१४ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

संसद विघटनको कुनै सम्भावना छैन: उपसभामुख

प्रतिनिधि सभाकी उपसभामुख पुष्पा भुसाल गौतमले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराबिरुद्धको महाअिभयोग संसदको यही अधिवेशनमा अघि बढ्ने बताएकी छन्।

उनले महाअभियोगको विषयलाई संसदबाट नै विशेष छलफल गरेर अघि बढ्न आवश्यक रहेको बताइन्। उनले प्रतिनिधि सभाको आगामी बैठकमा महाअभियोगको कार्यसूची राख्ने र संसदमा छलफल गरी महाअभियोग समितिमा संसदबाट प्राप्त सुझाव महाअभियोग समितिमा पठाउने बताइन्। उपसभामुख भुसालले संसदबाट प्राप्त सुझावका आधारमा निलम्वित प्रधानन्यायाधीश जबराबिरुद्धको महाअभियोग अघि बढाउन आवश्यक रहेको बताइन्। 

जबराबिरुद्धको महाअभियोगका लागि समिति गठन भइसकेको भन्दै उनले समितिले आफ्नो काम सुरु गर्नुपूर्व नै संसदमा यसमाथि छलफल गर्न आवश्यक रहेको बताइन्। उनले संसदमा प्राप्त सुझावलाई समितिमा पठाउनका लागि पनि महाअभियोगलाई कार्यसूचीमा राखेर छलफल गर्न आवश्यक रहेको बताइन्। उनले निलम्वित प्रधानन्यायाधीश जबराबिरुद्धको महाअभियोग समितिबाट जति चाँडो संसदमा आउँछ त्यति नै छिटो यो विषयको टुंगो लाग्ने बताइन्।  

उनले भनिन्, ‘संसद विघटनको कुनै सम्भावना छैन। संविधानले अहिलेको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठन भएको छ। त्यसले विघटनको परिकल्पना गरेको छैन। किनभने यो नयाँ अभ्यासमा अघि बढीरहेको छ। यो भोलिको लागि नजिर बन्ने विषयवस्तु पनि हो। महाअभियोगको जुन प्रश्ताव दर्ता भयो, यसलाई संसदबाट नै घनिभुत ढंगबाट छलफल गरेर सुझावसहित जानुपर्छ। महाअभियोग विशेष समिति पनि गठन भइसकेको अवस्था छ। समिति गठन भइसकेको कारणले निश्चय नै त्यो समितिले आफ्नो काम सुरु गर्नुभन्दा अगाडि नै संसदभित्र नै यो विषयलाई छलफलको विषय बनाउनु पर्छ।'

उपसभामुख गौतमले आगामी निर्वाचनको लागि मनोनयन दर्ता गर्ने दिनसम्म संसदको आयु रहने बताउइन्। उनले संविधानले सभामुख र उपसभामुखको मात्रै म्यादको कुरा गरेकोले सभामुख र उपसभामुख संसदबाटै उत्पत्ति हुने भएकोले सोहीअनुसार नै संसदको आयु रहने बताइन्। उनले आगामी निर्वाचनको मनोनयन दर्ताको दिनसम्म मात्रै संसदको अवधि रहने भन्दै सबै सांसद र संसदको लागि यसले आगामी दिनमा नजिर बसाल्ने बताइन्।

उपसभामुख भुसालले सबै सांसद र संसदको लागि एकै किसिमको नियम हुनुपर्ने कुरामा छलफल र वहस भइरहेको बताइन्।

प्रकाशित: १९ श्रावण २०७९ ०८:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App