१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

चितवनमा शनिबारदेखि प्रचण्डको दौडधुपः पार्टी प्रशिक्षणदेखि गृह प्रवेशसम्म

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले चितवनमा चुनाव लक्षित कार्यक्रमलाई तिब्र बनाएका छन्।  

चितवन निर्वाचन क्षेत्र नम्बर तीन बाट निर्वाचन लड्ने घोषणा गरेका प्रचण्ड दुईदिनदेखि चितवनमा बसेर कार्यकर्ता भेटघाटलाई तिब्र बनाएका हुन्। शनिवार साँझ आठ बजे सडक मार्गमार्फत गृह जिल्ला आएका प्रचण्ड पार्टी प्रशिक्षणदेखि फिल्म हेर्न समेत पूगेका छन्। उनी मंगलबारसम्म चितवन नै रहने छन्।  

आइतबार बिहानैदेखि विभिन्न कार्यक्रममा सक्रिय भएका प्रचण्ड बिहान आठ बजे पार्टीका कार्यकर्ता भेटघाट, ११ बजेट कृष्णपुरमा पार्टी प्रवेश कार्यक्रम, १ बजे पार्टी प्रशिक्षण कार्यक्रममा व्यस्त रहे। उनी बुलुका साँझ इन्द्रदेव चलचित्र हलमा ‘प्रेम गित ३’ फिल्न हेर्न समेत पुगेका थिए।  

सोमबार पनि प्रचण्डको चितवन निर्वाचन क्षेत्र नम्बर तीन मै दौड धुप हुनेछ। आठ बजे प्रेस सेन्टरले आयोजना गर्ने चिया पान कार्यक्रममा समावेश हुने छन्। ११ बजे फुलबारीमा एक सांस्कृतिक कार्यक्रमलाई उद्घाटन गरेर आफ्नो घरको गृह प्रवेश गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र चितवनका अध्यक्ष रामचन्द्र अधिकारी(आरसि)ले जानकारी दिए। प्रचण्ड मंगलबार(भोलि) बिहान सडक मार्ग मार्फत काठमाडौं फर्किनेछन्।  

अघिल्ला पटक चितवन आउँदा पूर्वाधार कार्यक्रमको शिलान्यास तथा उद्घाटनका कार्यक्रमलाई निकै प्राथमिकता राखेका थिए। तर, यसपटक भने उनले कुनै पूर्वाधार उद्घाटनका कार्यक्रम देखिएका छैनन्। यसअघि ८ भदौमा वन तथा वातावरणमन्त्री प्रदीप यादव र भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईलाई लिएर चितवन आएका प्रचण्डले हुलाकी राजमार्ग अन्तर्गत माडी नगरपालिकामा बनेको रतनी पुलको उद्घाटन गरे। माडीमा निकुञ्जको समस्या छ, पुल उद्घाटनमा वनमन्त्री र भौतिक पूर्वाधार मन्त्रीलाई उपस्थित गराएर उनले जनतालाई आश्वस्त पार्ने प्रयास गरेका थिए।  

त्यसको १० दिनपछि १८गते नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र नागरिक उड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई लिएर भरतपुर आए। पुल्चोक नारायणगढदेखि बसपार्क चोक तथा आँपटारीसम्म विद्युत लाइन भूमिगत गर्ने कार्यक्रमको शिलान्यास गरे। सो आयोजनाको ठेक्का सम्झौता ८ महिनाअघि भएको थियो।  

सो समयमा प्रचण्ड पश्चिम चितवनको मेघौलीमा रहेको विमानस्थलको स्तरोन्नति सम्वन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी भएका छन्। पाँच वर्षअघि विमानस्थल स्तरोन्नतिको आश्वासन दिएर चुनाव जितेका प्रचण्डले यसपटक विमानस्थलको गुरुयोजना निर्माणका लागि डिजिटल प्रविधिको प्रयोग गरी ‘टोपोग्राफी सर्भे’ सुरु गर्न भन्दै ड्रोन उडाएर अन्तरक्रिया कार्यक्रमको उद्घाटन गरेका थिए।  

पटक पटक चितवन आउँदा प्रचण्डले चितवनको विकासको मोडेललाई देशैभर विस्तार गर्ने लक्ष्य रहेको सुनाउँदै आएका छन्। आइतबार पनि उनले चितवनलाई विकासको अनुसरण गर्न योग्य जिल्ला बनाउने सपना पुरा गर्न प्रतिवद्ध रहेको जनाएका थिए। तर, प्रचण्डले पटकपटक चितवन जिल्लामा आएर विकासका सपना बाढेपनि यसअघि उनले उद्घाटन र प्रतिवद्धता जनाएका अधिकांश योजना सुरुवात समेत हुन सकेका छैन। 

प्रकाशित: १० आश्विन २०७९ ०२:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App