५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

घोषणापत्रलाई अन्तिम रूप दिँदै एमाले

नेकपा एमालेले विकास, समृद्धि, सुशासन र राष्ट्रियतालाई प्राथमिकता राखेर चुनावी घोषणापत्र बनाइरहेको छ। उसले घोषाणापत्रमा पाँच वर्षमा सम्पन्न गर्ने भन्दै २५ वटा महत्वाकांक्षी योजना समेटेको स्रोतले जनाएको छ। स्थायी सरकार, पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकारले सुरु गरेका तर अधुरा योजनाको निरन्तरता तथा राष्ट्र र राष्ट्रियताका पक्षमा गरेका कामलाई घोषणापत्रमा महत्वका साथ स्थान दिएको छ।  

‘यसपटक आगामी पाँच वर्षमा गर्न सकिने महत्वाकांक्षी योजना पनि अघि सारिएको छ’, घोषणापत्र मस्यौदा समितिका एक सदस्यले भने। घोषणापत्र मस्यौदा समितिका सदस्यहरू काठमाडौंबाहिर रहेकाले केही दिनभित्रै बैठक बसेर सार्वजनिक गर्ने एमालेको तयारी छ। एमालेले घोषणापत्र निर्माणका लागि अध्यक्ष ओलीको संयोजकत्वमा आठ सदस्यीय समिति बनाएको छ। समितिका सदस्यमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षत्रय अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा र विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल छन्।

एमाले स्रोतका अनुसार घोषणापत्रमा आर्थिक रूपान्तरण, आगामी १० वर्षमा नदी प्रवाह प्रणाली, जलाशययुक्त परियोजना तथा जैविक, सौर्य र अन्य वैकल्पिक माध्यमबाट विद्युत् उत्पादन गर्ने विषय समेटिएको छ। मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, बाह्य सम्बन्ध, ठुला पूर्वाधार र परियोजना, शिक्षा, स्वास्थ्य, खानेपानी, वातावरणलगायत सामाजिक क्षेत्र र आर्थिक विकासलाई घोषणापत्रमा महत्वका साथ अघि सारिएको छ।

विकास र समृद्धिका लागि सञ्चालन गरिने योजनामा व्यापक लगानी जुटाउने प्रतिवद्धता पनि घोषणापत्रमा गरिएको स्रोतले जनाएको छ।  

एमाले नेता शेरबहादुर तामाङले एक÷दुई दिनमै घोषणापत्र सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए। उनका अनुसार राजनीतिक स्थायित्व, राष्ट्रियता, लोकतन्त्रको सुदृढीकरण, सुशासन, विकास र समृद्धिलाई एमालेले चुनावी अजेन्डा बनाएको छ। ‘घोषणापत्रमा स्थायी सरकार, ओली सरकारले थालेका तर अधुरा कामलाई पूरा गर्ने प्रतिबद्धता, स्वास्थ्य, शिक्षा, रोजगारी र सामाजिक सुरक्षामा जोड दिइएको छ’, तामाङले भने। मस्यौदा समितिका एक सदस्यका अनुसार ‘एमालेको बहुमतको सरकार, स्थायी सरकार र राजनीतिक स्थायित्व’ भन्ने नारासहित घोषणापत्रलाई अन्तिम रूप दिने काम भइरहेको छ। घोषणापत्रमा एमालले केही पुराना प्रतिबद्धतालाई दोहो¥याएको छ। तराई–मधेसमा व्याप्त कुरिति र अन्धविश्वासको अन्त्य गर्न शिक्षा, चेतना र सशक्तीकरण अभियान अभियान सञ्चालन गर्ने, तराई–मधेसमा व्याप्त गरिबी, अभाव र अल्पविकासको समस्यालाई सम्बोधन गर्न विशेष कार्यक्रम लागू गर्ने प्रतिबद्धता घोषणापत्रमा गरिएको स्रोतको दाबी छ।

संविधानले तोकेबमोजिम माध्यमिक तहसम्मको शिक्षा व्यवस्थापन गर्न स्थानीय तहलाई सक्षम तुल्याउने र निःशुल्क शिक्षाको मौलिक अधिकार सुनिश्चित गर्न केन्द्र, प्रदेश तथा स्थानीय सरकारले कुल बजेटको न्यूनतम २० प्रतिशत लगानीको व्यवस्था गर्ने प्रतिबद्धता घोषणापत्रमा गरिएको छ।

