२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सुनसरी १ जसपालाई दिएपछि एमालेमा विद्रोह, मेन्याङ्बोले स्वतन्त्र उम्मेदवारी दिने

एमालेका असन्तुष्ट नेता, कार्यकर्ताहरुको भेलामा सम्बोधन गर्दै पूर्वमेयर मनोजकुमार मेन्याङ्बो।

एमालेको जित सुनिश्चित मानिएको सुनसरी क्षेत्र नं १ जनता समाजवादी पार्टी(जसपा) को भागमा परेपछि धरानसहित निर्वाचन क्षेत्रमा नेकपा एमालेका नेता, कार्यकर्ताहरु चरम असन्तुष्ट बनेका छन्। उनीहरुले पूर्वमेयर मनोजकुमार मेन्याङबोलाई बाघी उम्मेद्वार बनाउने तयारी गरेका छन्।  

एमालेले जसपासँग गठबन्धन गर्दा सुनसरी निर्वाचन क्षेत्र नं १ जसपाको पोल्टामा परेको छ। सुनसरीको ४ वटा क्षेत्रमध्ये क्षेत्र नं १ एमाले बलियो भएको क्षेत्र हो। यसअघि २०७४ को प्रतिनिधि सभा निर्वाचनमा ४ क्षेत्रमध्ये सुनसरी १ मा मात्र एमालेको जित भएको थियो। जित सुनिश्चित भएको क्षेत्र जसपालाई दिने सहमति भएको सार्वजनिक भएलगत्तै धरानसहितको सुनसरी १ का एमाले नेता, कार्यकर्ताहरुले सामाजिक सञ्जालमा तीब्र असन्तुष्टी जनाइरहेका छन्।  

यसअघिको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी १ बाट जयकुमार राई अत्यधिक मतका साथ विजयी भएका थिए। त्यसबेला नेपाली काँग्रेस र जसपाको उम्मेद्वार अशोक राईलाई उनले दोब्बर मतान्तरले हराएका थिए। यसपाली पनि धरान र क्षेत्र नं १ बाट उनी सर्वसम्मतरुपमा उम्मेद्वारको लागि सिफारिश भएका थिए। तर, पार्टीले जसपासँग गठबन्धन गर्ने निर्णय गरेसँगै उनी उम्मेद्वारको होडबाट बाहिरिए पछि एमाले नेता, कार्यकर्ताहरुमा तीब्र असन्तुष्टी छ।

तिनै असन्तुष्ट नेता, कार्यकर्ताहरुले आज (शनिबार) दिउँसो आकस्मिक भेला गरेर पार्टीले निर्णय नसच्याए विद्रोह गर्दै प्रतिनिधिसभामा पुर्वमेयर तथा प्रदेश नं १ कमिटी सचिवालय सदस्य मनोजकुमार मेन्याङ्बोलाई स्वतन्त्र उम्मेद्वार बनाउने निर्णय गरेका छन्। धरान ८ स्थित होटल कञ्चनजंघामा आयोजित भेलामा प्रदेश, जिल्ला, नगर र वडा कमिटीमा पनि रहेका सय जनाको हाराहारीमा नेता, कार्यकर्ताहरु थिए। वडाका जनप्रतिनिधिहरु पनि सहभागी थिए। उनीहरुले स्थानीय पार्टी नेता, कार्यकर्ताहरुको भावनाविपरीत केन्द्रको निर्णय भएकोले स्वीकार्य नभएको भन्दै नसच्चिए विद्रोह गर्ने चेतावनी पनि दिए।

पार्टीले निर्णय नसच्याए स्वतन्त्र उम्मेद्वार हुने घोषणा गर्दै नेता मेन्याङ्बोले ८० प्रतिशत नेता, कार्यकर्ताहरुले चुनाव जिताउने दाबी गरे। पार्टीलाई शनिबार राती १२ बजेसम्म निर्णय पुर्नविचार गर्न समय दिएको भन्दै उनले त्यसपछि भने आफू एमालेको साधारण सदस्य पनि नरहने र स्वतन्त्र नागरिककोरुपमा स्वतन्त्र उम्मेद्वारी दिने मेन्याङ्बोले घोषणा गरे। धरानमा २०७६ को मेयरको उपनिर्वाचन र गएको बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि पार्टीले गलत निर्णय गर्दा एमालेको निरन्तर हार भएको भन्दै उनले यसपाली गलत निर्णय विरुद्ध आफूहरु उभिएको पनि बताए। ‘चलखेल हुन्छ भनेर नै हामीले सर्वसम्मत उम्मेद्वार सिफारिश गरेका थियौं,र जित सुनिश्चित छ भनेर ढुक्क भई मत माग्ने तयारीमा बसेको बेला गठबन्धनको नाममा पार्टीले अमुक पार्टीको अमुक नेतालाई पठाउने काम गर्यो, त्यसविरुद्ध हामी ८० प्रतिशत नेता, कार्यकर्ताहरु सहमत छैनौं, निर्णय मान्न तयार छैनौं,’उनले भने।  

सोही भेलाले सुनसरी क्षेत्र १ मा स्वतन्त्र उम्मेद्वारलाई जिताउन निर्वाचन परिचालन कमिटीको संयोजक किशोरकुमार कार्कीलाई बनाउने निर्णय गरेको छ। कार्कीको संयोजकत्वमा १०१ जना कमिटी गठन गरिएको छ भने घनश्याम तिम्सिनाको संयोजकत्वमा ५१ सदस्यीय प्रचारप्रचार कमिटी गठन गरेको छ। निर्वाचन परिचालन कमिटी संयोजक कार्कीले पार्टीले निर्णय नसच्याउने भएकोले मेन्याङ्बोलाई उम्मेद्वार बनाएर अघि बढ्ने बताए।

प्रकाशित: २२ आश्विन २०७९ १०:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App