३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

किन भयो राष्ट्रपतिको भारत भ्रमण स्थगित ?

काठमाडौं- भारतले नेपालको आन्तरिक मामिलामा अनावश्यक हस्तक्षेप गरेको निष्कर्ष निकाल्दै सरकारले सोमबारबाट हुने भनिएको राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण स्थगित गरेको छ।राष्ट्रपतिको भारत भ्रमणबारे दुवै देशले औपचारिक घोषणा नगरे पनि वैशाख २७ गतेबाट सुरु हुने भनिएको ५ दिने सद्भाव भ्रमणको तयारी अन्तिम अवस्थामा पुगेको थियो। राष्ट्रपति भण्डारी स्वयंले बुधबार केही पत्रकारलाई आफ्नो कार्यालय शीतलनिवासमा बोलाई भारत भ्रमणको उद्देश्य सद्भाव बढाउने र असमझदारी हटाउने रहेको स्पष्ट पारेकी थिइन्। भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले पनि नियमति पत्रकार सम्मेलनमा नेपालको राष्ट्रपतिले भारत भ्रमण गर्ने जानकारी थिए।

बुधबार एकाएक सत्ता परिवर्तनको खेल सुरु भएपछि सरकारको नेतृत्व गरिरहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यसमा भारतको संलग्नता भएको ठहर गर्दै राष्ट्रपतिको भारत भ्रमण तत्काललाई स्थगन गर्ने निर्णय लिएका थिए। 'एमाले नेतृत्वको सरकार ढाल्न र नयाँ सरकार गठन गर्न भारतले हस्तक्षेपकारी भूमिका खेलेकाले सांकेतिक विरोधस्वरूप राष्ट्रपतिको आसन्न भ्रमण स्थगित गरिएको हो,' बालुवाटार स्रोतले नागरिकसँग भन्यो, 'पछिल्लोपटक भारतले नेपालको आन्तरिक मामिलामा गरेको हस्तक्षेपप्रति सरकारले असन्तुष्टि जनाएको हो।'

राष्ट्रपति भण्डारीको सद्भाव भ्रमणको औपचारिक घोषणा नभए पनि भ्रमण तयारी प्रायः सकिएको थियो। उनी वैशाख २७ गते नयाँदिल्ली जाने, भोलिपल्ट २८ गते महŒवपूर्ण राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम तय भएको थियो। भारतीय राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणामा उनी भारत जान लागेकी थिइन्। उनले भारतीय समकक्षी मुखर्जीसँग राष्ट्रपति भवनमा वैशाख २८ गते भेटवार्ता गर्ने कार्यक्रम तय भएको थियो भने सोही दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुषमा स्वराज, अन्य मन्त्री र विभिन्न राजनीतिक दलका शीर्ष नेताले उनीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम थियो।

तर, बुधबार नेपाली कांग्रेसको समर्थन प्राप्त गरेपछि एकीकृत नेकपा माओवादीले विज्ञप्ति जारी गर्दै सरकारको नेतृत्व माओवादीले लिने जनाएपछि नेपालको राजनीति तरंगित बनेको थियो। सोही दिन दाहालले प्रधानमन्त्री ओलीलाई भेटी आफूलाई समर्थन गर्नसमेत आग्रह गरेका थिए। भोलिपल्ट बिहीबार बिहान एकाएक 'यु टर्न' भई दाहालले एमाले नेतृत्वको सरकारलाई नै आफ्नो समर्थन रहने बताए।

त्यसपछि यो सम्पूर्ण राजनीतिक खेल भारतबाट भएको निष्कर्ष प्रधानमन्त्रीले निकालेका थिए। बिहीबार संसदलाई सम्बोधन गर्ने क्रममा पनि उनले आफ्नो सरकार अन्य कुनै ठाउँमा बनेको सरकार नभई संसदभित्रैबाट बनेको बताएका थिए। पछिल्लो सत्ता परिवर्तनको खेलमा पूर्णरूपमा भारतको हात रहेको ठहर गर्दै प्रधानमन्त्री ओलीले बिहीबारको मन्त्रिपरिषद बैठकमा राष्ट्रपतिको भारत भ्रमणको प्रस्ताव नै लगेनन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सिधै परराष्ट्रलाई राष्ट्रपतिको भ्रमण स्थगित भएको जानकारी भारतीय पक्षलाई दिन आग्रह गरेको थियो। जसअनुसार शुक्रबार बिहानै परराष्ट्रले भारतस्थित नेपाली दूतावासलाई उक्त जानकारी भारतीय विदेश मन्त्रालयलाई गराइदिन भनेको थियो। त्यसपछि भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले सरकारको निर्णयप्रति आश्चर्य प्रकट गर्दै नयाँदिल्लीबाट प्रधानमन्त्री ओलीलाई फोेन गरेका थिए। फोनमा राजदूत र प्रधामन्त्रीबीच चर्काचर्की परेको थियो।

प्रधानमन्त्रीका विदेश मामिला विज्ञ गोपाल खनालले भने आवश्यक तयारी नपुगेका कारण राष्ट्रपतिको भारत भ्रमण स्थगित गरिएको बताए। 'सुरुमा एउटा कार्यक्रममा सहभागी हुन जाने भनिएको हो, पछि भ्रमणलाई औपचारिक बनाइयो, धेरै भेटघाटका कार्यक्रम थिए तर त्यसअनुसार हाम्रो तयारी पुगेको थिएन, तयारी नपुगेका कारण अहिलेलाई भ्रमण स्थगित गरिएको हो,' उनले भने।

राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माका अनुसार सरकारले भ्रमण अनुमोदन नगरेका कारण राष्ट्रपतिको भारत भ्रमण कुरैमा मात्र रहन पुगेको बताए। उनले थप स्पष्ट पारे, 'निमन्त्रणा आएको थियो तर सरकारले भ्रमण अनुमोदन गरेन। भ्रमणको औपचारिक रूपमा घोषणा नभएकाले यसलाई रद्द वा स्थगित भन्न मिल्दैन।'

परराष्ट्र मन्त्रालयले भने राष्ट्रपतिको भारत भ्रमण रद्द हुनुको कारक संसदको बजेट अधिवेशन बतायो। 'संसद चालु छ, यस्तो बेला राष्ट्रपति यहीँ रहनु महत्वपूर्ण भएकाले भ्रमण स्थगित गरिएको हो,' परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलले भने। संसदको कार्यतालिका अनुसार वैशाख २६ गते राष्ट्रपतिले संसदमा सरकारको नीति तथा कार्यक्रम पेस गर्नेछिन्।

प्रकाशित: २४ वैशाख २०७३ १९:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App