धरहरा, रानीपोखरी, पोखरा विमानस्थल, रेलसहितको कभर तस्बिर राखेर घोषणापत्र सार्वजनिक गरिनेछ। एमालेले ‘सुखी ज्येष्ठ नागरिक, खुसी बालबालिका’ देखि ‘जनप्रतिनिधि शासक होइन, जनताका सेवक’ हुनेछन् जस्ता नारा पनि अघि सारेको छ। एमालेले प्रत्येक पालिकामा एउटा प्राविधिक धारको माध्यमिक विद्यालय स्थापना गर्ने, गम्भीर रोगको पूर्वपरीक्षण र पाठेघरको क्यान्सरको निःशुल्क परीक्षण गर्ने, प्रत्येक नागरिकको अनिवार्य स्वास्थ्य विमा गर्ने, एक घर एक धारा अभियानअन्तर्गत आगामी दुई वर्षभित्र सबै नागरिकलाई खानेपानीको सुलभ व्यवस्था गर्नेलगायतका विषय घोषणापत्रमा समेटेको मस्यौदा समितिका एक सदस्यले जानकारी दिए।

यसैगरी एमाले नेतृत्वको सरकारले संविधान र संघीयताको सफल कार्यान्वयन गरेर नेपाल विश्वमै नयाँ दृष्टान्त स्थापित गर्न सफल भएको, पथृकतावाद र हिंसाको राजनीति समाप्त पारिएको, त्यस्ता गतिविधिमा संलग्न समूहहरूलाई राष्ट्रिय एकता, संविधान र शान्तिपर्ण प्रतिस्पर्धाको मूलधारमा आबद्ध गराएको विषयलाई पनि घोषणापत्रमा समेटिएको स्रोतले जनाएको छ।

‘सुशासन, समृद्धि र समाजवादको आधार, राजनीतिक स्थायित्वका लागि एमालेको सरकार’ भन्ने नारासहित जनतामाझ जान लागेको एमालेले आफ्नो पार्टी नेतृत्वको सरकारले लिम्पियाधुरा,लिपुलेक र कालापानी समेटेर नेपालको नयाँ नक्सा प्रकाशन गरेको, त्यसका लागि अभतूपूर्व राष्ट्रिय सहमति निर्माण गरेको विषयलाई पनि घोषणापत्रमा उपलब्धिका रूपमा समेटेको छ। एमालेले पटक–पटकको नाकाबन्दी, हस्तक्षेप र अपमानबाट पाठ सिक्दै सबल र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा सम्पूर्ण शक्ति केन्द्रित गर्ने प्रतिबद्धता गरेको छ। परनिर्भरता अन्त्य गर्न स्पष्ट योजनाका साथ अगाडि बढ्ने घोषणापत्रमा उल्लेख गरिएको स्रोतले बतायो।  

विगतमा चीनसँग गरिएका पारवहन र यातायात सम्झौता, रेलवे, सडक यातायात, पेट्रोलियम, ऊर्जा तथा सञ्चारसम्बन्धी समझदारीहरूको कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै एमालेले छिमेकी मुलुक भारत र चीनसँगको आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने घोषणपत्रमा उल्लेख गरेको छ। दक्षिण एसियाली राष्ट्रहरूसँगसमेत नयाँ साझेदारी विकास गर्दै परनिर्भरता अन्त्य र अन्तरनिर्भरता वृद्धि गर्ने एमालेको योजना छ। एमालेले मुस्ताङमा युरेनियम उत्खनन तथा प्रशोधन केन्द्र स्थापन गर्ने कुरालाई यसपटक दोहो¥याएको छ। दैलेखलगायतका स्थानमा पेट्रोलियम र नवलपरासीको फलाम खानी थप अन्वेषण गरी उपयोग गर्नेतर्फ क्रियाशील हुने एमाले प्रतिबद्धता छ।

एमाले केन्द्रीय कार्यालयका सचिव भीष्मराज अधिकारीका अनुसार घोषणापत्र मस्यौदालाई अन्तिम रूप दिन छलफल भइरहेको छ। ‘मस्यौदा समितिमा छलफल हुँदैछ, केही दिनमै सार्वजनिक हुनेछ’, अधिकारीले भने। एमालेले घोषणापत्र निर्माणका लागि सार्वजनिक रूपमा सुझाव मागेको थियो।  

२०७४ सालको निर्वाचनमा एमाले र माओवादी गठबन्धनले राजनीतिक स्थायित्व, विकास र आर्थिक समृद्धिलाई मुख्य नारा बनाएको थियोक। त्यो निर्वाचनमा एमाले–माओवादी गठबन्धनले झन्डै दुई तिहाइ सिट जितेको थियो। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार र दलका नेता प्रचारप्रसारका लागि गाउँँतिर लागेका छन्।

प्रकाशित: २८ आश्विन २०७९ ०१:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App