६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

सीसीटीभीको फुटेज डिलिट गरेर अर्थमन्त्रीले ठूलै आर्थिक चलखेल गरेः प्रदिप ज्ञवाली

बजेट निर्माण बेलाको सीसीटीभी फुटेज ‘डिलिट’ गरेर अर्थमन्त्री जनार्दन शर्माले ठूलै आर्थिक चलखेल गरेको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव प्रदिप ज्ञवालीले आरोप लगाएका छन्।

उपमहासचिव ज्ञवालीले बजेट बनाउने बेलामा अनधिकृत व्यक्तिको प्रवेश गराएको सरकारले त्यसको सीसीटीभी फुटेज डिलिट गराएर अर्को जघन्य अपराध गरेको उपमहासचिव ज्ञवालीको दाबी छ। सोमबार संसद भवन परिसरमा पत्रकारहरुमाझ उनले सो घटनाको सीसीटीभी फुटेज डिलिट भएको भनेर अर्थ मन्त्रालयले त्यसमा गम्भिर घोटाला भएको आफैंले पुष्टि गरेको जिकीर समेत गरे।

उनले भने, ‘वास्तवमा यो दोहोरो अपराध हो। बजेट बनाउने बेलामा अनधिकृत व्यक्तिको प्रवेश र उनीहरुको उपस्थितिमा करका दरहरुको हेरफेर यो एउटा जघन्य अपराध त छँदैथियो। यो अपराधलाई लुकाउनका निमित्त त्यस सम्बन्धी प्रमाण नष्ट गर्नका लागि यदि साँच्चैनै सीसीटीभी फुटेज नष्ट गरिएको हो भने अर्को ठूलो अपराध हो। र, यो ढंगको अपराधमा संलग्नहरु अविलम्ब उनीहरुमाथि छानविन भएर कारबाहीको दायरामा ल्याउनुपर्छ भन्ने हाम्रो प्रष्ट मान्यता छ।’

उपमहासचिव ज्ञवालीले सो घटना अक्षम्य अपराध भएको उल्लेख गर्दै त्यसमा संलग्न अर्थमन्त्री शर्मासहितलाई तत्काल छानविन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने आफ्नो पार्टीको अडान रहेको पनि स्पष्ट पारे।

उनले भने, ‘फुटेज डिलिट भएको भन्ने तथ्यहरु बाहिर ल्याएर वास्तवमा यसमा गम्भीर घोटाला भएको छ भन्ने, गम्भीर अनियमितता भएको छ भन्ने तथ्य चाँही स्वयम् अर्थ मन्त्रालयले पुष्टि गरेको छ। यदि यस्तो थिएन भने ऊ आफैं यति गम्भीर विषयहरु उठिसकेपछि फुटेज सार्वजनिक गरेर यस सम्बन्धी उठेका अन्यौलहरुलाई क्लिएर गर्नेतिर लाग्दथ्यो। त्यसो भएर एउटा बदमासीलाई ढाकछोप गर्नका लागि अर्को बदमासी पनि गरिएको छ। जुन अक्षम्य हो भन्ने हाम्रो मान्यता छ।’

प्रकाशित: २० असार २०७९ १३:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App