३ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

टिकट वितरणमा वंशवाद

‘बिपी कोइराला, महेन्द्रनारायण निधि, गणेशमान सिंह कसैको प्राइभेट प्रोपर्टी होइन, हाम्रो पनि हो। नेताका छोराहरू, नेताका छोरीहरू भनेर गरिएका बैठकहरूमा डा. शेखर कोइरालालाई कहिल्यै बोलाइयो ? उहाँ कहिल्यै देखिनुभयो ? शेखर कोइराला पनि आजका दिनमा तपाईंहामीजस्तै सामान्य परिवारको छोराका रूपमा उभिनुभयो। तपाईंहामी एउटा ताकत निर्माण गर्न सफल भएका छौं।’ नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएपछि निकटतम प्रतिद्वन्दी शेखर कोइरालाले आयोजना गरेको धन्यवाद कार्यक्रममा गगन थापाले दिएको अभिव्यक्ति हो यो।

बिपी कोइराला पुत्र शशांक, गणेशमान सिंह पुत्र प्रकाशमान, गिरिजाप्रसाद कोइराला पुत्री सुजाता र महेन्द्रनारायण निधि पुत्र विमलेन्द्रप्रति थापाको यो भनाइ लक्षित थियो। सभापति चयनका लागि भएको दोस्रो चरणको निर्वाचनमा उनीहरूले देउवालाई सहयोग गरेपछि झन्डै आफ्नो उमेरजति नै कांग्रेस राजनीतिमा सक्रिय पूर्वजका छोराछोरीप्रति आक्रोश पोखेका थापा पार्टी महामन्त्रीको जिम्मेवारीमा छन्। थापाको यो कटाक्ष सुनेका कांग्रेसका नेता तथा कार्यकर्ताले अब पार्टीमा नाताको होइन, नेताको योग्यता, क्षमताका आधारमा अवसर वितरण र जिम्मेवारी बाँडफाँटको सुरुवात हुने अपेक्षा गरेका थिए। तर मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेता होइन, वंश स्थापित गर्नेगरी कांग्रेसले टिकट वितरण गरेको छ। पार्टी र मुलुकप्रति खास कुनै योगदान नभएकालाई वंशवाद स्थापना गर्नेगरी कांग्रेसले उम्मेदवार तोकेको छ।

२०६४ सालको संविधानसभा निर्वाचनका समयमा व्यक्ति हत्याको आरोप लागेका कांग्रेसका मोहम्मद आफताव आलम २०७४ सालमा रौतहट–२ बाट सांसद निर्वाचित भएका थिए। उनी हाल जेलमा छन्। कांग्रेसले अहिले रौतहट–२ बाट उनका छोरा रित्तोद आलमलाई प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ। मुस्ताङमा कांग्रेस नेता रोमी गौचनका छोरा योगेश गौचन थकालीलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाइएको छ। कैलाली–५ मा सभापति शेरबहादुर देउवाका भतिज प्रकाश देउवालाई प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनाइएको छ। प्रकाश कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी आरजु देउवाको स्वकीय सचिवको जिम्मेवारीमा थिए। कांग्रेसका स्वर्गीय नेता खुमबहादुर  

खड्काका छोरा अनुरागलाई पनि कांग्रेसले दाङमा प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनाएको छ। पार्टीका प्रभावशाली नेता खड्काको निधनपछि छोरा अनुराग पार्टी राजनीतिमा प्रवेश गरेका हुन्। पार्टीका प्रभावशाली कुनै नेताको निधन भयो भने कांग्रेसले पत्नी वा छोरालाई राजनीतिमा अवसर दिँदै आएको छ।  

नेपाली कांग्रेसमा मात्र होइन, एमाले, माओवादी केन्द्र र मधेसकेन्द्रित दलहरूले पनि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार छनोट गर्दा वंशलाई पनि प्राथमिकतामा राखेका छन्। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईकी छोरी मानुषी यमी प्रत्यक्ष निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं–७ बाट उम्मेदवार छन्। मानुषीकी काकी दुर्गा भट्टराई न्यौपानेलाई प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फको सूचीमा राखिएको छ।

