१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र उद्घाटन गर्ने

बुटवलमा एक अर्ब बढीको लागतमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण भएको छ। बुटवल उपमहानगरपालिकाद्वारा संरक्षित वडा नं १० रामनगरस्थित पूर्व–पश्चिम राजमार्गसँगैको बुटवल मण्डपको करिब नौ बिघा क्षेत्रफलमा केन्द्र निर्माण भएको हो।

१३ वटा वातानुकुलित सभाहलसहितको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र १ अर्ब ११ करोडको लागतमा संघीय सरकारको सहरी विकास तथा भवन निर्माण विभागले निर्माण गरेको हो। केन्द्रको शनिबार एक कार्यक्रमबीच प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ।

संघीय राजधानी बाहिरको पहिलो सुविधासम्पन्न अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र हो यो। यो सभाहल नेपालको राष्ट्रिय झन्डा आकारमा निर्माण गरिएको छ। बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण आयोजनाका प्रमुख धर्मेन्द्र पन्थीले केन्द्रमा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप ११ सय क्षमताको मुख्य हल (अडिटोरियम हल) सहित ५५० देखि ५० सिट क्षमताका ठूला–साना गरी अन्य १२ वटा हल रहेको जानकारी दिए; जसमा सेमिनार हल, मिटिङ हल, लेक्चर हल आदि छन्।

सम्मेलन केन्द्रमा, बाल उद्यान, वाटर फाउन्टेन, कर्मचारी आबास भवन, सर्भिस भवन, क्यान्टिनलगायतका आवश्यक संरचना निर्माण गरिएको छ। केन्द्रमा प्रवेश गर्न र बाहिरिनका लागि छुट्टाछट्टै ५ वटा गेट छन्। तीमध्ये एउटा भिआइपीका लागि छ। ८ सय क्षमताको पार्किङ स्थल र हेलिप्याड निर्माण गरिएको छ।

२०७१ को पुसमा निर्माण सुरु तीन वर्षमा निर्माण सम्पन्न गर्ने भनिएको सम्मेलन केन्द्र ८ वर्षमा निर्माण पूरा भएको हो। प्रदर्शनी हल निर्माण भएपछि बुटवलमा अन्तर्राष्ट्रिय स्तरका ठूला÷साना महत्वपूर्ण सम्मेलन, सेमीनार, बैठक आदि गर्न सकिने पन्थीले बताए।

नगरपालिकाद्वारा संरक्षित बुटवल मण्डपको १६ बिघा जमिनमध्ये ९.६ बिघामा सभाहल र बाँकी ६.५ बिघामा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र निर्माण गरिएको हो। निर्माण सम्पन्न भएको सभाहलको पश्चिमतर्फ १ अर्ब २ करोडको लागतमा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र निर्माणाधीन छ। प्रदर्शनी केन्द्रको भवन निर्माण अन्तिम चरणमा पुगेको र ट्रस्टको काम आगाडि बढेको आयोजना प्रमुख पन्थीले बताए। उनका अनुसार प्रदर्शनी केन्द्रको काम ६१ प्रतिशत पूरा भएको छ। प्रदर्शनी केन्द्र निर्माण भएपछि बुटवलमै राष्ट्रिय–अन्तर्राष्ट्रिय मेला–महोत्सव गर्न सकिने छ।

प्रकाशित: ११ भाद्र २०७९ ०१:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App