६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

पहिले सारथि अहिले प्रतिस्पर्धी

मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता भएसँगै मधेस प्रदेशमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ। प्रतिस्पर्धा रोचकको कारण हो– गत निर्वाचनमा एउटै गठबन्धनबाट चुनाव लडेका अधिकांश नेता यसपालि प्रतिस्पर्धीका रूपमा आमने सामने उभिएका छन्।

सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन्। उनलाई टक्कर दिन लोसपाका नेता जयप्रकाश ठाकुर र जनमत पार्टीका अध्यक्ष सिके राउत उभिएका छन्।

गत निर्वाचनमा सहज जित हात पार्न सफल उपेन्द्र यादवलाई यसपालि चुनाव जित्न पहिलाजस्तो सहज छैन। तर उपेन्द्रसँग बलियो शक्तिको स्रोत भनेको मधेस विद्रोहको लिगेसी रहेको राजनीतिक विश्लेषक तुलानारायण साह बताउँछन्। ‘मधेस विद्रोह जसले काठमाडौं र मधेसबीचको सम्बन्धमा उथलपुथल ल्याइदियो। जसले राज्य पुनर्संरचनामा संघीयता थपिदियो। यसको लिगेसी उपेन्द्र यादवलाई जान्छ’, विश्लेषक साह भन्छन्।

उपेन्द्र यादवको अर्को शक्तिको स्रोत भनेको निश्चित जातीय समूहमा बलियो पकड हो। यो जातीय समूहको भोट बैंक उनीसँग सुरक्षित रहेको छ। अर्को शक्तिको स्रोत भनेको उनी स्मार्ट लिडर हुन्। जसले रणनीति तय गर्न, नेता व्यवस्थापन गर्न र संगठनलाई बलियो गरी व्यवस्थापन गर्ने मामलामा चतु¥याईंपूर्वक कार्य गर्छ। उनी उम्मेदवार रहेको क्षेत्रमा उनी अध्यक्ष रहेको जसपा पार्टीको बलियो संगठन छ। उनको फेस भ्यालु पनि नघटेकाले उनलाई बलियो उम्मेदवारका रूपमा मान्ने धेरै छन्।

उनका प्रतिस्पर्धी सिके राउतको शक्तिको स्रोत भनेको पढेलेखेको नेता हो। अहिलेसम्म पदमा नगएकाले कुनै पदीय दाग लागेको छैन। उनलाई धेरैले भविष्यको नेताका रूपमा देख्छन्। तर चुनावमा मजबुत उपस्थिति बनाउन चाहिने जातीय जनसंख्याको मामलामा उनी बहुत कमजोर छन्। संगठनको मामलामा पनि उनी कमजोर देखिन्छन्।

राजनीतिज्ञ खुसीलाल मण्डल भन्छन्, ‘संघीयता र मधेसीको पहिचानलाई संस्थागत गराउन सक्नु चानचुने कुरा होइन। यसको जस उपेन्द्र यादवलाई जान्छ। यी दुई उपलब्धि उपेन्द्रको पक्ष बलियो बनाउन काफी छन्। कमजोरी छन्, नभएका होइनन् तर उपलब्धि र योगदान वजनदार छैन।’ धनुषा ३ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार लोसापाका अनिलकुमार झा बनेका छन्। उनी ०७४ को प्रतिनिधिसभा निर्वाचनमा रौतहट १ बाट निर्वाचित भएका थिए। यसपालि उनी आफ्नो निर्वाचन क्षेत्र छाडेर धनुषा ३ मा पुगेका छन्। यस क्षेत्रबाट गत निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट राजेन्द्र महतो निर्वाचित भएका थिए। सत्ता गठबन्धनका साझा उम्मेदवार झामाथि एमाले–जसपा गठबन्धनका साझा उम्मेदवार जुली महतो भारी देखिएका छन्। वैश्य (सुडी, कलवार, तेली) समुदायको मत जुलीतर्फ पोखिने देखिएपछि उनको पल्ला भारी भएको हो। अर्कातर्फ यस क्षेत्रमा जसपा र एमाले दुवै दलको बलियो सांगठनिक संरचना छ। जुली स्थानीय र मधेसी महिला भएकाले पनि उनीप्रति मतदाताको रुझान बढ्ने स्थानीय बताउँछन्।

महोत्तरी ३ बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्। ठाकुर ०७४ को निर्वाचनमा यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। यसपालिको चुनावमा भने उनको प्रतिस्पर्धी जनता समाजवादी पार्टीबाट हरिनारायण यादव छन्। यादव एमाले जसपा गठबन्धनको साझा उम्मेदवार हुन्।

यस्तै ठाकुरको प्रतिस्पर्धी बनेर तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) अध्यक्ष वृषेशचन्द्र लाल पनि उभिएका छन्। लाल पनि यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्। साविकमा तमलोपा स्थापनाकालदेखि साथ दिँदै आएका लालले पछिल्लो समय लोसपा त्यागेर आफ्नै नेतृत्वमा तमलोपा दर्ता गराएका थिए। लालले पनि महोत्तरी ३ मै उम्मेदवारी दर्ता गराएपछि ठाकुरलाई मुस्किल थपिएको छ। लाललाई ठाकुरको दाहिने हात भनेर चिनिन्थ्यो। लोसपामा उनी वरिष्ठ उपाध्यक्ष थिए।

सर्लाही २ मा सत्ता गठबन्धनकै दुई दलका नेता चुनावी मैदानमा आमनेसामने उभिएका छन्। गठबन्धनभित्रकै नेपाल समाजवादी पार्टीका नेता महिन्द्र राय यादव र लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतो प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गराएका छन्। यस क्षेत्रमा यादव र महतोबीच प्रतिस्पर्धा हुने भएको छ। प्रतिस्पर्धामा उत्रिएका दुवै दलले मित्रवत् प्रतिस्पर्धा गर्ने जनाएका छन्। यादव र महतो दुवैले आफ्नो पकड क्षेत्र रहेको दाबी गर्दै क्षेत्र छाड्न चाहेनन्, जसले गर्दा उनीहरू दुवै आपसमा प्रतिस्पर्धा गर्न तयार भएका हुन्।

यस निर्वाचन क्षेत्रबाट गत निर्वाचनमा राजपाबाट महिन्द्रराय यादव निर्वाचित भएका थिए। ०७० सालको निर्वाचनमा पनि यी दुवै नेता सोही क्षेत्रबाट उम्मेदवार बनेका थिए तर त्यसबेला यादवले महतोलाई पराजित गर्दै निर्वाचित भएका थिए। ०७४ को चुनावमा भने महतोले धनुषाबाट चुनाव लडे। यसपटकको चुनावमा यी दुवै नेता फेरि आमनेसामने भएका हुन्।

प्रकाशित: २४ आश्विन २०७९ ०१:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App