२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

‘जोशीलाई एमालेको भर पौडेललाई एमालेकै डर’

राजनीतिमा बेमेलको सम्बन्ध

आ–आफ्ना खर्कबाट पानीघाटमा जा“दा भेटिएका चौंरीजस्तै केही वर्षअघिसम्म केन्द्रीय समिति र एउटै कार्यक्रममा भेटिन्थे रामचन्द्र पौडेल र गोविन्दराज जोशी। नेपाली कांग्रेसका बैठक तथा कार्यक्रमका साथै तनहुँमा एकैसाथ देखिँदा केही वर्षअघिसम्म बोलेजस्तो गरे पनि उनीहरूमा आत्मीय सम्बन्ध भने थिएन। भेटिएका बखत छिनभरमै उनीहरू दुवै आआफ्ना बाटो लाग्थे। बाहिर एउटै पार्टीका नेता भए पनि दुवैको व्यवहार र सम्बन्ध प्रतिस्पर्धी दलको जस्तै थियो। समसामयिक राजनीतिलाई हेर्ने आँखा र अडान राजनीति सुरु गर्दादेखि नै भिन्नै थियो उनीहरूको। जिल्ला र केन्द्रको राजनीतिमा पौडेल र जोशीले आआफ्नो गुट र शक्ति संघर्ष पहिलेदेखि नै चलाउँदै आएका छन्।

२००१ असोज ३० गते तनहुँको रिस्ती–२ बाहुन पोखरामा जन्मिएका पौडेल र २००६ साउन २८ गते तनहुँकै रूपाकोट–३ खोल्टेमा जन्मिएका जोशीलाई पञ्चायतविरुद्ध आन्दोलनमा होमिएको भनेर कांग्रेसले एकै ठाउँमा उभ्यायो। सामान्य परिवारका पौडेलले र राणा शासनकै बेलामा काठमाडौंसँग सम्पर्कमा रहेका जोशीले राजनीति भने फरक ढंगबाट सुरु गरे। पौडेलको भने राजधानीसँग खासै सम्पर्क थिएन। पौडेलले संस्कृत पढे भने जोशीले शिक्षा र कानुनको अध्ययन गरे। विद्यार्थी आन्दोलनबाट पौडेल कांग्रेस राजनीतिमा प्रवेश गरे भने अध्ययन पूरा गरेर जिल्लामा शिक्षण पेसा अपनाएका जोशी जिल्लाबाटै प्रजातन्त्र प्राप्तिको आन्दोलनमा सक्रिय भए। नेपाल विद्यार्थी संघ र अखिलको स्थापना हुनुअघि नै गण्डकी छात्र संगठन, गण्डकी छात्र परिषद्सहित विद्यार्थी संगठन थिए। ती संगठन सुरु भएसँगै जोशी पारिवारिक पृष्ठभूमिले गर्दा कांग्रेसनिकटका विद्यार्थी संगठनमा संलग्न भए। तर पौडेल केही अलमलमा परेजस्तै देखिए पनि २०२२÷२३ सालमा तिनै संगठनमा सक्रिय भए। बिएड सकिएपछि जोशी जिल्ला फर्केर विद्यालय स्थापना गरेर पढाउन सुरु गरे। तर पौडेल विद्यार्थी आन्दोलनतिरै सक्रिय भए। नेपाल विद्यार्थी संघका २७ संस्थापकहरू जेल परे। त्यसमा पौडेल पनि थिए। पौडेल विद्यार्थी आन्दोलनमा मात्र सीमित थिए।

