नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले तत्कालिन नेकपाका सचिवालयमा रहेका नेताहरुका बिचमा पार्टी एकताको विषयमा छलफल भएको बताएका छन्।
मंगलबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा तत्कालिन नेकपाका सचिवालय सदस्यहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको हो।
भेटवार्ताको क्रममा विचार मिल्नेहरुका बीचमा एकताको बारेमा छलफल गरिएको माओवादी केन्द्रका अध्यक्ष दाहालले बताए। उनले पार्टी एकताको बारेमा चर्चा गरिएको उल्लेख गर्दै सो एकता सत्तारुढ गठबन्धनको बिरुद्धमा भने नभएको स्पष्ट पारे।
उनले भने, ‘हामी अहिले बसेको तपाईँहरुलाई थाहा भइहाल्यो, हामी नेकपा कालका सचिवालयका बहुमत सदस्यहरु छौँ। हामी अस्तिपनि एकपटक बैठक बस्यौँ। आज दोस्रो बैठक बस्यौँ। आजको बैठकमा हामीले मुख्यतः अहिले सबै पार्टीहरुले आ–आफ्नो निर्णय गरेका छन्। नेपाली काँग्रेसको पनि केन्द्रीय समिति बैठक हिजो सकियो। उहाँहरुको निर्णय गठबन्धन गरेर जाने, तालमेल गरेर जाने भन्ने भएको छ। त्यो बारेमा पनि हामीले चर्चा गर्यौँ। एमालेका निर्णयहरु पनि आइराखेका छन् त्यस बारेमा पनि चर्चा गर्यौँ। यो गठबन्धनलाई चाहीँ कायम राखेरै जानुपर्छ भन्नेमा हामी कसैको पनि विमति छैन। तर कसरी प्रभावकारी बनाउने, स्थानीय तहको निर्वाचनको अनुभवलाई पनि ध्यान दिएर अझ प्रभावकारी कसरी बनाउने भन्ने बारेमा हाम्रो चर्चा भइराखेको छ एकातिर। अर्कोतिर हिजो हामी नेकपा त एउटै पार्टीवाला भयौँ। त्यसो भएको हुनाले विचार मिल्नेहरुको बीचमा एकताको सम्भावना बारे पनि हामी छलफल गरिराखेका छौँ। त्यो भनेको यो गठबन्धनको बिरुद्ध भनेको होइन है। पार्टी एकिकरणको बारेमा चर्चा गरेको छौँ।’
अध्यक्ष दाहालले गठबन्धनलाई कायम राखेर जानमा कसैको पनि आपत्ति नभएको बताए। उनले गठबन्धनलाई प्रभावकारी बनाउने विषयमा पनि चर्चा भएको उल्लेख गरे।
प्रकाशित: ३ श्रावण २०७९ १४:१७ मंगलबार