१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

तीन पदका लागि ताप्लेजुङमा २८ जनाको उम्मेदवारी

प्रदेशसभाका गठबन्धन दल काँग्रेस र एस दुबैद्धारा उम्मेदवारी दर्ता

एक निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा प्रतिनिधिसभा तर्फ ११ जनाले उम्मेदवारी दर्ता गराउँदा प्रदेश १ (क) तर्फ गठबन्धनका दुई दल काँग्रेस र नेकपा एसले छुट्टाछुट्टै उम्मेदवारी दिएका छन्। प्रतिनिधिसभा तर्फ एमाले सचिव तथा निवर्तमान सांसद योगेशकुमार भट्टराईको उम्मेदवारी परेको छ भने गठबन्धनतर्फ माओवादी केन्द्रका केन्द्रीय सदस्य खेल प्रसाद बुढाक्षेत्रीको उम्मेदवारी परेको छ।

मुख्य निर्वाचन अधिकृत तथा ताप्लेजुङ जिल्ला अदालतका न्यायाधीस निर्मला योङ्याका अनुसार प्रतिनिधिसभामा २ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। लिम्बूवान आन्दोलनका एक नेता सञ्जुहाङ पालुङ्वा र हरिप्रसाद बरालको स्वतन्त्र उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका इन्द्रकुमार लिम्बू, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका होमप्रसाद तुम्बाहाम्फेको उम्मेदवारी परेको छ। बिभिन्न निर्वाचन क्षेत्रमा एमालेसंग चुनावी एकता गरेको जनता समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आ–आफ्नो उम्मेदवारी दिएका छन्।

राप्रपाले रामबहादुर कार्की र जसपाले चन्द्र मादेनलाई प्रतिनिधिसभाको उम्मेदवारी दर्ता गराएको छ। मंगोल नेस्नल अर्गनाइजेसनबाट बिक्रम फेम्बु लिम्बू, लोकतान्त्रिक समाजवादी पार्टीबाट चैतन्यप्रकाश केदेम, जनसमाजवादी पार्टीबाट कृष्णबहादुुर लिम्बूको उम्मेदवारी दर्ता भएको छ। प्रदेशसभा १(क) मा १० जनाको उम्मेदवारी परेको छ। गठबन्धनको केन्द्रीय कार्यदलबाट नेकपा एसको भागमा परेको प्रदेशसभा १(क) मा भने काँग्रेस र एस दुबैले उम्मेदवारी दर्ता गरेका छन्।

काँग्रेस जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङले काँग्रेसबाट उम्मेदवारी दर्ता गराउँदा एसकातर्फबाट जिल्ला इञ्चार्ज खेमबहादुर वनेमको उम्मेदवारी परेको छ। एमालेले पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्वोलाई उम्मेदवार बनाएको छ। यस्तै राष्ट्रिय जनमुक्ति पार्टीबाट मोतिलाल तुम्बाहाम्फे, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट भूपेन्द्र मावो लिम्बू, राप्रपाबाट चन्द्रबहादुर थापा,जसपाबाट युगराज गुुरुङ, मंगोल नेन्सल अर्गनाइजेसनबाट नेत्रप्रसाद ताम्लिङ लिम्बूले उम्मेदवारी दर्ता गरेका छन्। 

नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधि टीकाराम गुरुङ र प्रदेश कार्य समिति सदस्य मीनाकुमारी गुरुङले समेत स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन्। उता प्रदेशसभा १(ख) मा ७ जनाको परेको छ। गठबन्धनका तर्फबाट काँग्रेसका खगेनसिंह हाङ्गामको उम्मेदवारी परेको छ भने एमालेबाट प्रदेश सदस्य गोपाल थोप्राको उम्मेदवारी परेको छ।

एमालेबाट जिल्ला उपसचिव मणिशंकर पोमूले उम्मेदवारी दिनेगरी टिकट आएको भनिएपनि अन्तिममा थोप्रा एमालेबाट उम्मेदवार बनेका हुन्। यस्तै जनता समाजवादी पार्टीबाट नवीन लिम्बू,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मुम्साम लिम्बू, राप्रपाबाट ललितकुमार सुब्बा र मंगोल नेस्नल अर्गनाइजेसनबाट सन्तबहादुर लिम्बूको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित: २३ आश्विन २०७९ १४:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App