९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

सरकार बिचौलियाहरुबाट कमाउने धन्दामा लागि परेको छ: एमाले सांसद सुनुवार

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद यज्ञराज सुनुवारले सरकार बिचौलियाहरुबाट कमाउने धन्दामा लागि परेको आरोप लगाएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले नेताहरु चुनावका लागि चन्द संकलनमा व्यस्त रहेको, कर्मचारीहरु कमिशनमा चलेको, ठेकेदारहरु कामै नगरी कमाउने धन्दामा लागेको भन्दै आपत्ति समेत जनाए। सांसद सुनुवारले ढिलासुस्ती र कमजोर काम गर्ने ठेकेदारहरुलाई कारबाही हुने गरी कानुनी व्यवस्था गर्न तत्काल सार्वजनिक खरिद ऐन संशोधन गर्न पनि सरकारलाई दबाब दिए।  

आफूले प्रतिनिधित्व गरेको ओखलढुंगा जिल्लामा समेत विकास, निर्माणका कामहरुमा ढिलाई रहँदा पनि सरकारले कुनै चासो नदिएको उनको गुनासो थियो।  

सांसद सुनुवारले भने, ‘सरकार विचौलियाहरुबाट कमाउन व्यस्त छ। नेताहरु चुनावका लागि चन्द संकलनमा मस्त । कर्मचारीहरु कमिशनमा रमाउने, अनि ठेकेदारहरु काम नगरी कमाउने। आजको मुलुकको अवस्था, मुलुकका थिति यहाँ पुगेको छ भन्ने कुरा समाजमा उठन थालेको छ। आज जुन ढंगले हामीले गति दिनुपर्ने थियो, हामीले भनेका थियौ–सार्वजनिक खरिद ऐन यो संसदमा ल्याइयोस्। त्यसमा आमूल परिवर्तनको खाँचो छ। राम्रो काम गर्ने पुरस्कार, ढिलासुस्ती र कमजोर काम गर्नेहरुलाई कारबाही हुनु पर्दछ भनेर हामीले भनेका थियौं। तर त्यसो हुन सकिरहेको छैन । मेरो जिल्ला ओखलढुंगामा समेत थुप्रै सरकारी भवनहरु, सडक कालोपत्रे लगायतका स्तरोन्नति गर्नुपर्ने अनि विद्यालय भवनहरु, सँगसँगै स्वास्थ्यका भवनहरु अनि पुलहरु, सडकहरु निर्माणमा जुन प्रकारले ढिला भईरहेको छ । यसले नागरिकलाई त्यहाँका जनतालाई ठूलो मार परिरहेको कुरा मैले पटकपटक उठाईरहेको छु। ’

सांसद सुनुवारले पुलपुलेसाहरुको आवश्यक व्यवस्था सरकारले मिलाउन नसक्दा जनता मारमा परिरहेको पनि बताए।

प्रकाशित: २९ श्रावण २०७९ ०८:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App