जोशीको पारिवारिक पृष्ठभूमि कांग्रेससँग निकट थियो। जसले गर्दा पौडेलले भन्दा जोशीले पार्टीको सदस्यता पहिला लिएको स्थानीय नेताहरू बताउँछन्। तर दुवै नेताबीच ‘पहिला को कांग्रेस भयो?’ भन्ने पुरानो विवाद छ। ‘तँभन्दा म पहिला’ भन्ने ‘इगो’मै पार्टी राजनीतिमा उनीहरू होमिएको जानकारहरू बताउँछन्। त्यो विवाद दुई नेताबीच २०३६ सालमै उत्कर्षमा पुगेको थियो। विद्यार्थी राजनीतिमार्फत पौडेल केन्द्रीय नेताका रूपमा स्थापित हुँदै गए। जोशीले जिल्लामा आफ्नो पकडलाई विस्तार गर्दै लगे। उत्तर–पश्चिम र दक्षिण–पश्चिम दुवै भेगमा हेडमास्टरको भूमिका निर्वाह गरेका जोशीको जिल्लामा पकड थप बलियो भयो। जोशीको प्रभाव बढ्दै जाँदा २०३६ सालमा तनहुँ कांग्रेस जिल्ला समिति गठन भयो तर पौडेल अटेनन्। गोवद्र्धन पोखरेल जिल्ला सभापति भए भने जोशीले सचिवको जिम्मेवारी सम्हाले। जोशीनिकटले पौडेललाई जिल्लामा नेता मान्नै तयार नभएको बताउँदै दुवैलाई नजिकबाट चिन्ने तनहुँका एक नेता भन्छन्, ‘पौडेल आत्मकेन्द्रित र जोशीमा मपाइँत्व (अरूलाई नगन्ने) नेता हुँदा सुरुदेखि नै समस्या देखिएको हो। पौडेललाई जिल्ला कार्यसमितिमा नअटाएसँगै तनहुँ कांग्रेसमा गुटको राजनीति सुरु भयो।’

केन्द्रका नेताहरूको रोजाइमा पौडेल परे भने जिल्लामा जोशी। पौडेललाई पार्टी केन्द्रीय सदस्यको जिम्मेवारीमा ल्याइयो। जोशीसँग असन्तुष्ट नेताहरूको अलग समूह निर्माण हुन थाल्यो तनहुँमा। शिक्षण पेसामार्फत पञ्चायतविरोधी आन्दोलनमा सक्रिय जोशीलाई तत्कालीन सरकारले कर्णाली सरुवा गर्‍यो। सरकारको निर्णय अवज्ञा गर्दै जोशी शिक्षण पेसा छाडेर वकालत पेसामार्फत पार्टी राजनीतिमा सक्रिय भए।

विवादमै रमाए कार्यकर्ता

पार्टी स्थापनादेखि नै गुटगत राजनीतिमा कांग्रेसका नेताहरू रमाउँदै आएका छन्। त्यसको प्रभाव तनहुँका कांग्रेस नेता तथा कार्यकर्तामा पनि देखिएको छ। पार्टीका दुई प्रभावशाली नेताहरूबीचको बढ्दो दूरीलाई कम गर्ने होइन, उनीहरूको आन्तरिक विवादमा कार्यकर्ताले लाभ देख्न थाले।  

जसले गर्दा पौडेल र जोशीलाई मिलाउनभन्दा पनि थप भड्काउन कार्यकर्ता सक्रिय भएको निकटहरूको बुझाइ छ। २०४६ सालको राजनीतिक परिवर्तनपछि सत्ता र शक्तिको केन्द्रमा रहेका पौडेल र जोशीसँग फाइदा उठाउन जिल्ला तहका नेताहरूले एकअर्काको कुरा लगाउने काम गरेको निकटहरू बताउँछन्। विवादमा खेल्ने तिनै कार्यकर्तालाई दुवै नेताले आफ्नो पक्षमा पार्न अस्वाभाविक रूपमा सत्ता र शक्तिको प्रयोग गरेको उनीहरूलाई नजिकबाट नियाल्दै आएकाहरू बताउँछन्।

