२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

होलान् महरा र पोखरेल आमनेसामने ?

स्थानीय तहको निर्वाचनमा घोराही उपमहानगरपालिकामा एमालेले एकल जीत निकाल्दा ०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमालेले दाङ –२ मा आफ्नो स्थान सुरक्षित देखिसकेको थियो।  

स्थानीय तहको निर्वाचनमा एकल ‘हाबी’ भएको एमालेले त्यसको केहि महिना पछिको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा आफ्नो जनमत अझ बलियो बनाउन सक्ने दृढता अस्वाभाविक थिएन पनि। अझ यो क्षेत्रबाट निर्वाचन लड्ने मनस्थिती बोकेका नेता शंकर पोखरेलले आफ्नो ‘पल्लाभारी’ हुने लख काटिसकेका थिए।  

तर एमाले र माओवादी बिचको ‘पार्टी एकता’ को प्रारम्भीक चरण अन्तर्गत चुनावी तालमेल गर्ने दुई दलको निर्णयले एमाले नेता शंकरको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने योजना माथि अंकुश लाग्ने शंशय पैदा हुन थाल्यो। कारण:  रोल्पामा उम्मेदवार टिकट सुरक्षित नहुने भएपछि दाङ झर्ने योजना बनाएका माओवादी नेता कृष्णबहादुर महराले शंकरको टिकट खोस्ने पक्कापक्की जस्तै थियो।  

नभन्दै,भयो त्यहि। प्रतिनिधिसभा ताकेका शंकर प्रदेशसभाको उम्मेदवार बने भने माओवादीका महरा प्रतिनिधिसभा सदस्यको उम्मेदवार चुनिए। तथापी चुनावी तालमेल गरेर मैदानमा उत्रिएका यी दुई नेताका बिचमा चुनावी सहकार्य राम्रो बन्यो। एकले अर्कालाई सहयोग गरेर यो क्षेत्रबाट प्रतिनिधिसभा तथा प्रदेशसभामा प्रतिनिधित्व कब्जा गर्ने  योजना बुनेका दुबै नेता सफल पनि भए। प्रतिनिधिसभामा निर्वाचित महरा प्रतिनिधिसभाको सभामुख चुनिए भने प्रदेशसभामा निर्वाचित पोख्रेल प्रदेशका मुख्यमन्त्री चुनिए।  

अघिल्लो निर्वाचनमा एक अर्काका ‘परिपुरक पात्र’ बनेर चुनावी जनमत कब्जा गरेका उनै महरा र पोख्रेल भने त्यसको ५ वर्ष पछि टाढिएका छैनन् मात्रै उनीहरु एक अर्काका कट्टर प्रतिष्पर्धी बनेर आगामी चुनावमा ‘आमने सामने’ हुने सम्भावना बनेको छ।  

माओवादी केन्द्रका उपाध्यक्ष महरा आफ्नो पुरानै चुनावी क्षेत्रबाट चुनावमा लड्ने मनसायमा देखिएका छन्। अघिल्लो निर्वाचनमा प्राप्त जनमतलाई ‘क्यास’ गर्न सकिने विश्वास महरामा पलाएको छ। ‘उहाँ ( महरा) आफ्नो पुरानै निर्वाचन क्षेत्रबाट चुनाव लड्ने मनसायमा हुनुहुन्छ,’ माओवादीका एक जिल्ला नेताले भने ‘तर गठबन्धन भएको अवस्थामा पार्टीले उहाँको कहाँ कुन क्षेत्रमा निर्णय गर्छ भन्ने कुरामा भर पर्छ।’तथापी स्थानीय तहको निर्वाचनको प्राप्त जनमतले भने उनलाई झस्काएको छ।  

स्थानीय तहको निर्वाचनको मत परिणामलाई आफ्नो चुनावी सर्वेक्षणका रुपमा महराले लिएका थिए। फलतः उनले कांग्रेस र माओवादीको गठबन्धनका तर्फबाट उम्मेदवार चयनमा चलेको रस्साकस्सीका बिच महराले आफू निकटस्थ हेमराज शर्मालाई घोराही उपमहानगरको मेयर पदको उम्मेदवार चयन गर्न सफल भएका थिए।  

तर स्थानीय तहको निर्वाचनको परिणामले आफ्ना निकटस्थलाई पराजित तुल्याइदएपछि महराका लागि आगामी चुनावी यात्रा के हुने भन्ने प्रश्न उब्जाइदिएको छ नै। ‘स्थानीय तहको परिणामले आगामी निर्वाचनको मतलाई प्रभावित पार्छ कि भन्ने पनि हो,’ ति नेताले भने ‘तर स्थानीय तहमा प्राप्त यस क्षेत्रका दुई स्थानीय तहको पुरै मतलाई हेर्ने हो भने गठबन्धन हाबी हुने देखिन्छ।’

