१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

मोरङमा ८ वटा मतदान स्थल थप गर्ने तयारी

मोरङमा ८ वटा मतदान स्थल थप गर्ने तयारी थालिएको छ। प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार मोरङका विभिन्न पालिकामा ८ वटा मतदान स्थल थप गर्ने तयारी थालिएको हो। 

सात वटा मतदान स्थल थप गर्न प्रदेश निर्वाचन आयोगले सिफारिस गरेर पठाइसकेको र विराटनगर–३ स्थित पूसेट क्याम्पस मतदान स्थललाई टुक्राउने विषयमा सिफारिस गरेर पठाउने तयारी गरिएको प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन कश्यक अधिकारीले जानकारी दिए। उनका अनुसार ढिलोगरी आएका कारण पुसेट मतदान स्थलको सिफारिसको तयारी गरिएको हो। 

विराटनगरको वडा नम्बर ३ मा एउटा मात्रै मतदान स्थल रहेको छ। करिब ११ हजार मतदाता रहेको यो मतदान स्थलमा मतदानका लागि ४ किलोमिटर टाढा देखि मतदाता आउन बाध्य छन्। विराटनगर–३ का माथिल्लो भेगका मतदाताले मतदान स्थल टाढा भएको  गुनासो बर्षौंदेखि गर्दै आएका थिए। तर, ढिलो सिफारिस हुन लागेकाले अझै पनि मतदान स्थल टुक्रने वा नटुक्रने भन्ने अन्योल नै रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। पुसेट मतदान स्थललाई टुक्राएर विराटनगर–३ स्थित औषधि व्यवस्था विभागमा लैजाने तयारी  छ।  

यस्तै मोरङको एउटा निर्वाचन स्थललाई भने गाभ्न प्रदेश निर्वाचन कार्यालयले सिफारिस गरेको छ। यस्तै ८ वटा मतदान केन्द्र सार्न प्रदेश निर्वाचन कार्यालयले सिफारिस गरेको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए। कार्यालयले गरेको सिफारिस अनुसार मतदान स्थल थप गर्ने र गाभ्ने निर्णय भए मोरङमा ३ सय ७ मतदान स्थल हुने छन्।  यस्तै मोरङमा ८ वटा मतदान  केन्द्र थप गर्न पनि कार्यालयले सिफारिस गरेको जनाएको छ। स्थानिय तहको निर्वाचनमा १७ पालिकाका तीन सय मतदानस्थलमा आठ सय २० केन्द्र थियो।

मोरङमा स्थानिय तहको निर्वाचन पछि २७ हजार बढी  मतदाता थपिने कार्यालयले अनुमान गरेको छ। अधिकारीका अनुसार मोरङमा  स्थानिय तहको निर्वाचन पछि फोटोसहितको मतदाता नामावलीमा २७ हजार दुई सय २५ जनाले नाम दर्ता गराएका छन्। केहि अन्य जिल्लाबाट मतदाता नामावलीसारेर आउने,१६ देखि १८ वर्ष उमेर समूहका मतदाता अन्तिम नामावलीबाट हट्ने र केहि यहाँबाट अन्यत्र सारेर जाने भएकाले अन्तिम नामावली अध्यवधिक भएपछि मात्रै यकिन तथ्याँक आउने अधिकारीले बताए। गत वैशाख ३० गते सम्पन्न पालिकाको निर्वाचनमा मोरङमा सात लाख १५ हजार दुई सय २३ मतदाता थिए। 

प्रकाशित: ५ भाद्र २०७९ १४:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App