८ वैशाख २०८१ शनिबार
राजनीति

गौतमको जोखिमपूर्ण यात्रा

फाइल तस्बिर

केही समययता राष्ट्रिय राजनीतिबाट करिब–करिब बाहिर रहेका राष्ट्रियसभा सदस्य वामदेव गौतम माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडाबाट संघीय निर्वाचनमा भाग लिने भएपछि चर्चामा आएका छन्। प्रधानमन्त्री बन्ने उत्कट आंकाक्षासहित संसद्को निर्वाचनमा भाग लिने भएकाले उनी चर्चामा आएका हुन्।

आगामी संघीय प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो जित सुनिश्चित हुने भएपछि गौतमले मंगलबार नै नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएको बताए। राष्ट्रियसभामा चारबर्से कार्यकाल बाँकी हुँदा नै गौतमले पुरानो निर्वाचन क्षेत्रसमेत त्यागेर प्युठान रोजेका छन्। २०७० सालको निर्वाचनमा प्युठानबाट जितेका गौतमले यसपटक पनि प्युठान रोजेका हुन्। २०७४ मा बर्दियाबाट चुनाव लडेका गौतम पराजित भएका थिए।  

सत्तारुढ दलबीच गठबन्धन भए प्युठानमा एमालेले सहजै निर्वाचन जित्ने अवस्था छैन। स्थानीय तह निर्वाचनमा भने एमालेले गठबन्धनकै हाराहारीमा मत ल्याएको देखिन्छ। नौ स्थानीय तहमध्ये दुईवटामा एमालेले जित निकालेको थियो। स्थानीय तहमा कांग्रेससहित माओवादी र नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले गठबन्धन गर्दा पनि मतपरिणाममा एमाले कमजोर देखिएको छैन।

कांग्रेसले २२ वडासहित ३ पालिका प्रमुख र ४ उपप्रमुख जितेको छ ।

माओवादी केन्द्रले १० वडासहित ३ पालिकामा प्रमुख र १ उपप्रमुखमा जितेको छ। एमालेले २० वडासहित २ वटा पालिकामा प्रमुख र उपप्रमुख जितेको छ। बाँकी सबै स्थानमा एमाले दोस्रो स्थानमा रहेको थियो।‘प्युठानमा एमालेको वर्चश्व कायमै छ। गठबन्धनकै कारण स्थानीय तहमा कांग्रेस र माओवादीले सिट बाँडेर चुनाव जितेका हुन्। संघीय संसद्मा भने फरक अवस्था हुन्छ’, प्युठान एमालेका एक नेताले भने।  

गठबन्धनकै भरमा प्युठानबाट निर्वाचन लड्ने तयारीमा रहेका गौतमको यात्रा भने निकै जोखिमपूर्ण छ। २०७४ सालमा गौतमले प्युठानलाई असुरक्षित ठानेर बर्दिया रोजेका थिए, तर कांग्रेसका सञ्जय गौतमले पराजित गरिदिए। ‘२०७४ पछि गौतमले प्युठान टेकेकै छैनन्। उनी राष्ट्रिय राजनीतिमै व्यस्त रहे’, विगतमा गौतमनिकट एक नेताले भने।

गौतम प्युठान गए भने कुनै समय उनीसँग निकट भएका र उनकै सचिवालयमा बसेर काम गरेका दुई व्यक्तिसँग चुनावी जम्काभेट हुनेछ। एमाले पोलिटब्युरो सदस्य सूर्य थापा र प्युठान अध्यक्ष विजयविराज विष्ट कुनै बेला गौतमका निकटस्थ हुन्। थापाले २०७० सालको निर्वाचनमा गौतमलाई प्युठानबाट निर्वाचन जिताउन प्रमुख भूमिका खेलेका थिए। त्यस्तै गौतम उपप्रधानमन्त्री हुँदा विष्टले स्वकीय सचिवालयमा बसेर काम गरेका थिए। हाल दुवैजना प्युठानमा छन्।  

बेलाबेलामा बोली फेरिरहने गरेकाले गौतमलाई उनी निकटले पनि विश्वास गर्न छाडेका छन्। गौतमले २०५४ सालमा एमाले विभाजन गरेर माले निर्माण गरेका थिए। २०५६ सालको आमनिर्वाचनमा गौतमको पार्टीले एउटा पनि सिट जित्न नसकेपछि उनी २०५७ सालमा एमालेमै फर्किएका थिए। त्यसयता निरन्तर एमालेमा क्रियाशील गौतम एमालेबाटै तीनपटक उपप्रधानमन्त्री र गृहमन्त्री भएका थिए। राजनीतिक जीवनमा निकै अस्थिर रहेका गौतमले मंगलबार निर्वाचन आयोग पुगेर चुनाव जित्ने आधार गठबन्धन भएकाले माओवादी पार्टीको चुनाव चिह्न लिएको दाबी गरेका छन्। 

माओवादी केन्द्रको तर्फबाट चुनाव जितेपछि संसद्मा आफ्नो भूमिका स्वतन्त्र उम्मेदवारका रूपमा रहने उनले बताए। ‘हामी गोलाकारभित्र हँसिया हथौडा चुनाव चिह्न लिएर चुनावमा जाने भन्ने प्रचण्ड (पुष्पकमल दाहाल) र मबीच सहमति भयो, समझदारी बन्यो, त्यसअनुसार जाँदा कानुनी प्रक्रिया के छन्, भोलि गाह्रो पर्ने हो कि, सजिलो हुन्छ कि, कसरी मिल्न सक्छ भन्ने सन्दर्भमा कानुन विभागका प्रमुखसँग सल्लाह गर्न आएको हुँ, माओवादी केन्द्रका तर्फबाट चुनाव लडे पनि म स्वतन्त्र हो। त्यसैअनुसार म भूमिका निर्वाह गर्छु सदनमा’, उनले भने।

गौतमले नेकपा एमालेको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्दा हार्ने सुनिश्चित रहेको बताए। हँसिया हथौडाको पछाडि गठबन्धन रहेको र गठबन्धन अनेक हिसाबले सबैभन्दा अगाडि रहेको उनले दाबी गरे। ‘सूर्य चिह्न लिएर गएँ भने म हार्छु। त्यसैले जित्नका लागि पनि म यसमा आएको छु। जित्ने आधार भनेको गठबन्धन हो। हँसिया हथौडाको पछि गठबन्धन छ, गठबन्धन अनेक हिसाबले अरू गठबन्धन र पार्टीभन्दा अगाडि छ’, उनले भने।

प्रकाशित: १ भाद्र २०७९ ०१:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App