दाङ निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फबाट उम्मेदवार रहेका एमाले महासचिव शंकर पोखरेलले बहिनी मेनकालाई समानुपातिकको सूचीमा राखेका छन्। महेन्द्र बहुमुखी क्याम्पसमा उपप्राध्यापक रहेकी मेनका कुमारीलाई केही दिनअघि मात्र राजीनामा गर्न लगाएर समानुपातिकतर्फको बन्दसूचीमा प्राथमिकतासहित राखिएको छ।  

महोत्तरी–३ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार रहेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरकी छोरी मीनाक्षी प्रतिनिधिसभा सदस्यकै लागि समानुपातिक सूचीमा छिन्।  

माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले पनि छोरीलाई सांसद बनाउन चाहेका छन्। उनकी छोरी कुश्मा लुम्बिनी प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फबाट उम्मेदवार छिन्।  

जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता अशोक राई सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन्। उनकी पत्नी सुशीला श्रेष्ठको नाम प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक बन्दसूचीमा छ।  जसपा नेत्री रेणु यादवले प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहेकी थिइन्। तर उनले टिकट नपाएपछि छोरा अभिषेकलाई प्रदेशसभा सदस्यका लागि टिकट दिलाएकी छन्।  

रेणुका छोरा अभिषेकले जसपाबाट सप्तरी ४(ख) मा उम्मेदवारी दिएका छन्। ‘मैले टिकट नपाए पनि छोरा (अभिषेक) ले अवसर पाएको छ। पार्टीलाई विजयी गराउन मेरो प्रयत्न हुने छ,’ रेणुले भनिन्।

माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत र अर्थमन्त्री जनार्दन शर्माकी बहिनीहरू ज्ञानु र नारायणी प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक उम्मेदवार छन्। बाँके–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार भएका माओवादी केन्द्रका नेता एवं खेलकुदमन्त्री महेश्वर गहतराजकी पत्नी पार्वतीलाई लुम्बिनी प्रदेशसभाको सदस्य बनाउन समानुपातिक सूचीमा राखिएको छ। माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका इन्चार्ज खगराज भट्ट डडेल्धुराबाट प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन्। उनकी पत्नी मञ्जु बमको नाम प्रदेशसभा सदस्यका लागि समानुपातिक सूचीमा राखिएको छ ।  

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणा देउवा, गृहमन्त्री बालकृष्ण खाण र पत्नी मञ्जु प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवार छन्। आरजु र मञ्जु दवबै कांग्रेस केन्द्रीय सदस्य हुन्।  

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल गोरखा–२ बाट, उनकी बुहारी बिना मगर कञ्चनपुर–१ बाट र कान्छा ज्वाइँ जीवन आचार्य मोरङ–६ (क) बाट प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन्।  

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल बाग्लुङ–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार छन्। उनकी पत्नी बलावती शर्मा प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक सूचीमा छन्। बलावती माओवादी केन्द्र पोलिटब्युरो सदस्य हुन्।  

माओवादी केन्द्रका नेता अग्नि सापकोटाले आफ्नो उत्तराधिकारीकारूपमा भतिजा माधव सापकोटालाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएका छन्। माओवादी पोलिटब्युरो सदस्य एवं जिल्ला इन्चार्ज रहेका माधव सशस्त्र युद्धका क्रममा सापकोटाका निकट सहयोगी थिए। माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र उनकी पत्नी ओनसरी घर्ती क्रमशः रोल्पा र काठमाडौं–२ बाट उम्मेदवार छन्।

