coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

'टिभीमा सुन्दर नेपाल हेरेर हुर्किएँ'

काठमाडौं- बेलायतका राजकुमार हेनरी चार्ल्स अल्बर्ट डेभिड ह्यारी पाँच दिने नेपाल भ्रमणका लागि शनिबार काठमाडौं आइपुगेका छन्। नेपाल बेलायत सम्बन्ध स्थापना भएको दुई सय वर्ष पुगेको अवसरमा राजकुमार ह्यारी नेपाल आएका हुन्।कतार एयरवेजमार्फत दिउँसो २:४० बजे काठमाडौं उत्रिएका उनलाई त्रिभुवन विमानस्थलमा संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्ती शाहीले स्वागत गरिन्। ह्यारीलाई स्वागत गर्न नेपालका लागि बेलायती राजदूत रिचर्ड मरिस पनि विमानस्थल पुगेका थिए। राजकुमार ह्यारीसँगै बेलायतका विदेश राज्यमन्त्री ह्युगो स्वायर पनि नेपाल आएका छन्।

ओली–ह्यारी भेट

ह्यारीले शनिबार नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्। प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा नेपाल–बेलायत सम्बन्धबारे छलफल भएको थियो। झन्डै २० मिनेट लामो भेटमा गोर्खा सैनिकले पुर्याभएको योगदानको ह्यारीले प्रशंसा गरेका थिए। उनले नेपाल वन्यजन्तु, हिमाल र वातावरणले सम्पन्न भएको बताएका थिए।

त्यसक्रममा प्रधानमन्त्री ओलीले संविधान जारी भएपछि नेपाल आर्थिक तथा सामाजिक विकासको नयाँ चरणमा प्रवेश गरेको भन्दै बेलायती सहयोग निरन्तर रहने आशा लिएको बताएका थिए। प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले दिएको जानकारी अनुसार ओलीले भूकम्पको समयमा बेलायतले उद्धार तथा राहतमा पुर्यासएको योगदानको प्रशंसा गरेका थिए। भेटमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल र परराष्ट्र मन्त्रालयका अधिकारी सहभागी थिए।

शनिबार राति नै उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले राजकुमार ह्यारीको सम्मानमा होटल याक एन्ड यतीमा स्वागत समारोह आयोजना गरेका थिए। समारोहमा बोल्दै राजकुमार ह्यारीलेे बेलायतका धेरै मानिसले जस्तै किताब र टेलिभिजनमा नेपालको सुन्दर तस्बिर हेर्दै आफू हुर्किएको बताए। विश्वभरका मानिसको कल्पनामा नेपालको विशेष स्थान रहेको बताउँदै उनले भने, 'हाम्रो देशका धेरै मानिसजस्तै म पनि किताब तथा टेलिभिजनमा नेपालको सुन्दर तस्बिर हेर्दै हुर्किएको हुँ,' ह्यारीले भने, 'विश्वभरका धेरै मानिसको कल्पनामा तपाईंहरुले विशेष स्थान राख्नुहुन्छ भन्नेमा निश्चित छु।'

बुबा–आमासहित परिवारका धेरै सदस्यले नेपाल भ्रमण गरेको स्मरण गर्दै उनले भने, 'यहाँ आउन पाउँदा सम्मानित र रोमाञ्चक बनेको छु। गत वर्ष महारानीको तर्फबाट दुवै देशबीच सम्बन्धको दुई सय वर्ष मनाउनेक्रममा यो भ्रमणका लागि आग्रह गरिँदा निकै खुसी भएको थिएँ।'

पहिलोपटक सगरमाथा आरोहणसम्बन्धी समाचारले आफ्नी हजुरआमाको राज्याभिषेकको समाचार छायामा परेको उनले बताए। त्यो समाचारले नेपाललाई विश्वमाझ चिनाएको थियो। 'तेन्जिङ नोर्गे र सर एडमन्ड हिलारीले सगरमाथा आरोहण गरेको समाचारले मेरी हजुरआमाको राज्याभिषेक छायामा परेको थियो,' उनले भने, 'आरोहणको समाचारले राज्याभिषेकको हेडलाइन चोरिएको थियो।'

उनले नेपाल भ्रमण आफ्नो व्यक्तिगत भ्रमण भएको पनि बताए। 'यो भ्रमण मेरालागि व्यक्तिगत पनि हो, नेपालका सबैभन्दा प्रसिद्ध दूत गोर्खा सैनिकप्रति सम्मान व्यक्त गर्ने यो अवसरका लागि आफैँलाई धन्य ठान्छु, बहादुरीका साथसाथै उनीहरुको मानवीयताको पनि कदर गर्छु,' उनले भने। अफगानिस्तानमा पहिलोपटक खटिँदा गोर्खालीसँग काम गरेको स्मरण गर्दै उनले भनेका छन्, 'असाधारण सैनिक उत्पादन गर्ने र सहयोग गर्ने समुदायसँग भेट्ने प्रतीक्षामा छु।'

