२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गोरखा २ : कत्तिको सहज छ प्रचण्डलाई !

फोटो : गोरखा २ मा मनोनयन दर्तापछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल।

गोरखा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहित १३ जनाको उम्मेदवारी परेको छ। सत्तागठबन्धनको तर्फबाट माओवादी केन्द्रका अध्यक्ष दाहालले उम्मेदवारी दिएका हुन्।  

गोरखा २ मा गोरखा नगरपालिकाको ८ देखि १४ नम्बर वडा सहित पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, अजिरकोट र बारपाक सुलिकोट गाउँपालिका पर्छ। यहाँ एक लाख पाँच हजार दुई सय ४० मतदाता छन्।  

२०७४ को निर्वाचनमा यहाँ ७० हजार आठ सय २६ मतदाता थिए। ६० हजार एक सय १५ मत खसेको थियो। नेपाली कांग्रेस सँगको तालमेलमा तत्कालिन नयाँ शक्ति पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले माओवादीका नेता नारायणकाजी श्रेष्ठलाई पराजित गरेका थिए। भट्टराईले ३१ हजार आठ सय सात मत प्राप्त गरे भने बाम गठबन्धनबाट उम्मेदवार बनेका श्रेष्ठले २४ हजार नौ सय ३३ मत पाए।  

दुईवटा प्रदेश क्षेत्र रहेको यहाँ २ ‘क’ मा तत्कालिन नयाँ शक्तिका हरिशरण आचार्यले जितेका थिए भने ‘ख’ मा नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडी बिजयी बनेका थिए। आचार्यले १५ हजार तीन सय ४३ मत पाए भने दवाडीले १५ हजार आठ सय ५३ मत ल्याएका थिए। गोरखा १ को संघ र प्रदेशमै तत्कालिन बाम गठबन्धन पराजित भएको थियो। अहिलेको गठबन्धनमा बिजयी र पराजित हुने सँगै रहेकाले सत्तागठबन्धनको मत धेरै देखिन्छ।  

२०७४ मा भन्दाअहिले मतदाता थपिएका छन्। गठबन्धन पनि फरक छ। गोरखा २ मा मूख्य प्रतिस्पर्धी कांग्रेस, माओवादी र नेपाल समाजवादी पार्टी गठबन्धनमा छन्। गत स्थानीय निर्वाचनमा भने सत्ता गठबन्धनका दलहरुले गोरखामा तालमेल भएन।  

स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलका उम्मेदवारले पाएको मत र एमालेका उम्मेदवारले पाएको मतान्तर धेरै देखिन्छ। सत्ता गठबन्धनका उम्मेदवारले स्थानीय निर्वाचनमा गोरखा २ का पालिकामा करिब ५२ हजार मत पाए। एमालेका उम्मेदवार करिब छ हजार पाँच सय मत पाएको देखिन्छ। छ गुण भन्दाबढि मत गठबन्धन दल सँग छ।  

स्थानीय चुनावमा उम्मेदवारी नदिएका दल र केही स्वतन्त्र उम्मेदवारले पनि मतान्तर फरक पार्न सक्ने देखिन्छ। गोरखा २ मा एमालेले मत बढाउने र जित्ने दावी उम्मेदवार अब्दुस मियाँको छ।  

माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जित्नका लागि मात्रै गोरखा नआएको बताउँछन्। ‘जित्न अन्यत्रपनि जित्नुहुन्छ’ उनले भने एउटै क्षेत्रबाट पटक–पटक निर्वाचन नलड्ने उहाँको चाहना अनुसार आउनुभएको हो, जित निश्चित छ।’  

नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले माओवादी अध्यक्ष दाहालको जित सुनिश्चित भईसककेको बताएका छन्। उम्मेदवारी दर्ता गर्न दाहाल सँगै आएका उनले प्रचण्डले चुनाव जितिसकेको बताएका थिए। आफ्नो निर्वाचन क्षेत्र दाहाललाई सुम्पिन पाउँदा आफु खुसी भएको बताए।  

माओवादी केन्द्रका जिल्ला स्तरका नेताहरुपनि दाहाललाई गोरखामा कुनै चुनौती नरहेको बताउँछन्। दाहालको जितसँग भन्दापनि धेरै मतान्तरका बारेमा जिल्लाका नेता लागिपरेका छन् । ‘जित त छँदैछ, अत्याधिक मत ल्याउने गरी तयारीमा लागेका छौँ, यो गठबन्धनको, हामी सबै यहाँका जनताको कर्तब्य पनि हो’ माओवादी केन्द्रका जिल्ला संयोजक बिष्णु भट्टले भने। देशकै नेतृत्व गर्न सक्षम ब्यक्ति गोरखा २ बाट उम्मेदवार रहेको बताउँदै उनले राष्ट्रिय, अन्तराष्ट्रिय रुपमा पनि चासोको विषय भएको र जितमा कुनै द्वविद्वा नभएको बताउँदै भने ‘चुनाव हो हामीले आफ्नो तर्फबाट तयारी गरिरहेका छौँ।’  

दाहाल सँगै गोरखा २ मा प्रतिनिधिसभाका लागि नेकपा एमालेको तर्फबाट सिरानचोक ३ का अब्दुस मियाँले उम्मेदवारी दिएका छन्। नेपाल मजदुर किसान पार्टीका प्रल्हाद लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टीका कबिन्द्र बुर्लाकोटी, राप्रपा नेपालका कुलबहादुर बस्नेत, नेपाली कांग्रेस बिपीबाट टिकादत्त पोखरेल, राप्रपाबाट शुसिल पन्त, नेकपा मालेबाट नारायणबाबु आचार्य पनि उम्मेदवार छन्।  

हाम्रो नेपाल पार्टीबाट प्रकाश थापा, मंगोलनेशनल अर्गनाईजेशनका सोमबहादुर गुरुङले उम्मेदवारी दिएका छन्। तीन जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। बारपाक सुलिकोट ८ का बिनोदकुमार गुरुङ, पालुङटार नगरपालिका ४ का गणेश देवकोटा, काठमाण्डौँ महानगरपालिका ३२ कि डाक्टर माधवी भट्टले स्वतन्त्र उम्मेदवारी दिएका छिन्। भट्ट नेपाली कांग्रेस निकट हुन्। 

प्रकाशित: २५ आश्विन २०७९ ०९:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App