१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

दलहरुले बुझाए बन्द सूची

कांग्रेसबाट समेतिए पदाधिकारीहरु नै  

नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिकतर्फको सूची निर्वाचन आयोगलाई बुझाएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीसहितको बैठकले प्रदेश र प्रतिनिधिसभाको समानुपातिकतर्फको प्रारम्भिक सूचीलाई अन्तिम रूप दिएर आयोगमा बुझाएको हो।  

पार्टी सहमहामन्त्रीसहित सम्बन्धित प्रदेशका नेताहरूको फरकफरक बैठकले प्रदेशको समानुपातिकतर्फको पहिलो सूची बनाएर आयोगमा बुझाएको छ। प्रतिनिधिसभातर्फको १ सय १० जनाको समानुपातिक सूचीका लागि पनि कांग्रेसले प्रदेशअनुसारै भाग मिलाएर पहिलो सूची आयोगमा बुझाएको हो। कांग्रेसले बुझाएको समानुपातिकतर्फको सूचीमा पार्टीका पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि, गोपालमान श्रेष्ठसहित नेता समेटिएका छन्। निधिले यसअघि नै प्रत्यक्षतर्फको उम्मेदवार नबन्ने जनाउँदै गृहजिल्ला धनुषाबाट समानुपातिकतर्फ आफ्नो नाम सिफारिस गराएका थिए। श्रेष्ठले भने स्याङ्जाबाट प्रत्यक्षतर्फकै उम्मेदवार बन्ने दाबी गर्दै आएका थिए। निधिलाई मधेसीतर्फको पहिलो नम्बरमा र श्रेष्ठलाई जनजाति समूहको सिरानमा नाम राखेर कांग्रेसले सूची बुझाएको हो। त्यस्तै, कांग्रेस केन्द्रीय सदस्य एवं प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा पनि समानुपातिकतर्फको उम्मेदवार बनेकी छन्।  

कैलाली–५ बाट राणा उम्मेदवार बन्ने चर्चा चलिरहँदा राणाको नाम समानुपातिक सूचीमा राखिएको छ। उनीसँगै केन्द्रीय सदस्य अम्बिका बस्नेतको नाम पनि समानुपातिककै सूचीमा राखिएको छ। राणा र बस्नेतको नाम महिलातर्फ शीर्ष स्थानमा राखिएको स्रोतको दाबी छ।  

त्यस्तै, कांग्रेसका सहमहामन्त्री जीवन परियार, फर्मुल्लाह मन्सुरसहित नेता पनि समानुपातिक सूचीमा छन्। परियारले कास्की–२ बाट उम्मेदवार बन्ने बताउँदै आएका थिए। त्यस्तै, पार्टी प्रवक्ता प्रकाशशरण महत पनि समानुपातिकमै बसेका छन्। नुवाकोटका दुई निर्वाचन क्षेत्रमध्ये एउटामा माओवादी केन्द्र र अर्कोमा नेता अर्जुननरसिंह केसीले दाबी नछाडेपछि महतले काठमाडौं–५ बाट प्रत्यक्षतर्फको उम्मेदवार बन्न छाडेर समानुपातिक रोजेको स्रोतको दाबी छ। महतलाई खसआर्य समूहको पहिलो नम्बरमा र परियारलाई दलिततर्फको शीर्ष स्थानमा नाम राखिएको छ। मन्सुरको नाम पनि मुस्लिम समूहको पहिलो नम्बरमा छ। केन्द्रीय सदस्य योगेन्द्र चौधरीको नाम पनि समानुपातिकको सूचीमा राखिएको छ।  

कांग्रेसले समानुपातिकतर्फको सूचीमा पार्टीका केन्द्रीय सदस्यलाई पहिलो प्राथमिकता दिएको छ। मनोनीत केन्द्रीय सदस्यहरू पार्टीको दोस्रो प्राथमिकतामा परेको स्रोतको दाबी छ। यद्यपि आयोगले सूची सच्याउन दिएको समयभित्र कांग्रेससहित पार्टीहरूले बुझाएको पहिलो सूची हेरफेर हुनसक्ने एक केन्द्रीय सदस्यले जानकारी दिए। ‘सबै पदमा संख्या पुर्‍याएर पहिलो सूची बुझाइएको छ, त्यसलाई एकमुस्ट हेरेर केही परिवर्तन गर्नुपर्छ, त्यो गर्छौं,’ एक नेताले भने। 

