२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

ओलीमाथि चरम गुटबन्दीको आरोप

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपालले पार्टीमा अध्यक्ष केपी शर्मा ओलीबाटै संस्थागत गुटबन्दी भएको आरोप लगाएका छन्। बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकमा बिहीबार उनीहरुले पार्टी कार्यालय र सरकार दुवैबाट गुटको मात्रै काम भएको दाबी गरे। अध्यक्ष ओलीसँग उनीहरूको गुनासो थियो, 'के पाउनका लागि तपाईं गुटबन्दी गर्दै हुनुहुन्छ?'पछिल्लो समय पार्टी नेताको नेतृत्वमा भएका विदेश भ्रमणक्रममा प्रतिनिधि छनोटको विषयलाई गुटबन्दीको उदाहरणका रुपमा प्रस्तुत गर्दै उनीहरुले पार्टीमा संस्थागत गुटबन्दीका दर्जनौं प्रमाण रहेको बैठकमा दाबी गरेका थिए।

'अध्यक्ष पनि भइसक्नुभयो, प्रधानमन्त्री पनि बन्नुभयो, अब पनि केका लागि गुटबन्दी गरेको हो?' खनाल र नेपालको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, 'तपाईंले अध्यक्ष र प्रधानमन्त्री भएपछि मबाट गुटबन्दी हुने छैन भनेर घोषणा गर्नुभएको होइन?'

बिहीबारको बैठकमा अनुशासन आयोग र सल्लाहकार समितिका अध्यक्षले प्रतिवेदन प्रस्तुत गरेपछि महासचिव ईश्वर पोखरेलले केन्द्रीय सदस्यका प्रश्नको जवाफ अध्यक्ष ओलीले दिने बताएका थिए।

त्यसपछि नेता नेपालले अध्यक्ष ओलीसँग समय माग गरेर धारणा राखेका थिए। राजनीतिक प्रतिवेदनका विषयमा धेरै प्रश्न उठेपछि आफूले स्थायी कमिटीमा थप छलफलपछि अध्यक्षको जवाफ आउने अपेक्षा लिए पनि त्यस्तो नभएकाले केन्द्रीय कमिटीमै बोल्न लागेको नेपालले बताएका थिए। उनको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी नेताले भने, 'नेताहरूसँग थप छलफल भएर मात्रै अध्यक्षबाट प्रतिवेदनको जवाफ आउने अपेक्षा गरे पनि त्यस्तो नहुँदा अचम्म लागेको छ।'

अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि सुरु भएको नेता नेपालको आलोचना पार्टी र सरकार सञ्चालनको तरिकामा पुगेर सकिएको थियो।

पार्टी सञ्चालन गुटका आधारमा भएको आफूसँग दर्जनौं उदाहरण रहेको भन्दै नेपालले चीन भ्रमणको दृष्टान्त प्रस्तुत गरेका थिए। 'पार्टीका नाममा दर्जनौं टोली चीन गएको अखबार पढेर वा साथीहरूले फर्केर भनेपछि थाहा पाइयो। कसले बोलाएर, के उद्देश्यले भ्रमण भएको हो, कोसँग सोध्न जाऊँ?' नेपालले भने, 'यो विषयमा चिनियाँ कम्युनिस्ट पार्टीलाई पत्र लेखेर वा चिनियाँ राजदूतलाई बोलाएर सोधौं?'

निकट भविष्यमै एक स्थायी कमिटी सदस्य, एक पदाधिकारी र महासचिवको नेतृत्वमा चीन भ्रमण जाने टोलीको तयारी पूरा भएको जानकारी पाएको भन्दै बैठकमा नेता नेपालले भने, 'के एमाले क्लब हो? संस्थागत निर्णय र छलफल हुनुपर्छ कि पर्दैन?'

उनले आफूले लामो समय महासचिव चलाएको समयको स्मरण गर्दै भने, 'टंक (कार्की) जी र प्रमेश (हमाल) जीलाई राजदूत बनाउने बेला कतिपटक नेताहरूबीच छलफल भएको थियो, सम्झनुहोस्।'

नेपालपछि बैठकमा बोलेका वरिष्ठ नेता खनालले पनि अध्यक्षबाट प्रस्तुत राजनीतिक प्रतिवेदनका साथै पार्टी सञ्चालन तरिकाको आलोचना गरेका थिए।

अध्यक्षको प्रतिवदेन सतही भएको भन्दै वरिष्ठ नेता खनालले भने, 'राजनीतिक, आर्थिक, सामाजिक चुनौती के हुन्, तिनको समाधान कसरी गर्ने भन्ने विषय नल्याई प्रतिवेदन कसरी पूर्ण हुन्छ?'

प्रतिवेदनमा संविधान ऐतिहासिक भनेर मात्र नपुग्ने भन्दै वरिष्ठ नेता खनालले के–के विशेषताका कारण ऐतिहासिक भयो, त्यो पनि उल्लेख हुनुपर्ने माग गरे।

आफू पनि अध्यक्ष र प्रधानमन्त्री भएर पार्टी र देश चलाइसकेको सुनाउँदै खनालले संस्थागत ढंगले पार्टी चलाउन ओलीलाई आग्रह गरे।

'अब तपाईंलाई के पाउन गुटबन्दी गर्नुपर्योर, तपाईं पार्टी अध्यक्ष र देशको प्रधानमन्त्री बनिसक्नुभयो,' खनालको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले नागरिकसँग भने।

बैठकमा उपाध्यक्ष भीम रावल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङले पनि धारणा राखेका थिए।

'गुटबन्दी तल्लो रो (केन्द्रीय सदस्य) बाट नभई माथिल्लो रो (स्थायी कमिटी सदस्य) बाट भएको छ,' उपाध्यक्ष रावलले भने, 'यो तत्कालै रोकिनुपर्छ।'

पूर्वसभामुखसमेत रहेका स्थायी कमिटी सदस्य नेम्वाङले एउटै जंगलमा दुइटा हात्ती झगडा गरेर बाँच्न नसक्ने भन्दै मिलेर अघि बढ्न नेतालाई सुझाएका थिए। 'मैले संकेत गर्न खोजेको केपी शर्मा ओली, माधवकुमार नेपाल र झलनाथ खनाललाई हो, मिलेर जानुपर्छ,' नेम्वाङको भनाइ उद्धृत गर्र्दै एक नेताले भने।

नेताहरूको धारणा सुनेपछि अध्यक्ष केपी शर्मा ओलीले थप अध्ययन गरेर उठेका प्रश्नको जवाफ दिने भन्दै बैठक शुक्रबार ११ बजेसम्मका लागि स्थगित गरेका थिए।

प्रकाशित: २ वैशाख २०७३ २२:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App