१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पोखरामा महानगर प्रमुख सम्मेलन: महानगरका न्यूनतम मापदण्ड पूरा गर्नु पहिलो आवश्यकता

मेयर सम्मेलनमा सहभागि हुन पोखरा आइपुगेका देशका पोखरासहित छ वटै महानगरका प्रमुख तथा उपप्रमुखहरु। तस्बिर: उमेश पुन/नागरिक

छ वटै महानगर प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतहरुको पोखरामा सम्मलेन सुरु भएको छ। पोखराको बाराही होटलमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पाँच वटा प्रमुख शहरका प्रमुख र उपप्रमुख एवं प्रशासकीय अधिकृतलाई स्वागत गरे।

स्वागतपछि विषयगत छलफलको लागि छ वटै महानगरका प्रमुखहरुसहितको टोली सराङकोट प्रस्थान गरेका छन्। महानगर प्रमुखहरुको छलफललाई ‘मेट्रो मिट नेपाल’ नाम दिइएको छ। पोखरा, भरतपुर, काठमाडौँ, ललितपुर, वीरगन्ज र विराटनगर महानगर प्रमुख तथा उपप्रमुखको उपस्थिति रहेको छ।

‘समुन्नत महानगरका निम्ति समन्वयीक विकास र साझेदारी’ नाराका साथ पोखरा महानगरका प्रमुख धनराज आचार्यको प्रस्तावमा नेपालमै पहिलो पटक महानगर सम्मेलन २०७९  आयोजना गरिएको हो। सम्मेलन शनिबार टुंगिने छ। पोखरा घोषणापत्र सार्वजनिक गर्दै सम्मेलन टुंग्याइने पोखरा महानगरपालिकाले जनाएको छ।

आगामी सम्मेलन जिम्मेवारी ललितपुर महानगरपालिकाले लिएको छ। संघ र प्रदेश सरकारसगँ समन्वयात्मक भूमिका निर्वाह गर्दै महानगरका न्यूनतम मापदण्ड पुरा गर्नु पहिलो आवश्यकता रहेको पोखरा महानगर प्रमुख मेयर आचार्य बताउँछन्।

उनका अनुसार महानगरले गर्ने कार्यसम्पादन, स्रोत साधनको उपयोग तथा परिचालनका विषयमा रहेको विद्यमान कानुन र गर्नुपर्ने सुधार समेत छलफलको विषय बन्ने छ। महानगरस्तरबाट प्रवाह हुने सेवा, काम कारबाही तथा विकास निर्माणका कार्यहरूलाई थप सबल, सशक्त र गुणस्तरयुक्त कसरी बनाउन सकिन्छ भन्ने विषयमा अनुभव तथा धारणाहरू समेत छलफल गरी निष्कर्ष निकालिने छ।

सम्मेलनमा महानगरहरू बीच आन्तरिक पर्यटक आदानप्रदान, स्थानीय उत्पादन र बजारीकरण, स्थानीय स्रोत साधनको व्यवस्थित परिचालन, महानगरका योजना, चुनौती र व्यवस्थापनबारेमा पनि छलफल हुने पोखरा महानगर प्रमुख आचार्यको भनाइ छ।

जनहित र सामाजिक कार्यका साथै विकासका मोडलमा एकरूपता कायम गर्ने, सूचना प्रविधि र सञ्चारको आदानप्रदान गर्ने लगायतका साझा सवाललाई सम्मेलनमा उठाइ ठोस निचोडामा पुगिने छ। सम्मेलनले साझा अवधारणा तयार पारी ‘पोखरा घोषणापत्र’ पनि सार्वजनिक गर्नेछ।

आगामी २०८० सालको महानगरपालिका मेयर सम्मेलन भने ललितपुर महानगरपालिकाले आयोजना गर्नेछ। जसका लागि महानगर मेयर सम्मेलन’ को लोगो अङ्कित झण्डा ललितपुरलाई हस्तान्तरण गरिनेछ।

प्रकाशित: १३ श्रावण २०७९ १०:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App