माओवादी जिल्ला नेताहरुका अनुसार महरा दाङ २ बाटै निर्वाचनमा लड्ने मनस्थितीमा रहेको भएपनि महरा आफैले भने चुनाव लड्ने उद्घोष भने गरिसकेका छैनन्। चुनाव लडिहाल्नु पर्ने अवस्थामा पनि कुन क्षेत्रबाट चुनाव लड्ने भन्ने बिषयमा महरा मौन छन्। ‘अहिले सम्म उहाँले के गर्ने भन्ने बारेमा केहि बोल्नु भएको छैन,’ माओवादीका केन्द्रीय सदस्य निर्मल आचार्यले भने ‘अब भने उहाँले आफ्नो उम्मेदवारी बारे चाँडै बोल्नु हुनेछ।’

त्यसोत, यो क्षेत्रको ठूलो स्थानीय तह घोराही उपमहानगरको मत एमालेले कब्जा गर्नु र एमालेका हेभिवेट नेता एमाले महासचिव शंकर पोख्रेल भिड्ने निश्चित जस्तै भएपछि महराले सुरक्षित थलोको खोजी गरिरहेको चर्चा पनि चल्ने गरेको छ। यो अवस्थामा उनको रोजाई दाङ क्षेत्र नम्बर १ पर्ने चर्चा चल्दै आएको छ। ‘महरा जत्तिको हेभिवेट नेताको सुरक्षित जीतका लागि दाङ क्षेत्र नम्बर १ हुने र उहाँलाई क्षेत्र नम्बर १ मा झार्ने भन्ने कुरा पनि चलिरहेको छ,’ देउखुरीका एक माओवादी नेताले भने ‘किनकी दाङ १ भनेको गठबन्धनको बलियो पकड र जीत सुनिश्चित मानिएको क्षेत्र हो।’

तर महराका लागि दाङ १ झर्न पनि त्यति सहज भने छैन। गठबन्धनकै हेभिवेट नेता नेकपा एकीकृत समाजवादीका नेता तथा शहरी बिकास मन्त्री मेटमणी चौधरी यो क्षेत्रका बलिया उम्मेदवार आकांक्षी हुन्। उनले कुनै पनि हालतमा आफ्नो उम्मेदवारी नरोकिने केहि दिन अघि दाङ आएकै बेला भनेका थिए। ‘दाङ १ बाट मेरो उम्मेदवारी कसैगरि पनि रोकिन्न’ पत्रकारहरुसंगको एक अनौपचारिक छलफलमा मन्त्री चौधरीले भनेका थिए ‘त्यहाँ उम्मेदवार बन्ने र जित्ने पनि मै हुँ।’

माओवादीले पार्टीका उपाध्यक्ष महराले चाहेको स्थानमा उनको उम्मेदवारी पक्का गर्न गाह्रो नहुने देखिएपनि मन्त्री चौधरी पनि नेकपा एसका अध्यक्ष माधव कुमार नेपालका विश्वासपात्र हुन्। मन्त्री चौधरीले चाहेको क्षेत्रमा उनले पनि आफ्नो उम्मेदवारी नपाउने सम्भावना कमै हुने आँकलन गर्न गाह्रो पर्दैन।  

महरा आफ्नो पुरानो क्षेत्रबाट १ मा ओर्लिए जिल्लाका दुई हेभिवेट आमनेसामने हुने अवस्था रहने छैन। यदि महराले आफ्नो पुरानै क्षेत्रमा निर्वाचन लड्ने निधो गरेको खण्डमा ०७४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका चुनावी सहयात्री महरा र पोख्रेल आमनेसामने हुने छन्। किनभने एमालेबाट महासचिव पोखे्रलले यो क्षेत्रबाट चुनाव लड्ने मनसाय बनाइसकेका छन्। उनी यो क्षेत्रबाट एमालेका एकल उम्मेदवारका रुपमा सिफारीस भैसकेका छन्। फलतः एमाले दाङले यो क्षेत्रलाई चुनावको प्रमुख केन्द्रका रुपमा हेरिसकेको छ।  

यो क्षेत्रको ठूलो स्थानीय तह घोराही उपमहानगरमा पाँच दलीय गठबन्धन हुँदा पनि एमालेले एकल जीत निकाल्न सक्नुलाई पोख्रेलले आफ्नो सहज जीतको आँकलन गर्नु अस्वाभाविक हैन। तर यो उपमहानगर मात्रै नभई यो क्षेत्रमा रहेको बंगलाचुली गाउँपालिकाको मतलाई समेत एमालेले आफ्नो पक्षमा पार्न प्रयत्न गर्नैपर्ने हुन्छ।  

गत स्थानीय तह निर्वाचनमा यो गाउँपालिकामा गठबन्धन वडा देखि नेतृत्व तहसम्मै एकल रुपमा हाबी भएको थियो। फलतः पार्टीको पुरै शक्ति क्षेत्र नम्बर २ मै लगाउने प्रयत्नमा रहेको एमाले पार्टीका महासचिव पोख्रेलको जीतका लागि बंगलाचुलीको मत तान्ने जोडबलमा छ।    

प्रकाशित: २६ भाद्र २०७९ ०३:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App