प्रधानमन्त्री हुँदै पार्टी सभापतिको जिम्मेवारीमा पुगेका गिरिजाप्रसाद कोइरालाले पनि पौडेल र जोशीबीचको आन्तरिक विवादमा पार्टी र सत्ता राजनीतिमा दुवैलाई उपयोग गरेको बताइन्छ। कोइरालाले तनहुँका पौडेल र जोशी मात्र होइन, नुवाकोटका रामशरण महत र अर्जुननरसिंह केसी, दाङका खुमबहादुर खड्का र बलदेव शर्मा मजगैयाँ, झापाका चक्रप्रसाद बास्तोला र कृष्णप्रसाद सिटौलासहित नेतालाई एकअर्काविरुद्ध प्रयोग गर्ने गरेको बताइन्छ। पार्टीभित्रको आन्तरिक विवादकै कारण कोइरालाले २०५१ सालमा मध्यावधि निर्वाचन घोषणा गरे। निर्वाचन परिणाम पार्टीको प्रतिकूल आएपछि उनले आफू प्रधानमन्त्री नबन्ने घोषणा गरे। कृष्णप्रसाद भट्टराई निर्वाचनमा पराजित भए। कांग्रेस संसदीय दलको नेता दोस्रो पुस्तामा जाने भयो। नेता पौडेल, शेरबहादुर देउवा र शैलजा आचार्य दलको नेतामा चर्चित थिए। भनेको नमान्ने भयले आचार्यलाई दलको नेता बनाउन गिरिजा तयार भएनन्। पौडेललाई दलको नेता मान्न जोशी पनि राजी नहुँदा खुमबहादुर खड्का, विजयकुमार गच्छदारसहित प्रभावशाली नेता विपक्षमा उभिए र देउवा संसदीय दलको नेता हुँदै प्रधानमन्त्री बने। पौडेलले भने सभामुखको जिम्मेवारी सम्हाल्ने अवसर पाए।

पार्टीभित्रको गुटगत राजनीतिमा जोशी सधैं गिरिजाप्रसाद कोइरालासँग नजिक बने भने पौडेल नेता कृष्णप्रसाद भट्टराईतिर झुकाव राख्थे। तर पौडेल भने आफूलाई मध्यमार्गी देखाउन चाहन्थे। २०५९ जेठमा कांग्रेसभित्र माओवादीविरुद्ध संकटकाल लगाउने वा नलगाउने भन्ने विवाद भयो। प्रधानमन्त्री देउवासहितका केही नेता संकटकालको पक्षमा देखिए भने गिरिजाप्रसादसहित केही नेता विपक्षमा उभिए। देउवाले संकटकाल लगाउँदै संसद् भंग गरिदिए। देउवालाई कांग्रेसले साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्‍यो। त्यससँगै कांग्रेस विभाजित हुन पुग्यो। तत्कालीन प्रधानमन्त्री देउवा पौडेललाई नयाँ पार्टीको सभापति बनाउन माला लिएर नयाँ बानेश्वरमा कुरेर बसे। तर पौडेललाई अन्तिम समयमा शैलजा आचार्यले नयाँ पार्टीमा जानबाट रोकिन्। पौडेल पुरानै पार्टीमा बसे। नयाँ पार्टीको सभापतिका रूपमा पौडेललाई लगाइदिन ल्याइएका माला सभापतिका रूपमा आफैंले लगाएर देउवा बानेश्वरबाट फर्के। त्यसपछि पौडेल र जोशीको मुहान एउटै बन्न पुग्यो तर उनीहरूबीच मौलाउँदै गएको पुरानो तुष बिलाएन, बरु बढ्न पुग्यो।

