७ वैशाख २०८१ शुक्रबार
राजनीति

पहिल्यै आउन चाहन्थे ह्यारी

काठमाडौं- बेलायती राजकुमार ह्यारीले आफ्नो नेपाल बसाइ ६ दिन लम्ब्याएका छन्। नेपाली आत्मीयता र प्रेमले लोभिएका उनी अहिले भूकम्प पीडितका ग्रामीण बस्तीमा उनीहरूका दुःख बाँडिरहेका छन्।नेपालप्रतिको उनको यो अनुराग यहाँ आएपछि हठात् जागेको होइन। उनी त ६ वर्षअघि नै नेपाल आउने मनस्थितिमा रहेछन्। त्यति बेला उनको आफ्नै व्यस्तताले अवरोध गर्योह। अर्कोचाहिँ नेपाल–बेलायतका सम्बन्धित निकायले व्यवस्थापन गर्न नसक्दा त्यो चाहना साकार हुन पाएन। शुक्रबार गोरखाको उत्तरी क्षेत्र पुगेका उनले स्थानीयसँग आफ्नो चाहनाको पोको फोए। 'म ६ वर्षअघि नै यहाँ आउन चाहन्थेँ तर मिलेन,' उनले भने।

त्यति बेला ह्यारीलाई नेपालले तान्नुको एउटा कारण रहेछ– गोरखा, लिगलिगमा हुने पारम्परिक दौड प्रतियोगिता। 'म त्यो दौडमा सहभागी हुन चाहन्थेँ,' उनले सुनाए।

एकीकरणअघिको गोरखा राज्यमा राजा छान्ने परम्पराबारे नयाँ पुस्तालाई जानकारी दिने उक्त दौड प्रतियोगिता अहिले पनि आयोजना हुने गर्छ। विशाल नेपाल निर्माणअघि २ सय ४७ वर्षदेखि अस्तित्वमा रहेका बाइसे–चौबिसे राज्यमध्ये गोरखामा 'लिगलिगकोट दौड' मा प्रथम हुनेलाई राजा बनाइने इतिहास छ। लमजुङका राजा द्रव्य शाह 'लिगलिगकोट दौड' जितेर गोरखाको राजा भएपछि राजा छनोटको यो प्रथाले चर्चा कमाएको थियो।

राजकुमार ह्यारीको सचिवालय र नेपालको एक एड्भेन्चर कम्पनीबीच त्यति बेलै भ्रमणबारे केही चरण पत्राचारसमेत भएको उनलाई नेपाल ल्याउन पहल गरेको संस्थाको दाबी छ। नेपालबाट पहिलोचोटि पहल हुँदा सचिवालयले उनी पाइलट तालिममा व्यस्त रहेकाले असमर्थता दर्साउँदै दौडको अर्को संस्करणबारे जानकारी गराउन आग्रह गरेको थियो। 'उहाँको सचिवालयले व्यस्तताका कारण लिगलिग दौडमा भाग लिन नपाएकोमा ह्यारीले पश्चात्ताप गरेको जनाएको थियो,' गोरखा इन्काउन्टर्स एड्भेन्चरका प्रबन्धनिर्देशक राजेन्द्र बजगाईंले भने। उक्त संस्थाले ह्यारीको सचिवालयसँग उनको भ्रमणका लागि समन्वय गरेको थियो।

स्थानीय राजनीतिक विवादका कारण केही वर्षसम्म लिगलिग दौड हुन सकेन। 'हामीले त्यसपछि पुनः बेलायती दूतावासमा हाम्रो आमन्त्रण प्रस्तावबारे पत्राचार गर्यौं तर कुनै परिणाम आइरहेको थिएन,' उनले भने।

सन् २०१० मा आयोजित पहिलो म्याराथनमा विभिन्न देशका ५० सहभागीलाई आमन्त्रण गरिएको थियो। त्यसमा मनासलु क्षेत्रमा ट्रेकिङलगायत १२ दिने भ्रमण तालिका तय गरिएको थियो। 'ह्यारीलाई त्यसको उद्घाटन समारोहको अतिथि बनाउने योजना थियो हाम्रो,' एड्भेन्चरका प्रबन्धनिर्देशक बजगाईंले सुनाए। आफ्नो संस्थाले सगरमाथा क्षेत्रको कालापत्थरमा मन्त्रिपरिषद् बैठक आयोजनालगायत विभिन्न देशका सेलेब्रिटी र विशिष्ट व्यक्तिलाई नेपाल घुमाउन पहल गरेको उनले जानकारी दिए।

प्रकाशित: १२ चैत्र २०७२ २०:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App