विश्व शक्ति राष्ट्र संयुक्त राज्य अमेरिकाको राष्ट्रपति निर्वाचनको महत्वपूर्ण अंगका रूपमा प्रेसिडेन्सियल डिबेट (राष्ट्रपतीय बहस) लाई लिइन्छ।
राष्ट्रपतिका उम्मेदवारहरूले मनोनयन दर्ता गरेपछि उनीहरूका अजेन्डामा केन्द्रित रहेर यस्तो बहस सञ्चालन गरिन्छ। खुलारूपमा सञ्चालन हुने बहसमा पत्रकारको समूहले सहजीकरण गर्छन्; जसलाई टेलिभिजन, रेडियो र पछिल्लो समय अनलाइनहरूले प्रत्यक्ष प्रसारण गर्छन्। सन् १९६० को राष्ट्रपति निर्वाचनमा यो बहस थालिएको थियो। उतिबेला अमेरिकाका एक करोड ७९ लाख जनसंख्यामध्ये ६६ लाखले यो बहस मन पराएका थिए। अहिले बहुसंख्यक तटस्थ मतदाताले त्यही बहसलाई आधार बनाएर आफ्नो उम्मेदवारको चयन तथा मतदान गर्छन्।
अमेरिकाजस्तै प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय व्यवस्था भएका अधिकांश पश्चिमा देशले यसलाई महत्वपूर्ण अभ्यासका रूपमा लिन्छन्। यही विषयमा मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लिएर पछिल्ला दिनमा आगामी प्रधानमन्त्रीको दौडमा रहेकाहरूबीचमा यस्तै बहस हुनुपर्ने आवाज उठ्न थालेको छ। सामाजिक सञ्जालका प्रयोगकर्ताले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका बीचमा यस्तो बहस हुनुपर्ने भन्दै आवाज उठाइरहेका छन्।
यही कुरालाई लिएर सामाजिक सञ्जालमार्फत एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री देउवालाई यस्तै प्रत्यक्ष बहसका लागि ललकारेका छन्। मंगलबार फेसबुकमा एक पोस्ट् गर्दै उनले यस्तो बहसका लागि आफू तयार रहेको भन्दै देउवा तयार हो? भनेर ललकारेका हुन्। ‘सामाजिक सञ्जालमा रहेका धेरै साथीले ‘लाइभ डिबेट’ मा आउन आग्रह गर्नुभएको छ। धेरैजसोले मेरो र कांग्रेस सभापति शेरबहादुर देउवाजीबीच अजेन्डामा आधारित बहसका लागि सुझाव दिनुभएको छ’, उनले लेखेका छन्, ‘निर्वाचन समयमा पश्चिमा देशहरूमा यस्तो डिबेट हुने गरेको छ। म त यसका लागि तयार छु, देउवाजी नि?’
वाकपटुतामा खप्पिस ओलीले यही कलामा कमजोर मानिने कांग्रेस सभापति देउवालाई लल्कारेपछि सामाजिक सञ्जालमा अनेक टिप्पणी भइरहेको छ। उनकै फेसबुक पोस्ट्मा पक्ष–विपक्षमा मतमतान्तर भइरहेको छ। यसै विषयमा वरिष्ठ पत्रकार कुन्दन अर्यालले चुनावी प्रतिस्पर्धामा रहँदा दुई प्रधानमन्त्रीका उम्मेदवारका बीचमा यस्तो बहस हुनु जायज हुने बताउँछन्। यस विषयमा नागरिक स्तरबाट उठ्ने आवाजलाई स्वीकारे गरेर अध्यक्ष ओलीले राखेको धारणा सकारात्मक रहेको उनले बताए।
‘चुनावका बीचमा एउटा प्रतिस्पर्धीले अर्कासँग आआफ्ना कुरा राखौं भनेर भन्नु असान्दर्भिक होइन’, अर्यालले भने, ‘जुन अन्य देशका लोकतन्त्रमा भइरहेको अभ्यास पनि हो। यसले हाम्रो हुने प्रधानमन्त्रीसँग के कुरा छन्? कस्ता अजेन्डा छन्? त्यसबारे जनताले थाहा पाउँछन् पनि।’
उता राजनीतिक विश्लेषक प्राध्यापक डा. गान्धी पण्डित ओलीको अभिव्यक्तिलाई चुनावी ‘स्टन्ट’ मात्रै भएको टिप्पणी गर्छन्। ‘उहाँ बोलीचालीमा चतुर र घन्टौं बोल्न सक्नुहुन्छ। देउवा स्वभावतः बोल्न सक्नुहुन्न। यही कारण उहाँले स्टन्ट मात्रै जनाउन यस्तो भन्नुभएको हो’, उनले भने, ‘खालि सार्वजनिक खपतका लागि बोलिएको आवाज हो।’ नेपालको राजनीतिक व्यवस्था संसदीय रहेकाले अगाडि नै प्रधानमन्त्री को हुने? यकिन भन्न नसकिने भएकाले यस्ता बहस सान्दर्भिक नहुने प्राध्यापक पण्डितले बताए। ‘कार्यकारी राष्ट्रपतिको व्यवस्था रहेका देशमा यस्तो बहस सान्दर्भिक हुन्छ; जहाँ निर्वाचित भएपछि राष्ट्रपति नै सर्वेसर्वा हुन्छ’, उनले भने, ‘नेपालमा संसदीय व्यवस्था हो। दलीय व्यवस्था हो। पहिले सांसदको र त्यसपछि दलले नेता चुनेपछि मात्रै संसद्ले प्रधानमन्त्री चुन्छ।
प्रकाशित: २ कार्तिक २०७९ ०२:१६ बुधबार