coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एकीकृत समाजवादीले भदौ १५ भित्र उम्मेदवार छान्ने

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारको सिफारिस एवं  निर्णय गर्ने समय तालिका पनि तय गरेको छ।

गठबन्धन दलको बैठक चलिरहेको बेला नेकपा (एकीकृत समाजवादी) ले उम्मेदवार चयनको मापदण्ड बनाएको छ। बिहीबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले उम्मेदवार चयनका लागि ८ बुँदे मापदण्ड तयार पारेको छ।

पार्टीको तर्फबाट उठाइने प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको सिफारिस एवं छनोट गर्दा कुन आधारमा गरिने भन्ने नेकपा एकीकृत समाजवादीले मापदण्डको आधार तय गरेको हो। आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीको तर्फबाट उठाइने प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको सिफारिस एवं छनोट गर्दा आधार बनाउनका लागि आठ बुँदे मापदण्ड तयार गरेको हो।

पार्टीको कार्यदिशा, नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको, विद्रोहमा सक्रिय भूमिका खेलेका र पार्टी निर्माणमा योगदान गरेको, पार्टी र क्रान्तिप्रतिको निष्टा र अनुशासनमा दृढ रहेको, आर्थिक एवं नैतिक आचरण राम्रो रहेको, जनतामा स्थापित एवं लोकप्रिय, स्वच्छ छवि भएको र सुशासनको पक्षपाति रहेको, कार्यक्षमता राम्रो भएको र सक्रिय रहको, समावेशीताको सिद्धान्तविपरीत नहुने मापदण्ड तयार गरेको हो।

पार्टीले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारको सिफारिस एवं निर्णय गर्ने प्रक्रिया पनि तय गरेको छ। प्रतिनिधिसभाको सदस्यमा प्रत्यक्ष तथा समानुपातिकतर्फको उम्मेदवार बनाउनका लागि पार्टीको प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीले कम्तीमा एक महिलासहित बढीमा चारजनाको नाम जिल्ला कमिटीमा सिफारिस गनुपर्ने छ।

जिल्ला कमिटीले सो चारजनामध्येबाट कम्तीमा एक महिलासहित बढीमा तीनजनाको नाम प्रदेश कमिटीमा सिफारिस गर्ने, प्रदेश कमिटीले उक्त तीनजनाप्रतिको आफ्नो धारणासहित केन्द्रमा पठाउने र केन्द्रीय कमिटीले मातहत कमिटीबाट सिफारिस भएर आएका तीनजनामध्येबाट प्रत्यक्ष वा समानुपातिकतर्पmको उम्मेदवार बनाउन निर्णय गर्नेछ।

त्यस्तै प्रदेश सभाको सदस्यमा प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवार बनाउनका लागि पार्टीको प्रदेशसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीले कम्तीमा एक महिलासहित बढीमा चारजनाको नाम जिल्ला कमिटीमा सिफारिस गर्नेछ। जिल्ला कमिटीले सो चारजनामध्येबाट कम्तीमा एक महिलासहित बढीमा तिनजनाको नाम प्रदेश कमिटीमा सिफारिस गर्ने र प्रदेश कमिटीले ती तीन जनाप्रतिको आफ्नो धारणासहित केन्द्रमा पठाउनेछ।

त्यसैगरी एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा जिल्ला कमिटीले नै प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीको काम गर्नेछ। यदि कुनै जिल्लामा निर्वाचन क्षेत्रीय समन्वय कमिटी नबनेको भए एक हप्ताभित्र सो कमिटी गठन गरी सिफारिससम्बन्धी काम गर्ने, विशेष प्रदेश र विशेष जिल्ला कमिटीले पनि समानुपातिक उम्मेदवारका लागि एक महिला र एक पुरुषको नाम सिफारिस गर्नसक्ने छन्, केद्रीय कमिटीले मातहत कमिटीबाट सिफारिस भएका र केन्द्रको अभिलेखमा रहेका नामबाट छनोट गरी बन्दसूची तयार गर्ने, उम्मेदवारसम्बन्धी निर्णय सकेसम्म कमिटीको पूर्ण बैठकबाट गर्ने, पूर्ण बैठक बस्न सम्भव नभएमा सचिवालयको बैठकबाट गर्ने, कुनै निर्णय विवादित भएमा एक तह माथिल्लो कमिटीले छानबिन गरी फैसला गर्ने समेत उल्लेख गरेको छ।

यसैगरी, आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारको सिफारिस एवं निर्णय गर्ने समय तालिका पनि तय गरेको छ। प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले २०७९ भदौ १० गतेभित्र जिल्ला कमिटीमा सिफारिस गरिसक्ने, जिल्ला कमिटीले २०७९ भदौ १२ गतेभित्र प्रदेश कमिटीमा सिफारिस गरिसक्ने, प्रदेश कमिटीले २०७९ भदौ १५ गतेभित्र केन्द्रमा सिफारिस गरिसक्ने, केन्द्रीय कमिटीले २०७९ भदौ २० गतेभित्र निर्णय गरिसक्ने जनाइएको छ।

प्रकाशित: ३ भाद्र २०७९ ०४:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App