२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

ताप्लेजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय बन्द

स्थानीय तह सदस्य निर्वाचन प्रयोजनका लागि ताप्लेजुङमा खुलेको मुख्य निर्वाचन अधिकृतको कार्यालय मंगलबारबाट औपचारिक रुपमा बन्द भएको छ।

वैशाख ३० गते स्थानीय तह सदस्य निर्वाचन गराउने प्रयोजनका लागि वैशाख ८ गते बिहीबार ताप्लेजुङसहित देशभर मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय खुलेका थिए।

मुख्य निर्वाचन अधिकृत तथा ताप्लेजुङ जिल्ला अदालतका न्यायाधीश प्रकाश राउतले निर्वाचनका सरोकारवाला पक्षको असल समन्वय र सञ्चारकर्मी तथा नागरिक समाजका व्यक्तित्वको विगतको अनुभवले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सकिएको भन्दै सम्बद्ध सबैप्रति आभार प्रकट गरेका छन्।

जिल्ला सुरक्षा समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत राउतको नेतृत्वको अगुवाइ स्थानीय तहको निर्वाचन संयमित, व्यवस्थित, भयरहित र निष्पक्ष बनाउन सकिएको भन्दै यस्ता जिम्मेवारी कुशलतापूर्वक सम्पन्न हुनुमा सबै पक्षको एकता, समन्वय र सहकार्यले काम गरेको बताए।

विगतमा भएका निर्वाचनको अवस्था, निर्वाचनका बेला देखा पर्ने चुनौतीको सामना गर्न अपनाइएको रणनीति र सम्भावित समस्या समेतको उजागर गरेर निर्वाचन पूर्ण रुपमा सफल पार्न आम सञ्चारकर्मी र नागरिक समाजका सदस्यबाट प्राप्त भएको रचनात्मक सहयोग उत्तिकै प्रशंसनीय रहेको प्रजिअ पोखरेलले बताए।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन व्यवस्थित रुपमा सम्पन्न गर्ने कार्यमा खटिएका प्रजिअ पोखरेलसहितको सुरक्षा निकायका प्रमुखहरु, मुख्य निर्वाचन अधिकृतको कार्यालयमा रहेर खटिएका जनशक्ति तथा संस्थागत रुपमा पत्रकार महासंघ ताप्लेजुङ शाखालाई प्रशंसापत्र समेत प्रदान गरेको छ।

प्रकाशित: ७ असार २०७९ ११:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App