२ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

जापानका पूर्वप्रधानमन्त्री आबेको हत्या

नेपालको दिगो आर्थिक विकास चाहन्थे आबे

एक राजनीतिक कार्यक्रममा भाषण गरिरहेका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको गोली हानी हत्या भएको छ। जापानको दक्षिणी सहर नारामा शुक्रबार ६७ वर्षीय आबेमाथि दुई पटक गोली प्रहार भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।

गोली लागेर ढलेपछि उनलाई तत्काल अस्पताल पुर्‍याइएको थियो। घटनास्थलमा खिचिएको फोटोमा रगत बगिरहेको देखिएको छ। सुरक्षा अधिकारीहरूले गोली हानेको आरोपमा एकजनालाई पक्राउ गरेको छ। जापानका प्रधानमन्त्री फुमिओ किसिदाले आक्रमणलाई ‘बर्बर र दुराशयपूर्ण रहेको’ प्रतिक्रिया दिएका छन्।

सुरुमा गोलीको घाउ घाँटीको दाहिने भागमा देखिएको थियो भने छातीको देब्रे भागबाट पनि रगत बगेको पाइएको थियो। आक्रमण भएको केही मिनेटसम्म उनी होसमा भएको र अवस्था बिग्रँदै गएपछि रगत पनि दिइएको थियो।

एक उम्मेदवारको पक्षमा दोबाटोमा भाषण गरिरहेका उनलाई ठुलो बन्दुक बोकेका एकजनाले गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन्। गोली हान्ने ४१ वर्षीय टेटसुया यामागामीलाई तत्काल नियन्त्रणमा लिइएको थियो। जापानको उपल्लो सदनका लागि यही साता हुन लागेको चुनावमा लिबरल डेमाक्र्याटिक पार्टीका उम्मेदवारका  पक्षमा भाषण गर्न उनी नारा पुगेका थिए।

सुरक्षित देशका रूपमा गर्व गरिने जापानमा विशिष्ट व्यक्तिको हत्याले उक्त देशलाई स्तब्ध भएको छ। जापानमा सबैभन्दा धेरै समय प्रधानमन्त्री भएका आबे सुरुमा सन् २००६ मा एक वर्ष र सन् २०१२ देखि २०२० सम्म प्रधानमन्त्री थिए। पछिल्लोपटक प्रधानमन्त्री हुँदा स्वास्थ्यको कारण देखाएर उनले राजीनामा दिएका थिए।

रक्षा तथा वैदेशिक मामिलामा कडा नीति अवलम्बन गरेका आबेले मौद्रिक नीति, वित्तीय प्रोत्साहन तथा संरचनागत सुधारलाई अगाडि बढाएका थिए। उनको बहिर्गमनपछि उनकै पार्टीका योसिहिडे सुगा प्रधानमन्त्री बनेका थिए। त्यसपछि फुमिओ किसिदाले प्रधानमन्त्रीको पदभार सम्हालेका छन्। आक्रमणको विश्वभरका नेताले निन्दा गरेका छन्।

नेपालले राष्ट्रिय शोक मनाउने

नेपाल सरकारले जापानका पूर्वप्रधानमन्त्री सिन्जे आबेको निधनमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आबे हत्याको घोर भर्त्सना गर्दै उनको निधनप्रति शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो। परराष्ट्र मन्त्रालय मार्फत प्रधानमन्त्रीको शोक सन्देश जापान पठाइएको छ।

प्रधानमन्त्री एवं कांग्रैस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायत नेताहरूले दिवंगत आबेप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

आबेको निधनको खबरले गहिरो  दुःख लागेको बताउँदै देउवाले ट्विटरमा लेखेका छन्, ‘उहाँ विश्वका चर्चित नेता मात्र नभएर नेपालको असल मित्र पनि हुनुहुन्थ्यो। यस दुःखद घडीमा जापानका जनता र शोक सन्तप्त परिवारका सदस्यहरूलाई धैर्यका लागि प्रार्थना गर्छु।’ ओलीले पनि ट्विट गर्दै भनेका छन्, ‘जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनले मलाई गहिरो दुःख लागेको छ। पूर्वप्रधानमन्त्रीको जघन्य हत्याको घोर भर्त्सना गर्छु। आबे नेपालका मित्र हुनुहुन्थ्यो र उहाँले प्रधानमन्त्री हुँदा नेपाल-जापान सम्बन्धलाई मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो।’

‘जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको गोली प्रहारबाट भएको निधनले म स्तब्ध भएको छु। आबे अर्थशास्त्र र सुरक्षा क्षेत्रको रूपान्तरणमा नयाँ दृष्टिकोणका साथ एसियाली महादेशका प्रेरणादायी नेता हुनुहुन्थ्यो,’ दाहालले फेसबुकमा लेखेका छन्, ‘उहाँ नेपाल र मेरो  पनि निकै नजिकको साथी हुनुहुन्थ्यो। यस दुःखद घडीमा उहाँप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दछु साथै शोकसन्तप्त परिवारजन र मित्रजन जापानी जनतामा गहिरो समवेदना व्यक्त गर्छु।’

नेपाल र जापानबीच सन् १९५६ मा दौत्य सम्बन्ध स्थापना भएको थियो। नेपालको आर्थिक विकासमा जापानले निरन्तर सहयोग गर्दै आएको छ। नेपाल र जापानबीच उच्चस्तरमा द्विपक्षीय भ्रमण बेलाबेलामा हुँदै आएको छ।

यस क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले जापानका तत्कालीन प्रधानमन्त्री सिन्जो आबेलाई सन् २०१९ मा जापानको औपचारिक भ्रमणमा भेटेकी थिइन्। त्यस क्रममा आबेले भनेका थिए, ‘नेपालको दिगो आर्थिक विकासले यो क्षेत्रको शान्ति र स्थिरतामा थप बल मिल्ने विश्वास हामीले लिएका छौं।’

यसैगरी काठमाडौं र ओसाकाबीचको सन् २०१९ को अगस्तदेखि सीधा हवाई सम्पर्क सुरु भएकोमा आबेले प्रशंसा गरेका थिए। आबेले जापानको प्रविधिमा भएको विकास र ज्ञानको प्रयोग नेपालले गर्न सक्ने बताएका थिए।

यसैगरी नेपालको जनशक्तिलाई जापानले स्वागत गर्ने र यस्ता जनशक्तिले नेपालको गुणस्तरीय आर्थिक वृद्धिका लागि योगदान गर्न सक्ने धारणा राखेको जापानको विदेश मन्त्रालयले भ्रमणको बेला जारी गरेको प्रेस वक्तव्यमा उल्लेख छ।

यसैगरी स्वास्थ्यका कारण जनाएर राजीनामा दिनुअघि नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विटरमा आबेको स्वास्थ्य लाभको कामना गरेका थिए। त्यसको प्रत्युत्तरमा आबेले नेपाल र जापानबीचको पारम्परिक सम्बन्ध अझ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका थिए।

प्रकाशित: २५ असार २०७९ ०१:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App