एमालेबाट नयाँ अनुहारलाई प्राथमिकता

नेकपा एमालेले यसपटक संघीय संसदमा समानुपातिकतर्फ नयाँ र युवा अनुहारहरूलाई समेटेको छ। नयाँ पुस्ताका नेताहरू रुचाइएपछि एमालेले स्थायी कमिटीबाट रघुजी पन्तलाई समेटेको छ भने पोलिटब्युरो सदस्यहरु पनि समेटिएका छन्। यस्तै महिलातर्फ पनि पर्याप्त नयाँ अनुहारलाई समेटेको एमालेले जनाएको छ। यसपटक जनसंगठन तथा पार्टीका विभिन्न निकायमा सामेल भएर मोर्चामा सक्रिय भएकाहरूलाई पार्टीले समानुपातिकमा अघि सारेको एमाले स्रोतले जनाएको छ। स्रोतका अनुसार महिलाको क्लस्टरमा पूर्वसूचना तथा सञ्चार प्रविधि मन्त्री नैनकला थापालाई समानुपातिक सूचीमा राखिएको छ। थापा एमाले उपाध्यक्ष रामबहादुर थापाकी पत्नी हुन्। यसैगरी केन्द्रीय सदस्य दीपा शर्मा, अनेरास्ववियु अध्यक्ष एवं पार्टी केन्द्रीय सदस्य सुनिता बराल, युवा संघ नेपालका उपाध्यक्ष क्रान्ति बुर्लाकोटी, पूर्वकेन्द्रीय सदस्य उमा कोइराला, भक्तकुमारी लामालाई पनि समानुपातिक सूचीमा राखिएको छ। लामा १० बुँदे सहमतिपछि एमालेमै बसेकी थिइन्। यस्तै कर्णाली प्रदेश सदस्य मेनका पछाई, झापा दमककी निरु पुलामी, दैलेखकी सूर्यकुमारी श्रेष्ठ, कालीकोटकी इन्दिरा सन्जेललाई पनि पार्टीले समानुपातिक सूचीमा राखेको छ। यसैगरी हर्कमाया विक, अन्जु प्रसाईं बर्देवालगायतलाई पनि एमालेले महिलातर्फको समानुपातिक सूचीमा राखेको छ।  

त्यसैगरी एमालेका पोलिटब्युरो सदस्यहरू ईश्वरी रिजाल, गोरखबहादुर बोगटी, लीलबहादुर थापालगायत नेताहरूलाई पनि समानुपातिककै कोटामा राखिएको छ। एमालेले अहिले पेस गरेका नामहरू परिवर्तन नहुने जनाइएको छ। ‘रामबहादुर थापालाई यसपटक समेटिएको छैन,’ स्रोतले भन्यो।

यसैगरी नेकपा एकीकृत समाजवादी (नेकपा एस) का तर्फबाट समानुपातिक बन्दसूचीमा ९ प्रमुख नेतालाई समेटेको छ। राजेन्द्रकुमार पाण्डेलाई आफ्नो क्षेत्र छाडेर गंगालाल तुलाधर समानुपातिकमा बसेका छन्। त्यस्तै काठमाडांै–२ बाट उम्मेदवार बन्ने आकांक्षा राखेका प्रमेश हमाललाई पनि समानुपातिकमै समेटिएको छ। नेकपा एसले नागेन्द्रकुमार चौधरी, सावित्राकुमारी भुसाल, रामचन्द्र यादव, श्रीप्रसाद साह, भविश्वर पराजुली, भरतकुमार श्रेष्ठ, दीलकुमारी पन्तलाई पनि समानुपातिकमा समेटेको छ।

माओवादीबाट उपाध्यक्ष महरा पनि  

नेकपा माओवादी केन्द्रले सोमबार समानुपातिक उम्मेदवारको सूची निर्वाचन आयोगलाई बुझाएको छ। पार्टीले प्रतिनिधि र प्रदेशसभातर्फको उम्मेदवारको बन्दसूची आयोगलाई बुझाएको हो। पार्टी महासचिव देव गुरुङसहितका नेताहरू निर्वाचन आयोग पुगेर समानुपातिक उम्मेदवारहरूको बन्दसूची बुझाएका हुन्। माओवादी केन्द्रले प्रतिनिधिसभाका ११० उम्मेदवार र  प्रदेशसभाका २२० जना उम्मेदवारको सूची आयोगलाई बुझाएको जनाएको छ।  

पार्टीले बुझाएको बन्द सूचीमा पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरासमेत रहेका छन्। त्यस्तै उक्त पार्टीले आफ्नो चुनाव चिह्नबाट निर्वाचन लड्ने तयारी गरेका नेपाल समाजवादी पार्टीका पाँच उम्मेदवारलाई पनि समानुपातिक सूचीमा राखेको छ। बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीका नेता गंगानारायण श्रेष्ठलगायत पाँच नेतालाई समानुपातिक सूचीमा समेटिएको माओवादी नेताहरूले बताएका छन्। उक्त पार्टीले युवाहरूलाई प्राथमिकतामा राखेर समानुपातिक उम्मेदवार सिफारिस गरेको पार्टीका उपमहासचिव वर्षमान पुनले जानकारी दिए।माओवादी केन्द्रले समानुपातिक उम्मेदवार सिफारिस गर्दा एकपटक समानुपातिक संसद् भइसकेका व्यक्तिलाई नदोहोर्‍याउने जनाएको थियो।  

त्यस्तै स्थानीय तहको निर्वाचनमा पराजित र राजनीतिक नियुक्ति लिइएकाहरूलाई पनि समानुपातिक संसद् नबनाउने नीति बनाएको थियो।  

पार्टीको सोमबार बस्ने पदाधिकारी बैठकले समानुपातिक सूची टुंग्याएर निर्वाचन आयोगलाई बुझाउने भनिए पनि अध्यक्ष दाहालको व्यस्तताका कारण समानुपातिक उम्मेदवार सिफारिसका लागि बनेको कार्यदलले तयार पारेकै सूची पार्टीले निर्वाचन आयोगमा पेस गरेको छ।

प्रकाशित: ४ आश्विन २०७९ ०१:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App