क्षेत्र परिवर्तनदेखि जिल्लाका टोल समितिसम्म उनीहरू दुईबीच प्रतिस्पर्धा र विवाद चल्दै थियो। राजाको शासनकालमा जोशीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा चलायो। पौडेलले त्यसको पक्षमा मुख खोलेसँगै उनीहरूबीचको सम्बन्ध कटुतामा परिणत भयो। त्यसलगत्तै उनीहरू व्यक्तिगत आरोप–प्रत्यारोपमा उत्रिए। उनीहरूको व्यक्तिगत विवादले तनहुँको आर्थिक विकास र समृद्धिमा मात्र होइन, कांग्रेस सांगठनिक जीवनमा पनि नकारात्मक प्रभाव पार्‍यो। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा दुवै नेता एकअर्कालाई हराउन लागिपरे। पौडेलले जिते तर जोशीले हारे। जोशीलाई हराउन तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाको पनि हात रहेको जोशीनिकटहरूको आरोप छ। २०५१ सालको मध्यावधि निर्वाचनमा झापाबाट सिटौलालाई उम्मेदवार बनाउन भने तिनै जोशीको महŒवपूर्ण हात रहेको बताइन्छ। गणतन्त्र स्थापनासँगै कोइराला परिवारसँगको निकटता सिटौलाको बढ्यो। जोशी टाढिए भने पार्टी विभाजनका बेला अन्तिम समयमा मूल कांग्रेसमै बसे पनि पौडेलले कोइराला परिवारको विश्वास गुमाए। जसले गर्दा पौडेल र जोशी पार्टी र सत्ता राजनीति दुवैमा पछि परे।

तर पनि आन्तरिक विवाद अझ पेचिलो बन्दै जाँदा २०७४ सालको आम निर्वाचनमा पौडेलविरुद्ध जोशीले तनहुँ–१ मा उम्मेदवारी दिए। पौडेलको उजुरीका आधारमा जोशीको उम्मेदवारी खारेज भयो। तर पौडेल पनि पराजित भए। निर्वाचनमा असहयोग गरेको भन्दै जोशीलाई कांग्रेसले अनुशासनको कारबाही गरेको छ। पार्टीबाट कारबाही भोगेका तिनै जोशी मंसिर ४ गते हुने निर्वाचनमा पौडेलविरुद्ध फेरि खडा भएका छन्। उनीहरूसँगै एमालेका एकबहादुर राना पनि मैदान उत्रिएका छन्। सामान्य परिवारमा जन्मिएका राना गोविन्दराजलाई जोशी सरकार भनेर सम्बोधन गर्छन्। तर पौडेलसँग भने उनको खासै सम्बन्ध नरहेको निकटहरू बताउँछन्। भानु नगरपालिकामा जन्मिएका र व्यास–२ स्थायी रूपमा बसोबास गर्दै आएका रानामगरले तनहुँमा एमालेको संगठन कमजोर रहँदा पनि संघर्ष गरेका थिए। एमालेको केन्द्रीय सल्लाहकार परिषद् सदस्य रहेका रानामगर यसअघिका चुनावमा जोशीसँगै पराजित भएका थिए।

उक्त क्षेत्रबाट राना, पौडेल, जोशीका साथै जनता समाजवादी पार्टी (जसपा) का पासाङ थापा मगर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का विनोदकुमार घर्ती, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) रामकृष्ण त्वायना, हाम्रो नेपाली पार्टी प्रवीण पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कृष्णप्रसाद पौडेल, मंगोल नेसनल अर्गनाइजेसनका प्रेमबहादुर थापा, नेसनलिस्ट पिपल्स पार्टी ताज महमद मियाँ, राष्ट्रिय जनमुक्ति पार्टीका हस्तबहादुर किचिम थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलका साथै रामचन्द्र कार्की, बेलबहादुर दरै र पृथ्वीनारायण श्रेष्ठ उम्मेदवार छन्।

