२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

माओवादीबाट दर्जन नेता पहिलो पटक भिड्दै

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नयाँ र युवालाई प्राथमिकता दिने बताएको नेकपा माओवादी केन्द्रबाट एक दर्जन नेताले पहिलो पटक प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्ने भएका छन्। पार्टीले सिफारिस गरेका उम्मेदवारमा अध्यक्ष पुष्पकमल दाहालसहित अधिकतर पुरानै उम्मेदवार सिफारिस भए पनि केही नयाँ र युवा अनुहारलाई समेत पार्टीले अवसर दिएको छ।  

पहिलो पटक प्रतिनिधिसभामा प्रतिस्पर्धा गर्न लागेकाहरूमा सभामुख अग्निप्रसाद सापकोटाका भतिजा माधव सापकोटादेखि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पुत्री मानुषी यमी भट्टराईसम्म रहेका छन्। पार्टीबाट प्रतिनिधिसभामा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेकाहरूमा सापकोटा र भट्टराईसहित सर्लाहीबाट नरेश साह कलवार, सुनसरीबाट मुक्साहाङ मेन्याङ्मो, झापाबाट हरि राना, ताप्लेजुङबाट खेलप्रसाद बुढाथोकी, दोलखाबाट गंगा कार्की र चितवनबाट भोजराज अधिकारीले पहिलो पटक प्रतिनिधिसभामा प्रत्यक्षतर्फबाट प्रतिस्पर्धा गर्दै छन्।  

हुम्लाबाट छिरिङ डम्बोल लामा, सिन्धुलीबाट लेखनाथ दाहाल, खोटाङबाट रामकुमार राई र कास्कीबाट रामजीप्रसाद बरालले पनि पहिलो पटक प्रतिनिधिसभामा प्रतिस्पर्धा गर्न लागेका हुन्। लामा, दाहाल, राई र बराल यसअघि प्रदेशसभा सदस्य भइसकेका छन्। यसबाहेक अध्यक्ष पुष्पकल दाहाल, महासचिव देवप्रसाद गुरुङसहित नेताहरू यसअघि संविधानसभा र प्रतिनिधिसभाकै निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्दै आएकाहरू हुन्। नेताहरू कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, हरिबोल गजुरेलसहितका नेताहरू भने यस पटक उम्मेदवार बनेका छैनन्। वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्य छन् भने पुनः माओवादी केन्द्र फर्कने तयारीमा रहेका पूर्वप्रधानमन्त्री भट्टराईले छोरी मानुषीका लागि स्थान सुरक्षित गरेर मंसिर ४ को निर्वाचनमा प्रतिस्पर्धाबाट अलग भएका छन्।

प्रकाशित: २६ आश्विन २०७९ ०२:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App