२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गोर्खा दरबन्दी अन्तै जान सक्छ : भारत

भारतीय सेनाले अग्निपथअन्तर्गत नेपाली युवा भारतीय सेनामा भर्ना हुने विषयमा नेपालले तत्काल निर्णय नगरे नेपाली गोर्खालाई छुट्याइएको दरबन्दी अन्यलाई वितरण गर्ने बताएका छन्।

युनाइटेड सर्भिस इन्स्टिच्युसन अफ इन्डियाले बुधबार आयोजना गरेको कार्यक्रममा भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले हालको भर्ना प्रक्रियाअन्तर्गत नेपाली गोर्खालाई छुट्याइएको दरबन्दी अन्यत्रै जान सक्ने बताएका हुन्। भर्नाबारे सोधिएको प्रश्नको जवाफमा सेनाध्यक्ष पाण्डेले नेपाल सरकारले मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनभन्दा पहिले यसबारे निर्णय गर्ने सम्भावना कम भएको स्पष्ट पारे।

भारतले यस वर्ष अग्निपथ स्किमअन्तर्गत ४० हजार अग्निवीरको भर्ती गर्ने जनाएको छ। तीमध्ये डिसेम्बरमा २५ हजार र फेब्रुअरीमा १५ हजार भर्ना गर्ने लक्ष्य छ। भारतीय सेनामा नेपाली गोर्खाहरूको भर्ना सन् १९४७ को नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय सन्धिअन्तर्गत हुँदै आएको छ। तर अग्निपथ कार्यक्रमअन्तर्गत चार वर्षसम्म मात्र सेवा गर्ने पाउने र अवकाश प्राप्त गर्दा पेन्सनलगायत सुविधासमेत नपाइने भएकाले नेपालले पुरानो सन्धिअन्तर्गत नै आफ्ना युवालाई भारतीय सेनामा भर्ना गर्नुपर्ने बताउँदै आएको छ।

छोटो अवधिमा सेनामा हतियार चलाउन दक्ष जनशक्ति बेरोजगार अवस्थामा समाजमा बस्दा त्यसले समस्या निम्त्याउन सक्ने भन्दै उक्त कार्यक्रमअन्तर्गत नेपाली युवाहरूको भर्ना रोक्नुपर्ने आवाज उठेको थियो।त्यसकारण हाललाई नेपाल सरकारले उक्त कार्यक्रमलाई थाती राखेको छ।

भारतीय सेना प्रमुखले नेपाली गोर्खालाई छुट्याइएको दरबन्दी अरूलाई दिने अभिव्यक्ति दिएको दोस्रो दिन नेपाल सरकारले तत्काल यो विषयलाई अघि नबढाउने प्रतिक्रिया दिएको छ। परराष्ट्र मन्त्रालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले तत्काल सो विषयमा सरकारले कुनै निर्णय नगर्ने जानकारी गराइन्। ‘अहिलेलाई सरकारले सो विषयलाई पछि कुरा गर्ने गरी थाती राखेको अवस्था हो। नयाँ आउने निर्वाचित सरकारले सो विषयमा के गर्ने कसरी अघि बढ्ने भन्नेबारे निर्णय गर्ला। अहिले सरकारको म्यान्डेट तत्काललाई सो विषय अघि नबढाउने भन्ने हो,’ उनले भनिन्।

भारतीय सेनामा अग्निपथ स्किमभन्दा पहिले पनि नेपाली गोर्खाहरूको भर्ना संख्या घटाउँदै लगिएको छ। पहिले वार्षिक ४० हजार नेपाली युवा भारतीय सेनामा भर्ती हुने गरेकोमा हाल यो संख्या १ हजार ५ सयमा सीमित बनेको छ। हाल भारतीय सेनाको सात गोर्खा राइफलमा करिब ३० हजार नेपाली नागरिकले काम गरिरहेको बताइन्छ।

प्रकाशित: ३१ भाद्र २०७९ ०२:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App