माओवादी केन्द्र छाडेर एमाले उपाध्यक्षको भूमिकामा पुगेका रामबहादुर थापा यसपटक आफू उम्मेदवार छैनन्। तर उनले पत्नी नैनाकला थापालाई समानुपातिक सूचीमा प्राथमिककता साथ राखिएको छ। एमाले सचिव रघुवीर महासेठ र उनकी पत्नी जुली क्रमशः धनुषा–४ र धनुषा–३ बाट उम्मेदवार छन्। जुली एमाले केन्द्रीय सदस्य हुन्।  

जसले अवसर पाएनन

जनता समाजवादी पाटी (जसपा) कार्यकारिणी समितिको बैठकले करिब २ महिनाअघि ‘२०७४ सालमा गठन भएको प्रतिनिधिसभामा समानुपातिकबाट सांसद बन्ने अवसर पाएका पार्टीका नेताहरूलाई यसपटक दोह¥याइने छैन’ भन्ने निर्णय ग¥यो। यो निर्णयबाट फेरि सांसद बन्न नपाइने देखेपछि अमृता अग्रहरि, रुही नाथ, रेणुका गुरूङलगायतले जसपा छाडे, रेणु यादव, राजेन्द्र श्रेष्ठलगायत प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष्यतर्फबाट चुनाव लड्न तयार भए। प्रत्यक्षमा चुनाव लड्न तयार भएर पनि रेणुले टिकट पाइनन् तर उनका छोरा अभिषेकले भने प्रदेशसभा सदस्यका लागि टिकट पाए।  

२०७४ सालको निर्वाचनमा सप्तरी–१ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका सूर्यनारायण यादवले यसपटक अवसर पाएनन्। अघिल्लोपटक समानुपातिक सांसद बनेका लिला सिटौला, रानीमण्डल, नरामाया ढकालले पनि यसपटक अवसर पाएनन्। समानुपातिकमा अवसर पाएकालाई पुनः नदोहो¥याउने पार्टीको निर्णयले यी नेताहरूले अवसर नपाएका हुन्।  

२०७४ सालको निर्वाचनमा प्रत्यक्ष्यतर्फबाट चुनाव जितेपछि निलम्बनमा परेका हरिनारायण रौनियारले यसपटक अवसर पाएनन्। रौनियारले अवसर नपाए पनि जसपाले उनकी छोरी  

मधुलाई अवसर दिएको छ। मधुले पर्सा–३ (ख) बाट प्रदेशसभा सदस्यका लागि प्रत्यक्षयतर्फ उम्मेदवारी दिएकी छन्। जसपा छाडेर एमालेमा प्रवेश गरेका अमृता अग्रहरि, रुही नाथ, इकबाल मियाँले एमालेबाट अवसर पाएका छन्। एमालेले अमृता र रुहीले समानुपातिक सूचीमा राखेको छ भने मियाँलाई बारा–४ बाट उम्मेदवार बनाएको छ।  

यसैगरी २०७४ सालमा लोसपाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका चन्द्रकान्त चौधरी र कल्लदेवी विश्वकर्माले यसपटक अवसर पाएनन्। विश्वकर्माले अवसर नपाए पनि उनका पति दानबहादुर विश्वकर्माले भने लोसपाबाट कैलाली–५ मा प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष्यतर्फ उम्मेदवार छन्। चौधरी २०७४ सालको निर्वाचनमा सप्तरी २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

अघिल्लो पटक पर्सा–२ मा लोसपाबाट टिकट पाएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका विमल श्रीवास्तव यसपटकले कतै पनि अवसर पाएनन्। केही दिनअघि उनले राजनीतिबाट निष्क्रिय हुने घोषणा गरेका थिए। श्रीस्तावले औपचारिक रूपामा लोसपा छाडेका छैनन् तर पार्टीमा सक्रिय पनि छैनन्। २०७४ सालको निर्वाचनमा जसपाबाट २० र लोसपाबाट १४ जना प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

प्रकाशित: २९ आश्विन २०७९ ०१:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App