८ वैशाख २०८१ शनिबार
राजनीति

एमाले मिसन: दुई पार्टी प्रणाली

संघीय संसद्को निर्वाचन मिति घोषणा गर्ने तयारी भइरहेका बेला एमालेले नेपालमा दुईवटा मात्रै पार्टी हुनुपर्ने धारणा राखेको छ। एमाले महासचिव शंकर पोखरेलले जति धेरै पार्टी भए, मुलुकमा त्यति नै धेरै अस्थिरता बढ्ने भएकाले राजनीतिलाई सही दिशातर्फ लैजान दुईवटा मात्र पार्टी भए उपयुक्त हुने बताएका हुन्।  

पार्टी प्रचार विभागद्वारा बुधबार आयोजित कार्यक्रममा महासचिव पोखरेलले भने, ‘जति धेरै पार्टी, त्यति धेरै समस्या देखिएकाले यसलाई रोक्न लोकतान्त्रिक प्रणालीमा दुईवटा मात्र पार्टी राख्नुपर्छ।’ उनले युरोप, अमेरिकामा पनि दुईवटा पार्टी सिस्टम भएको र नेपालमा पनि एउटा मुभमेन्ट कांग्रेसले गर्दा हुने र अर्को मुभमेन्टको नेतृत्व एमालेले गर्दा हुने धारणा राखे। ‘मुलुकको राजनीतिमा जति साना दलहरू हाबी हुन्छन्, त्यति मुलुकले सही बाटो समाउन सक्दैन। यहाँ तेस्रो÷चौथो पार्टी प्रधानमन्त्री खोज्न हिँडिराखेको, भौंतारिराखेको देखिएको छ, यो देख्दासुन्दा नेपालको लोकतन्त्रले सही बाटो समातेको छैन,’ उनले भने।

जति धेरै पार्टी, त्यति धेरै समस्या देखिएकाले यसलाई रोक्न लोकतान्त्रिक प्रणालीमा दुईवटा मात्र पार्टी राख्नुपर्छ।– शंकर पोखरेल, महासचिव

पोखरेलका अनुसार अहिले साना पार्टीले पनि सत्तामा भाग खोज्ने र बार्गेनिङ गर्ने गरेका छन्। यो समस्या कसरी हटाउन सकिन्छ भन्नेमा एमाले लागेको उनले बताए। ‘१२ प्रतिशत जनमतलाई प्रभावित गर्न सामथ्र्य नराख्ने पार्टीका नेता प्रधानमन्त्री बन्न देशविदेश दौडाहामा कुद्नुभएको छ। योभन्दा लज्जाजनक लोकतन्त्रमा के हुन्छ ?’ पोखरेलले भने। उनले एउटा ध्रुवको नेतृत्व एमालेले गर्न सक्ने र अर्को धु्रवको नेतृत्व कांग्रेसले गर्नसक्ने भएकाले पनि यो प्रस्ताव राखेको बताए।  

महासचिव पोखरेलले पार्टी कमिटीका बैठक र कार्यक्रममा पनि मुलुकमा दुई पार्टीको वकालत गर्दै आएका छन्। २०७८ फागुन १५ गते एमाले दोलखा काठमाडौं सम्पर्क मञ्चको ११औं सम्मेलन उद्घाटन कार्यक्रम सम्बोधनका क्रममा पनि पोखरेलले नेपालमा दुई दलीय प्रणालीको वकालत गरेका थिए। सो कार्यक्रममा पनि उनले नेपालमा धेरै पार्टी भएका र तिनले समस्या निम्त्याएको बताएका थिए।  

‘जति धेरै पार्टी, त्यति धेरै अस्थिरता, जति धेरै पार्टी, त्यति धेरै झैझगडा हुने गरेको छ, यसलाई रोक्न अब नेपाली राजनीति वा लोकतान्त्रिक प्रणालीलाई टु पार्टी सिस्टमतर्फ लैजान जरुरी छ,’ पोखरेलले भनेका थिए।  

गत चैत ३ मा अखिल नेपाल महिला संघले काठमाडौंमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा पनि पोखरेलले दुई पार्टीको विषयमा वकालत गरेका थिए। ‘अहिले मुलुकमा थुप्रै साना पार्टी छन्। ती पार्टीलाई चुनाव जित्न नसक्ने तहमा पुर्‍यायौं भने बिलाएर जान्छन्। अब गर्ने यही हो। साना पार्टीलाई चुनावमा हराइदिने र ती दलका नेता छाडेर कार्यकर्तालाई एमालेमा बोलाउने तरिका अपनाउनुपर्छ,’ उनले भनेका थिए।  

अहिलेको सत्ता गठबन्धनबाट मुलुकको अवस्थामा परिवर्तन नहुने भन्दै महासचिव पोखरेलले ढिलोचाँडो दुई पार्टी प्रणालीमा जानुपर्ने धारणा राखेका थिए। जनमत गुमाएका दलले शासन गर्ने दिनको अन्त्यका लागि पनि दुई पार्टी प्रणाली आवश्यक भएको उनको तर्क छ।  महासचिव पोखरेलको भनाइमा एमालेले भने कुनै प्रतिक्रिया जनाएको छैन। एमाले आफैं बहुदलीय जनवादको नीति तथा कार्यक्रम बोकेर जनतामाझ गइरहेको छ। जबजले बहुदलीय व्यवस्थालाई अंगीकार गरेका बेला महासचिव पोखरेलले दुई पार्टी सिस्टमबारे वकालत गरिरहेका छन्। एमाले महासचिवले यस्तो धारणा सार्वजनिक गरेपछि पार्टीको आधिकारिक तहबाट खण्डन नहुँदा यो विषय भावी अजेन्डाका रुपमा अघि बढ्ने संकेत मिलेको एमालेका एक नेताले बताए।  

प्रकाशित: ५ श्रावण २०७९ ०१:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App