उनले भूकम्पले ज्यान गुमाउनेप्रति समवेदना प्रकट गर्दै आफूलाई पुनर्स्थापित गर्न नेपालीले गरिरहेको प्रयासको प्रशंसासमेत गरे। यस्तो अवस्थामा संसारभरका व्यवसायीलाई पुनः भ्रमण गर्न उनले आग्रह गरे।

ह्यारीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्ने कार्यक्रम छ। वैशाख १२ गते गएको भूकम्पले क्षति पुर्यासएका ललितपुर र भक्तपुर क्षेत्रको समेत उनले भ्रमण गर्नेछन्। उनले पाटन दरबार क्षेत्रको अवलोकन गर्ने जनाइएको छ। भक्तपुरमा भूकम्पपीडितलाई भेट्ने छन् भने बेलायती सहयोग नियोग डिएफआइडीको सहयोगमा रेडक्रस सोसाइटीले बनाएको आकस्मिक राहत र उद्धारस्थलसमेत अवलोकन गर्नेछन्।

राजकुमार ह्यारीले पोखरा, लमजुङ र बर्दियाको समेत भ्रमण गर्ने छन्। काठमाडौंबाट बर्दिया हुँदै लमजुङ पुग्ने उनी मंगलबार बिहान करिब ११ बजे हेलिकोप्टरबाट पोखरा जानेछन्। पोखरामा केही घन्टाको मात्र बसोबास रहने सुरक्षास्रोतले जानकारी दिएको छ। पोखरा जानुअघि उनले लमजुङको गौंडा गाविसमा पदयात्रा गर्नेछन्। बेसीसहरबाट उत्तरपूर्व करिब ३० किलोमिटर टाढाको गौंडामा ह्यारीले सोमबार करिब एक घन्टा पदयात्रा गर्नेछन्। उनी बर्दियाबाट सिधैं हेलिकप्टरमा गौंडा पुग्नेछन्।

उनले लमजुङको उक्त गाविसमा रहेका ब्रिटिस गोर्खा सैनिकका परिवारलाई भेट्ने र स्थानीय रहनसहन बुझ्नेछन्। यही दिन गौंडाकै ओखरी गाउँमा देवबहादुर तामाङको घरमा बास बस्ने टुंगो लागेको लमजुङस्थित सुरक्षास्रोतले जानकारी दिएको छ। उनले लमजुङको गोर्खा होमस्टेमा एक रात बिताउने जनाइएको छ। उक्त साँझ स्थानीय तामाङ समुदायले प्रस्तुत गर्ने साँस्कृतिक कार्यक्रममा समेत ह्यारी समावेश हुनेछन्।

नेपाल बसाइको समयमा काठमाडौँमा हुने बालिका सम्मेलन उद्घाटनसमेत गर्नेछन्। यस्तै उनलेे कान्ति बाल अस्पतालको अवलोकन गर्ने कार्यक्रम छ।

ह्यारीको नेपाल कनेक्सन

नेपाल र बेलायतबीच उच्चस्तरका भ्रमण बेला–बेला हुने गरेका छन्। सबैभन्दा पहिला श्री ३ महाराज जंगबहादुर राणाले १८५० मा बेलायत भ्रमण गरेका थिए। २५ जनाको टोलीसहित उनी बेलायत पुगेका थिए। यो नै नेपालको तर्फबाट भएको पहिलो बेलायत भ्रमण थियो।

यस्तै बेलायतका तर्फबाट नेपाल आउने सम्राट जर्ज पञ्चम पहिलो उच्च व्यक्ति थिए। तर, उनी काठमाडौं आएका थिएनन्। उनले तराईका जंगलमा सिकार खेलेर फर्केको इतिहासमा पाइन्छ।

ह्यारीकी हजुरआमा महारानी एलिजाबेथले नेपालको दुईपटक भ्रमण गरेकी छन्। उनले सन् १९६१ र १९८६ मा नेपाल भ्रमण गरेकी थिइन्। युवराज चार्ल्सले २०३९ सालमा नेपाल भ्रमण गरेका थिए। यस्तै युवराज फिलिपले समेत नेपाल भ्रमण गरेका थिए। फिलिप राजकुमार ह्यारीका हजुरबुबा हुन् भने चार्ल्स ह्यारीका पिता हुन्। १९६१ को नेपाल भ्रमण समयमा महारानी एलिजाबेथले नेपालमा कालो झन्डाको समेत सामना गर्नुपरेको थियो। राजा महेन्›ले शासन आफ्नो हातमा लिएको समय नेपाल आएकी एलिजाबेथलाई शैलजा आचार्यहरूले कालोझन्डा देखाएका थिए।

ह्यारीका पिता चार्ल्सले नेपाल भ्रमण समयमा पोखरामा ट्रेकिङसमेत गरेका थिए। उनी हिँडेको बाटोलाई अहिले 'रोयल ट्रेक' को नामले चिनिन्छ। चार्ल्सले कास्कीको कालिकादेखि माझठाना, बेगनास, हंसपुर हुँदै रुपाकोटसम्म पैदलयात्रा गरेका थिए।

प्रकाशित: ६ चैत्र २०७२ २०:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App