१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

‘सहमति कार्यान्वयनको साटो पक्राउ पुर्जी’

सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्नुको साटो ललितपुर जिल्ला अदालतले महासचिव नेत्रविक्रम चन्दसहितका नेताहरूका नाममा पक्राउ पुर्जी जारी गरेको छ। हिंसात्मक आन्दोलनको बाटो छाडी शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धता जनाए पनि जिल्ला अदालतले पक्राउपुर्जी जारी गरेसँगै चन्द नेतृत्वको समूह सरकारसँग रुष्ट बनेको छ।

सरकारसँग भएको सहमति कार्यान्वयन गर्नुको साटो ललितपुर जिल्ला अदालतका नाममा जारी भएको सूचनाप्रति असन्तुष्टि जनाउँदै चन्द नेतृत्वको समूहले पूर्वसहमति कार्यान्वयनमा नआए मुलुकमा गम्भीर अवस्था आउने चेतावनी दिएको छ। प्रवक्ता खड्गबहादुर विश्वकर्माले सोमबार विज्ञप्ति जारी गर्दै तीनबुँदे सहमतिविरुद्ध सरकार र राज्य उत्रिएको आरोप लगाएका छन्। तीन बुँदे सहमति तदारुकताका साथ कार्यान्वयन गर्न माग गर्दै विश्वकर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सहमति कार्यान्वयन गरिएन भने हाम्रो पार्टी हातमा दही जमाएर नबस्ने चेतावनी शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार र राज्यका अधिकारीहरूलाई दिन चाहन्छौं।’

पार्टी एकीकृत जनक्रान्तिको संवेदनशील प्रक्रियामा रहेको भन्दै सहमति कार्यान्वयनमा सरकार जिम्मेवार नभए भविष्यमा जुनसुकै अवस्था आउने पनि चेतावनी दिएको छ। राष्ट्रिय स्वाधीनता, जनअधिकारका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक विकासलगायत मुद्दाको समाधानका लागि वार्ता र सहमति गरिएको भन्दै उसले त्यसप्रति आफूहरू प्रतिबद्ध रहेको जनाएको छ। 

तर, जिल्ला अदालत ललितपुरले सोमबार जारी सार्वजनिक सूचनामा हातहतियार तथा खरखजाना, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध, आपराधिक लाभ र संगठित अपराधको कसुरमा नेत्रविक्रम चन्दसहितका नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको बताएको छ। चन्दका साथै नेताहरू खड्कबहादुर विश्वकर्मा, नन्दा विश्वकर्मा, उदयबहादुर चलाउने, धर्मेन्द्र बास्तोला, पदमबहादुर राई, सन्तोष बुढामगर, मोहनबहादुर कार्की, टेकबहादुर केसीसहितका नाममा पक्राउ पुर्जीको सार्वजनिक सूचना जारी गरेपछि फेरि राज्य र चन्द नेतृत्वको नेकपासँगको विवाद सतहमा आएको छ।

प्रकाशित: १७ श्रावण २०७९ ०३:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App