१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमाले बाजुरामा सर्वसम्मत उम्मेदवार छान्ने प्रयास,संघमा मिल्ने संकेत,प्रदेशमा सकस

नेकपा एमाले बाजुराले सर्वसम्मत उम्मेदवार छनोट गर्ने गरी गृहकार्य थालेको छ। आकांक्षी उम्मेदवारका नाम सिफारिस गर्न बसेको जिल्ला कमिटीको बैठकले सर्वसम्मत उम्मेदवार नै छनोट गरी केन्द्रमा पठाउने गरि गृहकार्य थालेको पार्टी सचिव भरत थापाले बताएका छन्।

शीर्ष तहका नेताहरुले नै सर्वसम्मतीका लागि प्रयास थालेकोले जिल्ला कमिटीको बैठक दोस्रो दिन फेरि सुरु भएको छ। एकैदिन सक्ने भनिएको बैठक पहिलो दिन सहमतिका लागि समय दिन बैठक स्थगित गरिएको थियो। दोस्रो दिन पुन बैठक बस्नु अघि नेताहरु आन्तरिक छलफलमा व्यस्त देखिएका थिए।  

देशभर एमालेमा सर्वसम्मत उम्मेदवार छनोटको क्रम चलिरहेकोले बाजुराबाट पनि सर्वसम्मत उम्मेदवार छनोटको गृहकार्य सुरु गरिएको हो। जिल्लाबाटै संघ र प्रदेश दुवैमा एक एक जनाको नाम सर्वम्मत सिफारिस गर्ने गरी नेताहरु छलफलमा जुटेका छन्।

सुदूरपश्चिमका प्रतिनिधि सभा तर्फका १६ निर्वाचन क्षेत्र मध्ये ७ वटामा सर्वसम्मत उम्मेदवार छानिएका छन् भने देशभर ५० बढी उम्मेदवारलाई सर्वसम्मत छनोट गरिएको छ। पार्टी स्थायी कमिटी सदस्य एवं प्रदेश सहइन्चार्ज कर्णबहादुर थापाको गृह जिल्ला भएकै कारण पनि थापा स्वयमलाई सर्वसम्मत उम्मेदवार छनोट गर्न दबाब परेको छ।  

पार्टी सचिव, प्रदेश अध्यक्ष, पार्टीका शिर्ष नेताहरु सर्वसम्मत छानिएपछि थापालाई पनि नैतिक दबाब परेको हो। बाजुरामा संघमा कर्णबहादुर थापा र लालबहादुर थापाले आकाक्षा राखेका छन्। तर उनी दुवै जना मध्ये एकलाई अर्को व्यवस्थापन गर्ने गरी सहमति नजिक पुगिएको श्रोतको दाबी छ।

प्रदेश क बाट ५ जनाको नाम सिफारिस गरिएको छ। सिफारिसमा परेका सहदेव बोगटी, बल्देव रेग्मी, रंगमान शाही, मनबहादुर विष्ट र मेघराज शाही मध्येबाट एक जनालाई सर्वसम्मत बनाउन कसरत थालिएको छ।

यस्तै प्रदेश निर्वाचन क्षेत्र ख मा पनि प्रकाश शाह, लालबहादुर ओली, मिनबहादुर विष्ट मध्येबाटै एकजनालाई सर्वसम्मत बनाउने वा संघमा दाबी गरेका मध्येलाई प्रदेशमा ल्याउने र केहीलाई समानुपातिक, राष्टिय सभा वा अन्य कुनै जिम्मेवारीमा राखेर व्यवस्थापन गर्ने भन्ने बारे छलफल चलिरहेको छ। तर लालबहादुर ओलीले आफूले प्रदेशको प्रत्यक्ष उम्मेदवारीबाट पछि हट्ने कुरा नरहेको र नाम सिफारिस हुनै पर्नेमा अडान लिएका छन्।  

एमाले बाजुराले तीनै जनालाई सर्वसम्मत उम्मेदवार बनाएर पठाउने गरी छलफल जुटेको नेताहरुले बताएका छन्। आकाक्षा धेरै जनाको भएपनि पार्टी भित्रका केही नेताहरु जिम्मेवारीमा रहेको र केहीलाई थप अवसरको सिर्जना गरेर व्यवस्थापन गर्ने गरी नेताहर सहमति नजिक पुगेका छन्। भोलि सर्वसम्मत निर्णय गर्ने र हुनै नसक्ने अवस्था आए सबैको नाम सिफारिस गर्ने मनस्थितिमा नेताहरु छन्।

प्रकाशित: २१ भाद्र २०७९ १०:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App