५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

सुदूरपश्चिम प्रदेश: सत्तागठबन्धन दलबिच भागबण्डाका लागी रस्साकस्सी

फाइल तस्बिर

नेपाल कांग्रेसका सभापती तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिममा नेपाली काग्रेस, माओवादी केन्द्र र नेकपा (एकिकृत समाजवादी) पार्टीबिच भागबण्डा मिलाउन रस्साकस्सी चलेको छ। १६ वटा प्रतिनिधी सभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशमा सबै दललले बढी सिटमा दावी गरेका छन।  

नेपाली कांग्रेसले कम्तीमा १० निर्वाचन क्षेत्र आफूले पाउनु पर्ने दावी गरेको छ भने नेकपा माओवादी केन्द्रले ५ निर्वाचन क्षेत्र र एकिकृत समाजवादीले ५ निर्वाचन पाउनु पर्ने अडान राखेका छन। मतका आधारमा नेकपा एकिकृत समाजवादी कमजोर भएपनि उस्को बढी निर्वाचन क्षेत्र मागेको नेपाली काग्रेसका एक नेताले बताए। ‘आफ्नो हैसियत भन्दा बढी निर्वाचन क्षेत्र माग्दा समस्या भैरहेको छ’उनले भने।

 नेकपा एकिकृत समाजवादीले कैलाली निर्वाचन क्षेत्र ४, अछाम निर्वाचन क्षेत्र १, डोटी र बझाङमा दावी गरेको छ। एकिकृत समाजवादीका केन्द्रिय सदस्य तथा प्रदेश समिती सचिव दिनेश सुवेदीले थप एक महाकाली बाट गरेर ५ निर्वाचन क्षेत्रमा दावी गरेको बताएका छन।

बझाङ निर्वाचन क्षेत्र र कैलाली ४ निर्वाचन क्षेत्र एकिकृत समाजवादीलाई दिने निश्चित भैसकेको छ। कमिटी सदस्य भानुभक्त जैशी र कैलाली निर्वाचन क्षेत्र ४ मा दिर्घ सोडारीका निर्वाचन लड्ने भएका छन।  

माओवादी केन्द्रले कैलाली निर्वाचन क्षेत्र, २, ३ र ४ मध्ये कुनै २ निर्वाचन क्षेत्र, कंचनपुर निर्वाचन क्षेत्र १, डोटी, बैतडी र अछाम निर्वाचन क्षेत्र २ मा दावी गरेको छ। नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष हरि चौधरी, उत्सवले ५ निर्वाचन क्षेत्र पाउनुपर्ने माग रहेको बताए। कैलालीमा पहिलो प्राथमिकता निर्वाचन क्षेत्र ३ र ४ रहेको र सहमतीमा निर्वाचन क्षेत्र २ पनि राखेको बताए।  

कैलालीबाट माओवादी केन्द्रले २ निर्वाचन क्षेत्र माग गरेको हो। माओवादी केन्द्रले निर्वाचन क्षेत्र २ र निर्वाचन क्षेत्र ३ पाउने सम्भावना देखिएको छ। यसैगरि डोटी र बैतडी निर्वाचन क्षेत्र माग गरेको भएपनि कुनै १ पाएमा चित्त बुझाउने उनको भनाइ छ।

नेपाली कांग्रेस प्रदेश समितिका महामन्त्री मेघराज खड्काले कम्तीमा १० निर्वाचन क्षेत्र नेपाली कांग्रेसले पाउनुपर्ने दावी रहेको बताएका छन। ‘हामी एक्लै चुनाव लडेपनि जित्ने निर्वाचन क्षेत्र छोड्न सकिदैन’उनले भने।

डोटी र अछाममा नेपाली कांग्रेसको मतदाता धेरै भएकोले स्वाभाविक दावी हुने बताए। यसैगरि कैलाली निर्वाचन क्षेत्र १, निर्वाचन क्षेत्र ५ मा नेपाली कांग्रेसको मात्र दावी छ। निर्वाचन क्षेत्र ५ मा देउवा पत्नी आरजु राणा चुनाव लड्ने चर्चा छ।

कंचनपुर निर्वाचन क्षेत्र २ मा नेपाली कांग्रेसका नेता एन पी साउँद र निर्वाचन क्षेत्र ३ मा नेपाली कांग्रेसका नेता रमेश लेखक चुनाव लड्ने भएका छन। डडेल्धुरामा प्रधानमन्त्री देउवा निर्वाचन लड्ने छन। यसैगरि दार्चुला, बाजुरामा नेपाली कांग्रेस चुनाव लड्ने छ ।

डोटीमा सबैभन्दा बढी सकस

तीन वटै दलका हेभीवेट नेताको निर्वाचन क्षेत्र रहेको डोटीमा तीनै दलको बलियो दावी रहेको छ। नेपाली कांग्रेसका प्रदेश कमिटी अध्यक्ष तथा पुर्व संघीय सरकारका मन्त्री बिरबहादुर बलायर, नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री त्रिलोचन भट्ट र एकिकृत समाजवादीका पुर्व मन्त्री प्रेम बहादुर आलेले डोटीको निर्वाचन क्षेत्रमा चुनाव लड्ने चाहना राखेका छन। १ निर्वाचन क्षेत्र रहेको डोटीमा तीन वटै दलको शसक्त दावी हुदाँ कसलाई भागबण्डा मिलाउन सकस भएको बताइएको छ।  

गत बैशाख ३० गतेको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले ९ स्थानीय तह मध्ये ७ मा जितेको थियो। ७ स्थानीय तह जितेको र एक्लै लड्दा पनि जित्न सकिने भन्दै नेपाली कांग्रेसले आफूले पाउनु पर्ने दावी गरेको छ भने २०७४ सालको निर्वाचनमा आले बिजयी भएकाले एकिकृत समाजवादीले पाउनुपर्ने अडान राखेको छ। मुख्यमन्त्री भैसककेकोले प्रतिनिधी सभाको चुनाव लड्ने भन्दै माओवादीका नेता भट्टले पनि लबिङ गरिरहेका छन।

बि.स.२०७४ सालमा नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनका कारण सुदूरपश्चिममा नेपाली कांग्रेसले १ निर्वाचन क्षेत्र मात्र जितेको थियो। डडेल्धुराबाट देउवाले मात्र जितेका हुन। कैलाली क्षेत्र नम्वर १ बाट राजपाका रेशमलाल चौधरीले जितेका थिए भने ११ निर्वाचन क्षेत्रमा एमाले र ३ मा माओवादी केन्द्रले जितेको थियो। कैलाली निर्वाचन क्षेत्र ३, कैलाली ४ र कंचनपुर निर्वाचन क्षेत्र १ मा माओवादी केन्द्रले जितेको थियो। अन्य निवार्चन क्षेत्रमा एमालेले जितेको थियो।

प्रकाशित: ९ भाद्र २०७९ ०४:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App