७ वैशाख २०८१ शुक्रबार
राजनीति

लुम्बिनी प्रदेशः मन्त्री फेरबदलको कसरतमा काँग्रेस

गत वर्ष साउन २८ गते माओवादीका कुलप्रसाद केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्री चयन हुँदा गठबन्धनमा आवद्ध दलहरुका बीचमा ‘भद्र’ सहमति भएको थियो ‘सरकार आलोपालो चलाउने।’ यो सहमति अनुसार गठबन्धनका मुख्य दुई दल माओवादीले आधा अवधि र कांग्रेसले बाँकी आधा सरकारको नेतृत्व गर्न भन्ने थियो।

उक्त सहमति अनुसार केसी नेतृत्वको सरकारको अवधि भनेको गत फागुनसम्म मात्रै थियो। तथापि केसी नेतृत्वको सरकार फेरबदल भएन। आधा अवधि सरकारको नेतृत्व पर्खाइमा रहेको काँग्रेसले यसका लागि पहल भने नगरेको हैन। तथापी सत्ताको नेतृत्वमा रहेको माओवादीले सत्ताको नेतृत्व कांग्रेसलाई बुझाउन राजी भएन।

सत्ताको नेतृत्व फेरबदल गर्न खोज्दा माहोल बिग्रने र गठबन्धन सामेल भएको सत्ता नै गुम्ने खतरा माओवादीले औँल्याइदियो। त्यसोत, नेतृत्व परिवर्तन गर्न खोज्दा जनता समाजवादी पार्टी भड्किन सक्ने खतरा कांग्रेस माओवादी दुवैले देखेका थिए। किनकी एमालेले जसपालाई मुख्यमन्त्री दिएर सत्ता सहकार्य गर्ने प्रस्ताव जसपालाई गरिसकेको थियो।

फलतः जसपाले सत्ताको नेतृत्व परिवर्तन गर्नुपर्ने अवस्थामा मुख्यमन्त्री आफ्नो भागमा पर्नु पर्ने अडान राख्न सुरु गरिसकेको थियो। गत फागुनदेखि सत्ताको नेतृत्व कुरेर बसिरहेको कांग्रेस अहिले भने मुख्यमन्त्री प्राप्तीको दौडबाट टाढा जस्तै बनिसकेको छ। मुख्यमन्त्रीको दौडबाट बाहिरिएको कांग्रेसले मन्त्री हेरफेरको अर्को दौड थालेको छ।

सकभर मुख्यमन्त्री नै परिवर्तन हुनुपर्ने अन्यथा मन्त्री भने फेरबदल गर्नुपर्ने भन्दै कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता बिरेन्द्र कनौडिया अहिले शीर्ष नेतासँगको लबिङमा छन्। हाल यसै लबिङका लागि काठमाडौँमै रहेका नेता कनौडियाले भने ‘मेरो शिर्ष नेताहरुसँग भेट भैरहेको छ, अँझै केही नेताहरुसँग भेट्न बाँकी नै छ।’

उनले अबको एक दुई दिनमै मन्त्री हेरफेर वा मुख्यमन्त्री परिवर्तनको कुरा टुंगो लाग्ने बताए। ‘राजनीतिक समिकरण कसरी अगाडि जान्छ, त्यही अनुसार निर्णय हुन्छ,’ उनले भने ‘अहिले यही नै हुन्छ भन्ने छैन, तर मुख्यमन्त्री फेरबदल नभएपनि मन्त्रीहरु भने फेरबदल हुन्छन्।’

काँग्रेसका अर्का सांसद शंकर गिरीले पनि मन्त्री फेरबदलको प्रयासमा कांग्रेस रहेको बताए। संसदीय दलका नेता मन्त्री हेरफेरका लागि शीर्ष नेताहरुसँगको लबिङमा रहेको बताए। साथै मुख्यमन्त्री कुलप्रसाद केसी पनि मन्त्री फेरबदलका लागि सहमत भएको उनको भनाइ छ। ‘हाम्रो पार्टीमा मन्त्री हेरफेरको समस्या छैन,’ मुख्यमन्त्री केसीको भनाई उदृत गर्दै गिरीले भने ‘उहाँसँगको छलफलका क्रममा उहाँ मन्त्री हेरफेरमा आफू सकारात्मक रहेको बताउनु भएको छ।’

यता माओवादीका मन्त्रीहरुले भने अहिले मन्त्री फेरबदलको सम्भावना नरहेको बताउँछन्। पार्टीका शीर्ष नेताहरुको निर्णयका आधारमा मन्त्री फेरबदल हुने र त्यो सम्भावना नरहेको एक मन्त्रीले बताए।

‘कांग्रेसका नेताहरु अहिले मन्त्री हेरफेरका लागि पहल गरिरहनु भएको छ,’ ति मन्त्रीले भने ‘तर अहिले मन्त्री फेरबदल हुने सम्भावना छैन, फेरि शीर्ष नेताहरुको निर्णयका आधारमा मात्रै यो सम्भव हुने कुरा पनि हो।’ तथापि शीर्ष नेताहरुले मन्त्री हेरफेरका लागि निर्णय लिएको खण्डमा यो प्रदेशका मन्त्रीहरु परिवर्तन हुने छन्।

प्रकाशित: ११ श्रावण २०७९ १३:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App