नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गणतन्त्र र संघीयताको रक्षा गर्नका लागि गठबन्धन बनेको बताएका छन्।
शुक्रबार सत्तारुढ गठबन्धनले पोखरामा आयोजना गरेको प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गणतन्त्र, संघीयता लगायतको परिवर्तनको रक्षाका लागि गठबन्धन बनेको बताएका हुन्।
उनले आफूहरु लोकतन्त्रप्रति समर्पित योद्धा भएको भन्दै गठबन्धन स्वभाविक र प्राकृतिक रहेको बताए। उनले पवित्र उद्देश्यले गठबन्धन बनाइएको उल्लेख गरे। अध्यक्ष नेपालले प्रतिपक्षी गठबन्धनले प्रतिगामीहरुसँग साँठगाँठ गरिरहेको बताए।
प्रतिपक्षी गठबन्धनलाई जनतालाई दिइएको अधिकार र लोकतन्त्र मन नपरेको भन्दै उनले अधिनायकवादी चिन्तन र एकाधिकारको वकालत गर्ने गरेको बताए। अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन जनताप्रति जिम्मेवारी बोधका साथ अगाडि बढेको बताए।
प्रकाशित: ४ कार्तिक २०७९ ११:४२ शुक्रबार