१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

विवाद मिलेपछि गण्डकीमा बजेटमाथिको छलफल सुरु

बजेट विवाद मिलेपछि गण्डकी प्रदेश सभामा बजेटमाथिको छलफल सुरु भएको छ। सत्तारूढ दलहरूबीच बजेटमा विवाद भएपछि रोकिएको बजेटमाथिको छलफल सोमबारदेखि सुरु भएको हो।

यसअघि असार १ आएको बजेटमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम नपरेको भन्दै प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस असन्तुष्ट थियो। गठबन्धन दलहरूको निर्णय र मन्त्रिपरिषद् बैठकमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको निर्देशन हुँदाहुँदै पनि अर्थमन्त्री रामजीप्रसाद बरालले बजेटमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम राखेका थिएनन्।

अर्थमन्त्री बरालले मुख्यमन्त्री र मन्त्रिपरिषदलाई नटेरेको कांग्रेसको आरोप थियो। वेस्ट मिनिस्टर प्रणालीमा मुख्यमन्त्रीको निर्देशन मन्त्रीहरूले मान्नैपर्ने कांग्रेसको भनाइ छ। सोही अडानअनुरूप उसले अर्थमन्त्रीलाई कुनै न कुनै हिसाबबाट सो कार्यक्रम राख्न लगातार दबाब बढाउँदै लग्यो। यसमा अर्थमन्त्रीकै पार्टी नेकपा माओवादी केन्द्रले पनि सपोर्ट गर्दै आएको छ।

तर अर्थमन्त्री बराल भने जनताले नरुचाएको तथा नीति तथा कार्यक्रममा पनि नभएकाले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम नराखेको तर्क गरे। त्यसपछि सुरु भएको विवाद प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसम्म पनि कुरा पुग्यो। अहिले आएर भने विवाद समाधानतर्फ उन्मुख भएको छ।

सत्तारूढ पार्टी कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) सँगै मुख्यमन्त्री पोखरेलको दबाब थेग्न नसकेपछि घुमाउरो बाटोबाट सांसदलाई बजेट दिन अर्थमन्त्री सहमत भएसँगै सोमबारदेखि बजेटमाथिको छलफल सुरु गरिएको मुख्यमन्त्री निकट स्रोतले बताएको छ।

‘हाम्रो माग पनि पूरा गर्नेगरी बजेटमा नराखिएको उक्त कार्यक्रम जस्ताको तस्तै नराखे पनि घुमाउरो बाटोबाट राख्ने सहमति भएको छ’, स्रोतले भन्यो। उनले अब निकास निस्केकाले बजेटमाथिको छलफल निरन्तर राखेर पारित गर्ने सहमति भएको बताए।

लगत्तै सोमबार सुरु भएको बैठकको सुरुमै अर्थमन्त्री रामजीप्रसाद बरालले बजेटको प्राथमिकता र सिद्धान्तलाई टेकेर नीति तथा कार्यक्रम आएको र त्यसलाई सम्बोधन गरेर बजेट आएको बताए। उनले बजेटमाथि गम्भीर छलफल गरी प्रदेशलाई समृद्ध बनाउन उचित सुझाव आउने विश्वास व्यक्त गरे।

सांसद गुरुङको प्रश्न–तपाईं अर्थमन्त्री कि अनर्थमन्त्री?

गण्डकी प्रदेश सभा सदस्य किरण गुरुङले अर्थमन्त्री रामजीप्रसाद बराललाई तपाईं अर्थमन्त्री कि अनर्थमन्त्री भनेर प्रश्न गरेका छन्। असार १ गते बजेट आएपछि स्थगित भई सोमबारदेखि सुरु भएको प्रदेशसभा बैठकमा बजेटमाथिको सामान्य छलफलमा भाग लिँदै एमाले प्रदेशसभा सदस्य तथा प्रदेशका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले ‘अर्थमन्त्रीज्यू! तपाईं अर्थमन्त्री कि अनर्थमन्त्री?’ भनेर प्रश्न गरेका हुन्। प्रधानमन्त्रीय प्रणालीमा मुख्यमन्त्रीको निर्देशन नमानेकाले उनले अर्थमन्त्रीलाई यस्तो प्रश्न गरेका हुन्।

गुरुङले मुख्यमन्त्रीलाई पनि अर्थमन्त्रीसामु निरीह भएको आरोप लगाए। मुख्यमन्त्रीज्यू तपाईंलाई म मुख्यमन्त्री हुँ भन्ने विश्वास छ कि छैन? भन्ने प्रश्न गर्दै उनले भने, ‘तपाईं निरीह हुनुभयो।’ उनले २० दिनसम्म सरकार र प्रदेशसभा हराएको टिप्पणी गरे।बजेटमाथिको छलफल गर्नुपर्ने बेलामा छलफल नगरेर सरकारले सार्वभौम अधिकारसम्पन्न प्रदेशसभालाई बन्दी बनाएको उनको आरोप थियो।

उनले माओवादी र कांग्रेसलाई एकअर्कालाई बोक्न कत्तिको गाह्रो हुँदो रहेछ भनेर प्रश्न पनि गरे। उनले भने, ‘कांग्रेसमा न सिद्धान्त छ न विचार। न शैली मिल्छ न प्रवृत्ति। न लक्ष्य मिल्छ न उद्देश्य। माओवादी मित्र माननीयलाई मेरो प्रश्न छ– कांग्रेसलाई बोक्न कत्तिको गाह्रो हुँदो रहेछ?’ कांग्रेसलाई गुल्ट्याउने साहस माओवादीमा नभएको बताउँदै उनले थपे, ‘कांग्रेसलाई बोकेको काँध गलेर धन्न भीरमा लगेर तपाईंहरूले गुल्ट्याउनुभएन। त्यो गुल्ट्याउने साहस पनि तपाईंहरूसँग छैन।’

उनले कांग्रेसलाई पनि त्यसरी नै प्र. उनले भने, ‘माओवादीसँग मिलेर अघि बढ्न सजिलो रहेछ कि अप्ठ्यारो रहेछ मुख्यमन्त्रीज्यू?’ उनले कांग्रेसमा सरकार चलाउने, विकास र समृद्धि ल्याउन सक्छु भन्ने आत्मविश्वास नभएको दाबी गरे। कांग्रेस सांसद विष्णुमणि लामिछानेले नीति तथा कार्यक्रम, बजेटका सिद्धान्त र प्राथमिकताका आधारमै बजेट आएको भन्दै खुसी व्यक्त गरे।

राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीले ढिलै भए पनि सहमति जुटेर संसद् खुलेको भन्दै खुसी व्यक्त गरे। साथै बजेटमा छुटेका विषय समावेश हुने विश्वास व्यक्त गर्दै उनले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम आउने आशा व्यक्त गरे। एमाले सांसद धनञ्जय दवाडीले अहिलेको गठबन्धन सरकारले ल्याएको बजेटले प्रदेशको समृद्धि पनि नबढ्ने र गरिबी पनि नघट्ने ठोकुवा गरे।

प्रकाशित: २२ असार २०७९ ०४:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App