१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

आगामी चुनावका लागि केन्द्रसँग पहुँच बढाउँदै नेताहरु

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन तीन महिना बाँकी छ। दलहरु आगामी चुनावका लागि दौडधुप थालिसकेका छन्। जिल्लामा चुनावी चर्चा पनि सुरु भएको छ। चुनावी चर्चा तातेसँगै विभिन्न दलका उम्मेदवारका आकांक्षीहरुले यतिबेला केन्द्रीय नेतासँगको भेटघाट बढाउन थालेका छन्।

आफूलाई बलियो उम्मेदवार दाबी गर्दै आकांक्षीले भेटघाट बढाएका हुन्। केही महिनाअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी लगायतका सत्ता गठबन्धनका दलहरुबीच सहकार्य हुँदा स्थानीय तहको निर्वाचनमा केही दललाई निकै नै फलिफाप भएको थियो।

दलको अवस्था निकै नै कमजोर रहँदा रहँदै पनि सत्ता गठबन्धनको आधारमा कमजोर दलले स्थानीयतहमा बाजी मार्न सफल भएका थिए। आगामी निवार्चनका लागि पनि दलहरुबीच पुनः गठबन्धन बनाउने प्रयास भइरहेको छ। संघीय र प्रदेश चुनावमा पनि सत्ता साझेदार दलहरु गठबन्धन गर्न इच्छुक देखिन्छन्।

यसअघि स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाउँदा कतिपय दलहरुमा व्यापक असन्तुष्टि पनि चुलिएको थियो। खासगरी कांग्रेसभित्र स्थानीय तहको निर्वाचनमा असन्तुष्टि बढी थियो। अहिले फेरि गठबन्धनको प्रयासका बीच नेताहरुले आफूलाई अब्बल सावित गर्ने प्रयास थालेका छन्।

गण्डकी प्रदेशका कास्की, तनहुँ, गोरखा, नवलपुर लगायतका जिल्लामा कांग्रेसभित्र स्थानीय तहको निर्वाचनमा असन्तुष्टि बढी थियो। गठबन्धन भएपनि कांग्रेसका नेताले उम्मेदवारी पाउनुपर्ने ती जिल्लामा बढी जोडबल थियो। विवाद बढ्दै जाँदा यतिसम्मको असन्तुष्टि चुलिएको थियो की एकले अर्कालाई असहयोग गर्नेसम्मको अवस्था दलहरुमा उब्जेको थियो। कांग्रेसमा मात्र नभइ अरु दलमा पनि उत्तिकै असन्तुष्टि थियो।

दिएको उम्मेदवारी खोस्ने जस्ता गतिविधिले गर्दा दलहरुमा एकअर्काबीच असहयोगको भावना पलाएको थियो। अबको तीन महिनापछि निर्वाचन हुने भएपछि जिल्लामा फेरि चुनावी माहोल सुरु भएको छ। सम्भावित उम्मेदवारबारे दलहरुबीच चर्चा हुन थालेको छ। दलहरुले मात्र नभइ स्वयं उम्मेदवार बन्न चाहेका नेताहरु पनि व्यक्तिगत भेटघाट र सम्पर्क बढाउन थालिसकेका छन्।

आफ्नो पक्षमा निर्णय गराउने दाउमा सम्भावित उम्मेदवारहरुले ‘लबिङ’ सुरु गरिसकेको दलहरुले बताएका छन्। कांग्रेस गण्डकी प्रदेशका मुख्य सचिव प्रकाश बराल चुनावी तयारी दलमा भन्दा व्यक्तिमा लागेको बताउँछन्। उनका अनुसार दलका सम्भावित उम्मेदवारहरु केन्द्रीय नेतासँगको भेटघाटमा व्यस्त हुन थालेका छन्। आकांक्षीहरु केन्द्रीय नेतासँगको भेटघाटमा व्यस्त हुन थालेको उनले बताए।

‘केन्द्रले उम्मेदवार तय गर्दा विवादरहित बनाउनुपर्छ भन्नेमा सबैको जोड छ। त्यसका लागि प्रदेशका सभापतिसहितका पदाधिकारी राजधानीमा छन्,’ बरालले भने, ‘केन्द्रको पदाधिकारी बैठकमा सबै प्रदेशका सभापति पुगेर उम्मेदवार चयन गर्दा एकरुपता कायम गर्ने प्रयास भइरहेको छ। स्थानीय तहमा जस्तो अवस्था नआओस भन्ने धेरैको चाहना छ। त्यही प्रयासबीच व्यक्तिगत भेटघाट पनि बाक्लिएको छ।’ बरालका अनुसार व्यक्तिगत रुपमा लबिङ गर्नेगरी नेताहरु राजधानी धाउन थालेका छन्।  

