रमा छन्। ऐतिहासिक तालहरू छन्,’ कांग्रेसका तर्फबाट प्रदेशसभा (क) का उम्मेदवार राजुराज जोशीले भने, ‘यही संस्कृति र सम्पदा जोगाउन सके नेवारी पहिचान त जोगिन्छ नै यसैको पर्यटन विकासले आर्थिक समृद्धिमा समेत टेवा पुग्छ।’ भूकम्पले भत्काएका संरचनाको जीर्णोद्धार जस्ताको तस्तै गराउने पनि आफ्नो अजेन्डा रहेको उनले बताए। यसबाहेक सरकारी तथा सामुदायिक शिक्षाको गुणस्तर अभिवृद्धि र सामुदायिक अस्पतालहरूको विकास पनि आफ्नो अजेन्डा रहेको उनले सुनाए।

प्रकाशित: ५ कार्तिक २०७९ ०१:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App