coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मन्त्रीको गृहनगरमा मात्रै नौ करोडका योजना

गण्डकी प्रदेशको ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयले गोरखाको पालुङटारमा चालु वर्षमा ४८ वटा योजनामा करिब नौ करोड बजेट विनियोजन गरेको छ। जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय गोरखामार्फत कार्यान्वयन गर्ने गरी मन्त्री हरिशरण आचार्यले गृहनगरमा उक्त बजेट विनियोजन गरेका हुन्।

प्रदेशले १ सय ७० वटा योजनामा २३ करोड २७ लाख विनियोजन गरेको छ। यो मध्यपालुङटार नगरपालिकाभित्रका ४८ वटा योजनामा ८ करोड ९४ लाख रूपैयाँ बजेट विनियोजन गरिएको हो। सिँचाइ योजना, कुलो निर्माण, लिफ्ट सिँचाइ, तटबन्ध र पहिरो नियन्त्रणमा उक्त बजेट छुट्याइएको छ।

गोरखा नगरपालिका-८ देखि १४ र पालुङटार नगरपालिका मन्त्री आचार्य निर्वाचित प्रदेश क्षेत्रभित्र पर्छ। त्यहाँ अन्यत्रभन्दा धेरै बजेट छ। गोरखाका अन्य पालिकामा पनि कार्यकर्ता केन्द्रित बजेट विनियोजन गरेको आरोप मन्त्री आचार्यमाथि छ। उनले सिरानचोक गाउँपालिकामा २० वटा योजनामा २ करोड ९८ लाख बजेट छुट्याएका छन्। गोरखा नगरपालिकाभित्र २२ वटा योजनालाई २ करोड ५४ लाख रूपैयाँ विनियोजन गरिएको छ।

गण्डकी गाउँपालिकामा २७ वटा योजनाका लागि २ करोड २८ लाख रूपैयाँ विनियोजन गरिएको छ। गण्डकी गाउँपालिका–८ मा मात्रै १४ वटा योजनामा १ करोड २८ लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ। उक्त वडा मन्त्रीका स्वकीय सचिव कुमार तिवारीको हो।

अजिरकोट गाउँपालिकामा १५ वटा योजनाका लागि १ करोड ५१ लाख, आरुघाट गाउँपालिकामा ६ वटा योजनाका लागि ९६ लाख, बारपाक सुलिकोट गाउँपालिकाका पाँचवटा योजनाका लागि ५६ लाख, चुमनुब्रीमा दुईवटा योजनाका लागि ५० लाख, धार्चे गाउँपालिकाका दुईवटा योजनामा ४० लाख, भीमसेन थापामा पाँच वटा योजनाका लागि ३४ लाख, सहिद लखन गाउँपालिकामा ६ वटा योजनाका लागि ४४ लाख रूपैयाँ बजेट ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले विनियोजन गरेको छ। १ सय ७० भित्रका केही योजना भने कार्यालयको मर्मत संहार, सर्वेक्षणलगायतमा रहेका छन्।

संघको ससर्त अनुदानतर्फ गोरखा जिल्लाभर २० वटा योजनामा ३ करोड ४० लाख बजेट विनियोजन भएको छ। योमध्ये सातवटा योजना पालुङटार नगरपालिकामा पर्छ। ती योजनाका लागि १ करोड ५५ लाख बजेट विनियोजन गरिएको छ।

गण्डकी गाउँपालिकाका पाँचवटा योजनामा ९५ लाख, सिरानचोक गाउँपालिकाका दुई योजनामा २० लाख, भीमसेन थापाका तीनवटा योजनामा ३० लाख, गोरखा नगरपालिका-१३ का मझौला सिँचाइ आयोजनामा १५ लाख बजेट विनियोजन गरिएको छ। अजिरकोटमा पाँच लाख र बारपाक सुलिकोटमा २० लाखका योजना छुट्याइएको छ।

मन्त्री आचार्यले पालुङटार क्षेत्रमा गत वर्षको बाढीले धेरै क्षति पुर्‍याएकाले बजेट धेरै देखिएको बताए। ‘आवश्यकताका आधारमा म आफैं फिल्डमा गएर हरेक ठाउँमा हेरेर बजेट विनियोजन गरेको छु,’ उनले भने। पालुङटार क्षेत्रमा बाढीले बस्ती कटान गरेको, खेत बगाएको लगायत धेरै समस्या देखिएकाले गत वर्ष विनियोजन गर्न सम्भव नभएर अहिले बजेट छुट्याइएको उनले बताए।

अन्यत्र पालिकामा पनि आवश्यकताका आधारमा बजेट छुट्याइएको बताउँदै उनले भने, ‘हामीले प्रदेशभरका ११ डिभिजन कार्यालयसँग ५०/५० लाखको कार्यक्रम मागेका थियौं, त्यहाँबाट प्राथमिकतामा परेका योजना पनि समावेश छन्।’ हरेक योजना फिल्डमा आफैंले हेरेर बजेट विनियोजन गरेको उनले बताए।

गत वर्षभन्दा यो वर्ष गोरखामा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमा योजना र बजेट धेरै छ। ‘गोरखालाई बाढीपहिरोले धेरै क्षति पुर्‍याएकाले बजेटमा प्राथमिकता दिइएको हो,’ मन्त्री आचार्यले भने। थोरै बजेटका धेरै योजना हुँदा विकासे अड्डालाई प्राविधिक जनशक्ति पुर्‍याउन, योजना सञ्चालन गर्न र काम सिध्याउन सकस हुने गरेको गुनासो कर्मचारीहरूको छ।

प्रकाशित: ३१ भाद्र २०७९ ०३:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App