तनहुँबाट यसअघि पाँचवटा चुनाव जितेका पौडेल सातौंपटक प्रतिस्पर्धामा उत्रिएका हुन्। २०४८ सालदेखि लगातार चुनाव जित्दै आएका पौडेललाई २०७४ सालको चुनावमा वाम गठबन्धनको समर्थन पाएका एमाले उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) ले ६ हजार ८ सय २ मतले पराजित गरेका थिए। यसपटक नेकपा एकीकृत समाजवादी (नेकपा एस) का श्रेष्ठले नै पौडेललाई चुनाव क्षेत्र छोडिदिएका हुन्। श्रेष्ठ बारा–४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन्। पार्टीका अन्य नेतालाई विभिन्न ठाउँमा व्यवस्थापन गरे पनि पौडेलका लागि आगामी निर्वाचनमा मुख्य चुनौती गोविन्दराज जोशी हुनेछन् भने पूर्वजिल्ला सचिव विश्वनाथ बास्तोलाको पनि उम्मेदवारी परेको छ। एमालेका उम्मेदवार राना यसपालि जोशीले कांग्रेसको भोट काट्दा परिणाम आफ्नो पक्षमा आउने बुझाइमा छन्। तर पौडेल एमालेले उम्मेदवारी फिर्ता लिएर जोशीलाई समर्थन गर्ला कि भन्ने भयमा देखिएका छन्। एमालेको उम्मेदवारी कायमै रहे यसपटकको निर्वाचन परिणाम आफ्नो पक्षमा सहजै आउने पौडेलको बुझाइ छ। पौडेललाई जसरी चुनाव हराउने रणनीतिसहित मैदान उत्रिएका जोशी अझै पनि एमालेले सहयोग गर्ने आशामा छन्।

कांग्रेस संगठन यसै पनि मजबुत रहेको उक्त क्षेत्रमा माओवादी केन्द्र र नेकपा एससँगको चुनावी तालमेलले पौडेललाई निकै ठुलो राहत दिएको विश्लेषण गरिन्छ। तर जोशी र एमाले उम्मेदवार राना एक ठाउँमा उभिएको अवस्थामा भने पौडेललाई परिणाम आफ्नो पक्षमा पार्न सहज नहुने निकटहरू बताउँछन्। त्यसका साथै जोशीले पछिल्ला दिनमा नेता–कार्यकर्तालाई छुच्चो बोलेर चिढ्याउने गरेको बताउँदै निकट एक नेताले भने, ‘एउटा पार्टी संगठन छाडेर अन्त लाग्ने कुरा कठिन हुने रहेछ भने अर्को पौडेल हार्छन् कि भन्ने माहोल देखिएको छैन। हार्छन् भन्ने नहुँदा बीचमा रहेकाहरूले पनि जित्नेलाई नै भोट हाल्छन्।’

तर उक्त क्षेत्रमा अहिले पनि पौडेलको भन्दा जोशीको व्यक्तिगत भोट धेरै रहेको निकटहरूको विश्लेषण छ। स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसले जोशीपुत्र दीपकलाई कतै ‘सेटल’ गरेर पौडेल–जोशी विवाद कम गर्न नखोजेको जानकार बताउँछन्। जोशीका लागि एमाले नै निर्णायक रहेको बताउँदै निकट एक नेताका अनुसार प्रदेशको उम्मेदवार छनोटमा पौडेलले अर्को पक्षलाई ‘माइनस’ गर्न खोजेको छ। त्यसको असर कस्तो पर्छ अनि गोविन्द भट्टराई, आनन्द त्रिपाठीका साथै काठमाडौं–६ बाट एमाले उम्मेदवार बनेका सर्वेन्द्र खनालको भूमिकाले पनि निर्वाचन परिणाममा फरक पर्ने बताइन्छ। मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको रानाले बताउँदै आएका छन्। कांग्रेस नेता पौडेलसँग आफ्नो मुख्य प्रतिस्पर्धा हुने रानाको बुझाइ छ। आफूले अन्य कुनै उम्मेदवारलाई सहयोग नगर्ने र तनहुँका जनताले आफूलाई आगामी निर्वाचनमा जिताउने दाबी गर्दै आएका छन्।

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा तनहुँ–१ का वडाध्यक्षले पाएको मत विश्लेषण गर्दा कांग्रेस नेतृत्व गठबन्धन अघि छ। कुल ७० हजार ८ सय १९ मतमध्ये कांग्रेस एक्लैले ३३ हजार १०६ मत पाएको थियो। नेकपा माओवादी केन्द्रले ८ हजार ४ सय ७४ मत र नेकपा एसले ८ सय ९२ मत पाएका थिए। स्थानीय तह चुनावमा एमालेले २२ हजार २ सय १० मत पाएको थियो। २०७४ सालको आम निर्वाचनमा सोही क्षेत्रबाट एमाले २६ हजार ५ सय ८६ समानुपातिकतर्फको मत पाएको थियो भने कांग्रेसले २६ हजार ५४, माओवादी केन्द्रले ६ हजार २ सय ९५ मत पाएको थियो।

को हुन् यी तीन प्रतिस्पर्धी उम्मेदवार?

