१३ पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

दश वर्षपछि कर्णाली जान हानाथाप हुनेछः मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पर्यटकीय क्षेत्र, धार्मिक क्षेत्र, विद्यालय र अस्पतालहरुमा निःशुल्क वाईफाई जडान गर्ने बताएका छन्।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समिति बैठकमा नेपाल टेलिकमको सेवाको गुणस्तरको बारेमा बोल्दै मन्त्री कार्कीले यस्तो बताएका हुन्। उनले आगामी दिनमा नयाँ नीति र कार्यक्रम अनुसार मन्त्रालय अगाडि बढ्ने बताए। मन्त्री कार्कीले नेपाल सूचना र सञ्चारको क्षेत्रमा कमजोर नभएको पनि बताए। 

उनले नेपाल सूचना र सञ्चारको क्षेत्रमा एशियामा नै कमजोर नभएको तर सन्तोष हुने अवस्था पनि नरहेको बताए। मन्त्री कार्कीले सञ्चार क्षेत्रको विकास गर्न सबैको जिम्मवारी रहेको भन्दै जिम्मेवारीबाट कोही पनि पछि हट्न नहुने बताए। उनले सरकार सूचना र सञ्चार क्षेत्रको विकास गर्न सधैँ तत्पर रहेको जिकिर गरे। 

मन्त्री कार्कीले नेपाल टेलिकमले आम नागरिकलाई ईसिम कार्ड सेवा बिस्तार गर्ने तयारीमा रहेको पनि जानकारी दिए। उनले सञ्चारको क्षेत्रमा सन्तुलित विकास नगरी समग्र मुलुकको विकास गर्न नसकिने दाबी गरे। मन्त्री कार्कीले सरकारले चाँडै महत्वपूर्ण पर्यटकीय क्षेत्रहरु,धार्मिक क्षेत्रहरु,विद्यालय र अस्पतालहरुमा निःशुल्क इन्टरनेट जडान गर्ने नीति अगाडि बढाउने चरणमा रहेको उल्लेख गरे।

सञ्चारमन्त्री कार्कीले नेपालमा पर्यटन र जलस्रोतको सम्भावना भएजस्तै सूचना र प्रविधिको पनि धेरै ठूलो सम्भावना रहेको बताए। उनले सूचना र प्रविधिको क्षेत्रबाट नेपालले उल्लेख्य विदेशी मुद्रा आर्जन गर्नसक्ने सम्भावना रहेको भन्दै यो क्षेत्रको विकास गर्न जरुरी रहेको बताए। 

मन्त्री कार्कीले नेपालमा सञ्चार प्रविधिको विकास गर्न नीतिगत समस्या नभएपनि  कार्यान्वयनको समस्या रहेको बताए। मन्त्री कार्कीले आगामी १० वर्षपछि दुर्गम भनिएको कर्णाली प्रदेशमा जानको लागि हानाथाप हुने गरेर नीति तर्जुमा गरिरहेको दाबी गरे।

सञ्चार मन्त्री कार्कीले सञ्चार मन्त्रालय नेपाल टेलिकमको टावरको सेवा पुर्‍याउन कर्णाली र तराईका ८ जिल्लालाई पहिलो प्राथमितामा राखेर अगाडि बढेको उल्लेख गरे।

प्रकाशित: १२ श्रावण २०७९ १४:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App