१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

बैंकको ब्याजदर वृद्धि तत्काल रोक्नुपर्छः गृहमन्त्री खाँण

बैंकहरुले जथाभावी ब्याज वृद्धि गरिरहेको भन्दै उद्योगी व्यवसायी आन्दोलित भइरहेका बेला गृहमन्त्री बालकृष्ण खाँणले तत्काल ब्याजदर वृद्धि रोक्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेका छन्। 

रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका नेता खाँणले बिहीबार निर्वाचन क्षेत्रमा आयोजित एक कार्यक्रममा बोल्दै बैंकहरुले ब्याजदर वृद्धि गरिरहे आवश्यक ऐन–कानून संशोधन गरेर भए पनि सरकारले नियन्त्रण गर्ने बताए।

पाँच दलीय गठबन्धनले आयोजना गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री खाणले ब्याजदर बृद्धिले मुलुकको अर्थतन्त्रमै असर गरिरहेकाले बैंक संचालकहरुले ध्यान दिनु पर्नेमा जोड दिए। निजी क्षेत्र देशको आर्थिक मेरुदण्ड भएको उल्लेख गर्दै उनले  बैंक तथा वित्तीय संस्थासँगै राष्ट्र बैंकले पनि त्यसतर्फ ध्यान दिनु पर्ने बताए। ‘मैले अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नरसँग पनि कुरा गरिसकेको छु, तत्काल ब्याज वृद्धि रोक्न भनेको छु’, उनले भने, ‘निर्वाचन आचारसंहिताले तत्काल सरकार एक्सनमा जान सक्दैन। तर, ब्याज वृद्धि रोकिएन भने सरकारले ऐन संशोधनका कदम पनि उठाउन बाध्य हुनेछ।’गृहमन्त्री खाँणले भने।

निजी क्षेत्रसँगै मिलेर मुलुकको अर्थतन्त्र बलियो गराउने राज्यको दायित्वको भएको उल्लेख गर्दै उनले अहिलेको अवस्थालाई सुधार गर्न मौद्रिक नीतिमा सुधार गर्नुपर्ने बताए। बिहिबारै आयोजित अर्को  एक कार्यक्रममा गृहमन्त्री खाणले सीमा क्षेत्रका बासिन्दा राष्ट्र र राष्ट्रियताका  सच्चा पहरेदार भएको बताए। देशको भूमि जोगाएर बर्षौदेखि सीमामा बसेका जनतालाई सरकारले सधै उच्च सम्मान गर्ने बताए।

सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीहरुका कुनैपनि  समस्या समाधान गर्न सरकार लागि परेको बताउदै उनले  ढुक्क भएर नेपाली भूमिको रक्षा गर्न र निर्धक्क भएर आफ्नो दैनिकी संचालन गर्न आग्रह गरे।  

कार्यक्रममा क्षेत्र नम्बर ३ (ख) का प्रदेशसभा सदस्यका उम्मेदवार तथा नेपाली काँग्रेस रुपन्देहीका पूर्वसभापति रामचन्द्र ढकालले मुलुकलाई प्रतिगमनतिर लैजाने की अग्रमनतिर भन्ने छिनोफानो गर्ने दिन मंसिर ४ भएको बताए। उनले संविधान, संघीयता र गणतन्त्रमाथि प्रहार गर्ने शक्तिहरुलाई उठ्नै नसक्ने गरी दण्डित गर्नुपर्ने जनाए। ‘मुलुकको विकास र आर्थिक समृद्धिका लागि पनि यो निर्वाचनमा पाँच दलीय गठबन्धन र नेपाली काँग्रेसले जित्नु जरुरी छ’ उनले भने।

गुप्ता काँग्रेस प्रवेश

रुपन्देहीको तत्कालीन मैनहिया गाउँविकास समितिका अध्यक्ष तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता रंगनाथ गुप्ता नेपाली कांग्रेस प्रवेश गरेका छन्। रुपन्देही ३ प्रतिनिधि सभा सदस्यका उम्मेदवार गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले सियारी गाउँपालिका वडा नम्बर २ मा आयोजित कार्यक्रममा पूर्व गाउँविकास समिति अध्यक्ष गुप्तालाई पार्टीको सदस्यता प्रदान गर्दै पार्टीका स्वागत गरे।

प्रकाशित: ३ कार्तिक २०७९ १३:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App