रामचन्द्र पौडेल

२००१ असोज ३० गते तनहुँको रिस्ती–२ बाहुन पोखरामा जन्मिएका रामचन्द्र पौडेल कांग्रेस उपसभापतिसम्मको जिम्मेवारी सम्हालिसकेका नेता हुन्। सरकारको उपप्रधानमन्त्रीका साथै विभिन्न मन्त्रालयको पटकपटक नेतृत्व गरेका पौडेलले २०५१ सालको मध्यावधि निर्वाचनपछि प्रतिनिधिसभामा सभामुखको जिम्मेवारी पनि सम्हालेका थिए। उनले एमएसम्म अध्ययन गरेका छन्। पौडेलमा पार्टी सभापति र प्रधानमन्त्री बन्ने धोको अझै कायमै छ। २०१७ सालदेखि नै संगठित राजनीतिमा सक्रिय पौडेल विद्यार्थी आन्दोलनमार्फत पार्टी राजनीतिमा लागेका हुन्। पटकपटक गरी १४ वर्ष जेल बसेका पौडेललाई वैचारिक नेताका रूपमा हेर्ने गरिएको छ। उनले विभिन्न प्रकारका पुस्तक पनि लेखेका छन्।

गोविन्दराज जोशी

२००६ साउन २८ गते तनहुँको रुपाकोट–३ खोल्टेमा जन्मिएका गोविन्दराज जोशी शिक्षण, वकालत हुँदै सक्रिय राजनीतिमा लागेका हुन्। जोशी २०२१ देखि नै राजनीतिमा संगठित भएका थिए। चार वर्ष जेलजीवन बिताएका जोशी कांग्रेस तनहुँ हुँदै पार्टी सहमहामन्त्रीसम्मको जिम्मेवारी सम्हालिसकेका छन्। एमए, बिए र बिएड गरेका जोशी शिक्षासहितका विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्। २०७४ सालको आमनिर्वाचनमा पार्टी नेता रामचन्द्र पौडेलविरुद्ध उम्मेदवारी दिएपछि कांग्रेसले उनको साधारण सदस्यतासमेत नरहने गरी अनुशासनको कारबाही गरेको छ। त्यससँगै जोशीको दलीय संलग्नता सकिए पनि राजनीतिमा भने निरन्तर क्रियाशील छन्।

एकबहादुर राना

एकबहादुर राना मगर भानु नगरपालिकामा जन्मिएका र व्यास–२ स्थायी बसोबास गर्दै आएका छन्। ६५ वर्षे राना एमालेको केन्द्रीय सल्लाहकार परिषद् सदस्य यसअघिका चुनावमा जोशीसँगै पराजित भएका थिए। २०५१, २०५६ र २०६४ सालमा तीनपटक उनले तनहुँबाट निर्वाचन प्रतिस्पर्धा गरिसकेका छन्। आइएसम्मको अध्ययन गरेका राना सामान्य परिवारमा जन्मेर पार्टी संगठनमा सक्रिय नेता हुन्।

कांग्रेस नेता पौडेलसँग आफ्नो मुख्य प्रतिस्पर्धा हुने रानाको बुझाइ छ। आफूले अन्य कुनै उम्मेदवारलाई सहयोग नगर्ने र तनहुँका जनताले आफूलाई आगामी निर्वाचनमा जिताउने उनले दाबी गर्दै आएका छन्।

प्रकाशित: १ कार्तिक २०७९ ०१:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App