१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

बाजुरामा एकीकृत समाजवादी उम्मेदवार विहिन

बाजुरामा सत्ता गठबन्धन भित्रको नेकपा एकीकृत समाजवादी प्रदेश सभामा समेत उम्मेदवारको भाग पाउनबाट वञ्चित भएको छ। एक वटा निर्वाचन क्षेत्र रहेको बाजुरामा संघ र प्रदेश (ख) मा काँग्रेस र (क) मा माओवादीले उम्मेदवारी पाएपछि समाजवादी उम्मेदवार विहिन बनेको हो।

दुई मध्ये कुनै एक प्रदेश निर्वाचन क्षेत्र पाउनुपर्ने अडानमा रहेको समाजवादी अन्तत उम्मेदवार विहिन भएको हो। गठबन्धनबाट प्रतिनिधी सभामा काँग्रेस सहमहामन्त्री बद्री पाण्डे, प्रदेश क मा माओवादीका केन्द्रीय सदस्य कर्णबहादुर विक केशव र ख मा काँग्रेस प्रदेश समिति सदस्य पदम बहादुर शाहीलाई टिकट दिने निर्णय गरिएको छ।

समाजवादीले प्रदेश क मा टिकट पाए, हिक्मत शाही, नरेश शाही र पुरबहादुर रावत मध्ये एक जनालाई उम्मेदवार बनाउने तयारी थालेको थियो। आफूहरुको समर्थन विना काँग्रेसले एमालेसँग जित्न नसक्ने दाबी गरेको समाजवादीले एक पदमा समेत टिकट नपाएपछि आक्रोशित बनेको छ।  

स्थानीय तह निर्वाचनको वडा तहको जनमत हेर्दा समाजवादी पार्टी निकै कमजोर छ। नौ वटा पालिका र ६९ वटा वडा मध्ये कुनैमा पनि समाजवादीले जित हासिल गर्नसकेको छैन्। माओवादीले भने ४ वटा वडामा आफ्नो जित निकालेको छ।  

निर्वाचन आयोगको तथ्यांकअनुसार वडाध्यक्षहरुको मत केलाउँदामाओवादी केन्द्रले भने ३ हजार ९ सय ९२ मत प्राप्त गरेको छ। एकीकृत समाजवादीले १ हजार ३ सय ६४ मत पाएको छ।कांग्रेस एमाले पछि दोस्रो दल बनेको छ। काँग्रेसले २४ हजार ४ सय ५७ मत पाएको छ।

बाजुरामा सबैभन्दा ठूलो दल एमालेले २७ हजार ६५५ मत ल्याएको छ। गठबन्धन हुँदा पनि पहिलो बनेको एमालेले संघ र प्रदेश सभाको निर्वाचन पनि जित्ने दाबी गरिरहेको छ। मतभार हेरेर नै समाजवादीले टिकट नपाएको हुनसक्ने अनुमान छ। बाजुरामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ सय ७२ मत र स्वतन्त्र तर्फका उम्मेद्वारहरुले ५ सय ८४ मत प्राप्त गरेका थिए।

समाजवादीले टिकट नपाए स्वतन्त्र उम्मेदवारी दिने नेताहरुले यस अघि नै अभिव्यक्ति दिएका थिए। समाजवादीका जिल्ला सचिव पुरबहादुर रावतले सबै निर्वाचन क्षेत्रमा गठबन्धनबाट टिकट नपाए उम्मेदवारी दिने र संगठनको आकार निर्धारण गर्ने जानकारी गराएका थिए।  

समाजवादीका कार्यकर्ताले टिकट काँग्रेस र माओवादीका भागमा परेपछि नयाँ तरंग आउने र कसैलाई बोक्न नसकिने अभिव्यक्ति दिइरहेका छन्। पार्टी जिल्ला अध्यक्ष गगन रावलले गठबन्धनका शिर्ष नेताहरुको निर्णयलाई नाघेर जान सक्ने अवस्था नरहेपनि जिल्लाको हकमा आफूहरु निर्णय गरेर अघि बढ्ने बताएका छन्। रावलले प्रदेश ख मा समाजवादीको दाबी रहने बताएका छन्।

समाजवादीका नेताहरुको आश नै गठबन्धनको निर्णयले मारि दिएको छ। उनीहरुले अपेक्षा गरेको प्रदेश निर्वाचन क्षेत्र पनि माओवादीको भागमा परेपछि उनीहरु समर्थन बस्ने वा मौन बस्ने दोधारमा देखिएका छन्। उसोत संस्थागत संघ र प्रदेश दुबैमा उम्मेदवारी समेत आउन सक्ने संभावना देखिएको छ।  

प्रकाशित: २२ आश्विन २०७९ ०७:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App