२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

झापा–५ को अंक गणित

फाइल तस्बिर

एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन जित्दै आएको झापा–५ मा चारवटा पालिका छन्। दमक नगरपालिका र कमल गाउँपालिको पुरै भूभाग ५ नम्बरमा पर्छ। गौरादह नगरपालिकाका वडा १ देखि ८ सम्म र गौरीगन्ज गाउँपालिकाका वडा ३, ४, ५, ६ पनि उक्त क्षेत्रमा पर्छन्। २०७४ सालको निर्वाचनमा उक्त क्षेत्रमा संघ र प्रदेश दुवैमा एमालेले जितेको थियो। संघतर्फ एमालेका उम्मेदवार ओलीले ५७ हजार १३९ मत ल्याएका थिए। प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २९७ मत पाएका थिए। ओलीले अधिकारीलाई २८ हजार ८२४ मतले हराएका थिए।

गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा भने झापा–५ मा एमालेलाई ठुलो धक्का लागेको छ। एमालेको आधार क्षेत्र मानिएको दमकमा मेयर र उपमेयर दुवै पद गुमेको छ। उक्त निर्वाचन क्षेत्रमा पर्ने चार पालिकाका मुख्य पदमध्ये एमालेले दुइटा, कांग्रेसले एउटा र राप्रपाले एउटा जितेको अवस्था छ। पालिका प्रमुखहरूले पाएको मत हिसाब गर्दा भने एमाले अगाडि देखिन्छ।

दमकका १० वडामध्ये सातवटामा एमाले, दुइटामा कांग्रेस र एउटामा राप्रपा विजयी भएका छन्। एमालेका १० वटै वडाध्यक्ष उम्मेदवारले पाएको कुल मत १८ हजार २६१ छ। दोस्रोमा रहेको कांग्रेसले ६ हजार ९८३ मत पाउँदा माओवादीले ४ हजार ६६१ मत र राप्रपाले ३ हजार ५०२ मत ल्याएका छन्। एमालेविरुद्ध एक भएर चुनाव लडेको गठबन्धनका १० वटै वडाध्यक्षले पाएको मत १५ हजार १४६ छ। वडाध्यक्ष उम्मेदवारहरूले पाएको मत हिसाब गर्दा दमकमा गठबन्धनभन्दा एमाले ३ हजार ११५ मतले अगाडि छ।

कमल गाउँपालिकाका सातमध्ये चारवटा वडा एमालेले जितेको छ। कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले एकएक वडा जितेका छन्। एमालेका सात वडाध्यक्षका उम्मेदवारले पाएको कुल मत ९ हजार ६५३ छ। कांग्रेसले ४ हजार ५८१ मत, माओवादीले २ हजार ८३० मत र नेकपा एसले १ हजार ८६० मत पाएका छन्। गठबन्धनको कुल मत ९ हजार २७१ छ।वडाध्यक्ष उम्मेदवारहरूको मतमा कमलामा पनि एमाले ३८२ मतले अगाडि छ।

गौरादह नगरपालिकाका नौवटा वडा छन्। तीमध्ये आठवटा क्षेत्र ५ मा पर्छन्। आठवटा वडामध्ये एमालेले चार, कांग्रेसले दुई, माओवादी र स्वतन्त्रले एकएकमा जितेका छन्। एमालेका आठवटै वडाध्यक्ष उम्मेदवारले पाएको कुल मत १० हजार ६६७ छ। दोस्रोमा कांग्रेसले ८ हजार ४२१ मत ल्याउँदा माओवादीले १ हजार ७८६ मत पाएको छ। यहाँ गठबन्धनले पाएको कुल मत १० हजार २०७ छ। गठबन्धनभन्दा एमाले ४६० मतले अगाडि छ।  

गौरीगन्ज गाउँपालिकाका चारवटा वडा मात्र क्षेत्र नम्बर ५ मा पर्छन्। तीमध्ये तीनवटा वडा एमालेले जितेको छ। एउटा वडामा कांग्रेसले जितेको छ। एमालेका चारवटै वडाध्यक्षले पाएको कुल मत २ हजार ५४६ छ। दोस्रोमा कांग्रेसले २ हजार ३७ मत र त्यसपछि माओवादीले १ हजार ५११ मत पाएको छ। यसरी हेर्दा ओलीको क्षेत्रमा एमालेका वडाध्यक्षका उम्मेदवारले ल्याएको मत ४१ हजार १२७ छ। कांग्रेसले २२ हजार ८२ मत, माओवादीले १० हजार ८७७ मत, नेकपा एसको ३ हजार ५०२ मत र राप्रपाको १ हजार ८६० मत छ।

प्रकाशित: १५ भाद्र २०७९ ०२:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App