७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

२०१५ सालको पहिलो प्रतिनिधिसभा निर्वाचन

नेपालमा पहिलो संसदीय निर्वाचन २०१५ सालमा भएको थियो। नेपालमा प्रजातन्त्रको अभ्युदयपछि २०१५ सालमा भएको प्रथम आम निर्वाचनमा ४२.१८५ प्रतिशत मतदाताले मतदान गरेका थिए। जनताको प्रत्यक्ष मतदानबाट भएको पहिलो प्रतिनिधिसभा निर्वाचनको त्यतिबेला संविधानमा छुट्टै व्यवस्था भने थिएन। तापनि दुई सदस्यीय टोलीलाई आयोगजस्तै निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिइएको थियो। प्रधान निर्वाचन कमिस्नर सुवर्ण शमशेर र निर्वाचन कमिस्नरका रूपमा प्रद्युम्नलाल राजभण्डारीलाई जिम्मा लगाइएको थियो।  

२०१५ साल फागुन ७ देखि सुरु भएको सो निर्वाचन विभिन्न चरणमा गरी चैत २८ गते ४५ दिनमा सकिएको थियो। मतको अन्तिम परिणामको घोषणा २०१६ साल वैशाख २८ गते भएको थियो। चुनाव भएको दुई महिनापछि परिणाम घोषणा भएको थियो।

माथिल्लो सदन महासभा र तल्लो सदनलाई प्रतिनिधिसभा भनिएको थियो। प्रतिनिधिसभामा १ सय ९ जना सदस्य रहने व्यवस्था गरिएको थियो। प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुन २५ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था थियो। २१ वर्ष उमेर पूरा भई मतदाता नामावलीमा नाम भएका व्यक्तिले मतदान गर्न पाउने व्यवस्था थियो।

तत्कालीन निर्वाचनमा चुनाव प्रचार–प्रसारका लागि खर्चको अधिकतम सीमा ५ हजार रूपैयाँ तोकिएको थियो। त्यस आम निर्वाचनमा कुल मतदाता ४२ लाख ४६ हजार ४ सय ६८ जना थिए। एक निर्वाचन क्षेत्रमा बढीमा ५४ र घटीमा ११ वटा मतदान केन्द्र तोकिएको थियो।  

मतगणनाको परिणाम सर्वप्रथम क्षेत्र नम्बर ९२ (गुल्मी मध्यपूर्व) र अन्तिम क्षेत्र नम्बर ८७ (बागलुङ उत्तर क्षेत्र) को घोषणा भएको थियो। सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ७४ मा (जुम्ला दक्षिण ५६ हजार ९ सय ३ २) र सबैभन्दा कम मतदाता क्षेत्र नम्बर ६७ मा (बैतडी पूर्व–दक्षिण २३ हजार ४ सय ६७) थिए। सबैभन्दा बढी मत खसेको क्षेत्र नम्बर १ मा २७ हजार ३ सय ९४ र सबैभन्दा कम मत खसेको क्षेत्र नम्बर ७६ मा ६ हजार ८७ थियो।  

निर्वाचनमा एकभन्दा बढी निर्वाचन क्षेत्रमा उम्मेदवारी दिन पाउने व्यवस्था थियो। कम प्रतिशतमा मतदान भए पनि त्यस निर्वाचनको वैधतामा कुनै शंका गरिएको थिएन। निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामाथि पनि कुनै शंका उठेको थिएन। डा. केआई सिंहले प्राविधिक त्रुटि देखाई रिट निवेदन दायर गरेका थिए। रिट अदालतबाट खारेज भएपछि निर्वाचनको वैधता झन् सुनिश्चित भएको थियो।

त्यस चुनावमा ९ वटा राजनीतिक दलले चुनाव लडेका थिए। चुनावमा नेपाली कांग्रेस रुख चिन्ह, नेपाल राष्ट्रिय कांग्रेसको छाता, नेपाल प्रजापरिषद् (आचार्य गुट) धानको डालो, संयुक्त प्रजातान्त्रिक पार्टी नेपालले धानको बाला र नेपाल प्रजातान्त्रिक महासभाले हात चुनाव चिह्न लिएका थिए।  

त्यसैगरी नेपाल राष्ट्रवादी गोरखा परिषद्ले झुपडी, नेपाल प्रजापरिषद् (मिश्र गुट) ले हलो, नेपाल कम्युनिस्ट पार्टीले मकैको तीन घोगा र हँसिया र तराई कांग्रेसले लगौंटी लगाएको मानिसले टाउकोमा गहुँको बिटा बोकेको चुनाव चिह्न पाएका थिए।

प्रकाशित: ३ कार्तिक २०७९ ०१:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App