‘सबैले आफूलाई अब्बल उम्मेदवारको रुपमा प्रस्तुत गर्ने हुन्। राजनीतिमा गरेको योगदान देखाउँदै आफ्नो पक्षमा निर्णय गराउन धेरै नेताहरु अहिले राजधानी पुगेका छन्,’ उनले भने, ‘राजधानी धाएका नेताहरुको लर्काे देख्दा आकांक्षी धेरै नै रहेको पुष्टि हुन्छ। जिल्लास्तरका नेताको भीड अहिले काठमाडौँमा छ।’  

स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्दा दलहरुभित्रै व्यापक असन्तुष्टि रहेको र आगामी निर्वाचनमा पनि गठबन्धनको हतारोले कतिपयलाई चिन्तित बनाएको उनले बताए। ‘सबै दलले गठबन्धन चाहेका छन। कमजोर दलले त गठबन्धन चाहने नै भए, बलिया भनिएका दलले पनि गठबन्धन चाहँदा त्यसको त्रास आकांक्षीमा बढेको छ,’ उनले भने, ‘गठबन्धन भएमा कमजोर बन्ने चिन्ता नेतामा छ।’  

कांग्रेसमा मात्र नभइ एमालेमा पनि उस्तै अवस्था छ। एमालेभित्र पनि उम्मेद्वार बन्न इच्छुक नेताको लामै लिष्ट छ। ती मध्ये कतिपय खुलेरै आफूलाई आकांक्षीको रुपमा चिनाउने गरेका छन् भने कतिपयले भित्रभित्रै लबिङ सुरु गरेका छन्। एमाले गण्डकी प्रदेशका उपसचिव रश्मी आचार्यका अनुसार पार्टीले नै स्थानीय तहको निर्वाचनपछि पार्टीले विशेष प्रशिक्षण अभियान चलाउन थालेको थियो।

त्यो प्रशिक्षण अभियान अहिले तल्लोस्तरसम्म चलिरहेको छ। ‘बीचमा केही समस्या आइपर्‍यो। कतिपय अनुशासनमा पनि कमजोरी रहे। तर, अब ती सबै कमजोरीलाई सुधार्दै जाने गरी एमाले जनताको बीचमा पुगेर सुझाव लिन थालेको छ,’ उनले भने। उनका अनुसार साउन ८ गते प्रदेश स्तरीय प्रशिक्षण सुरु भएको थियो। त्यो अभियान अहिले वडासम्म पुगेको।

‘अहिले पार्टी नै लागिपरेको छ। आकांक्षी त स्वभाविक रुपमा लाग्ने नै भए,’ आचार्यले भने, ‘व्यक्तिगत रुपमा आकांक्षीले सम्बन्ध बलियो बनाएकै हुन्छन्। कतिपय खुलेरै भेटघाटमा जान्छन भने केहीले व्यक्तिगत सम्बन्धका आधारमा पनि कुराकानी गर्छन।’ त्यसबाहेक प्रदेशभित्र कसलाई उम्मेदवार बनाउँदा जीत हात पार्न सकिन्छ भन्ने खालका चर्चा हुन थालेको उनले बताए।

नेकपा एकीकृत समाजवादीका गण्डकी प्रदेशका नेता श्रीनाथ बराल पनि निर्वाचन घोषणा भएसँगै राजनीतिक माहाले तात्न थालेको बताउँछन्। उनले पार्टीका आन्तरिक संगठनात्मक कार्यक्रम सुरु भइसकेको बताए। अबको केही समयमा उम्मेदवारका सम्भावित आकांक्षीको शिफारिस गरिने उनले बताए। ‘चुनावी माहोल तात्दै गएको छ। दलहरु आन्तरिक रुपमा संगठन बलियो बनाउन थालेका छन्,’ उनले भने, ‘उम्मेदवारबारे पार्टीले नै निर्णय गर्ने हो।’

आकांक्षीले व्यक्तिगत सम्बन्धका आधारमा पहुँच पुर्‍याउने भएपनि पार्टीले नै अन्तिम निर्णय गर्ने उनले बताए। ‘व्यक्तिगत सम्बन्धका आधारमा पहुँच पुर्‍याउनु राजनीतिमा सामान्य हो, तर, अन्तिम निर्णय त पार्टीले नै गर्छ,’ उनले भने, ‘व्यक्तिगत रुपमा कुनै आकांक्षीले सम्बन्ध बढाउनु अन्यथा होइन।’

प्रकाशित: ४ भाद्र २०७९ १०:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App