४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

लुम्बिनी प्रदेश: जसपा फुटाएर सत्ता ढाल्ने एमाले कसरत फेल

जनता समाजवादी पार्टी भित्र आन्तरिक ‘कलह’ सुरु भएपछि लुम्बिनी प्रदेशमा आफ्नो ‘दबदबा’ कायम राख्ने योजनामा पार्टीका दुई खेमा लागे। बाबुराम भट्राई पक्षधरले उपेन्द्र यादवलाई कमजोर पार्ने रणनीति बमोजिम प्रदेशका केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलनको अभियानै थाल्यो।  

यो प्रदेशका जसपा अध्यक्ष अशोक यादवका अनुसार भट्राई समूहको यो अभियान गोप्य रुपमा गरिएको थियो। उपेन्द्र समुहका अशोक भन्छन् ‘एक/डेढ महिना अघि अर्को ( भट्राई) समूहले हाम्रो प्रदेशका केन्द्रीय सदस्यहरुलाई गोप्य रुपमा हस्ताक्षर संकलनको अभियान सुरु गर्न थालेका थिए, तर उनीहरु सफल भएनन्।’ यो प्रदेशमा जसपाको यादव समूहकै एकल प्रभाव रहेको देखिन्छ।  

दुई खेमामा बिभाजित जसपाभित्रको ‘शक्ति संघर्ष’लाई लुम्बिनी प्रदेशमा एमालेले आफ्नो ‘स्वार्थ’ को अवसरका रुपमा हेरिरहेको थियो। उसले यो प्रदेशमा जसपालाई फूटाएर सत्ता पल्टाउने दाउ रचेको थियो। लुम्बिनी प्रदेश सरकारको संस्थापक शासक बनेको एमालेले जसपा भित्रको विवादलाई पुनः आफ्नो सत्ता भित्रने अवसरका रुपमा हेरेको थियो।

संसदमा रहेका जसपाका चार सांसदलाई उपेन्द्र समूहबाट तितर बितर पार्न सके अहिलेको सत्ता गठबन्धनको पञ्जाबाट सत्ताको बागडोर खोस्ने कसरतमा एमाले थियो। फलतःसंसदमा पेश भएको बजेटलाई फेल खुवाउने रणनीति बमोजिम एमालेका नेताहरु जसपाको आन्तरिक बिद्रोहमा केन्द्रीत बनेका थिए। बहुमत पुर्याएर बजेटलाई बिफल बनाउने र सरकारलाई नैतिक संकटमा पार्ने रणनीतिमा एमाले थियो। ‘एमालेका साथीहरु हाम्रा माननीय ज्यूहरुसंग खेल्न खोजे,’ जसपा लुम्बिनीका अध्यक्ष अशोक यादवले भने ‘तर हाम्रा माननीयहरु एमालेको त्यो ललाईफकाईमा लाग्ने कुरै भएन।’  

जसपाका चार सांसदलाई आफ्नो पक्षमा पार्ने एमालेको पासा थियो – जसपालाई मुख्यमन्त्री। यो आश्वासन सहित जसपाको आन्तरिक कलहमा खेल्न खोजेको एमालेले बाबुराम भट्राई समूहलाई उकासेको थियो। फलतः एमालेको यो लाईनमा जसपाका बाबुराम भट्राई पक्षधर नेताहरु लागि सकेका थिए।  

तर चारैजना प्रदेश सांसदहरु यो खेलको पछाड लागेनन्। ‘सरकारलाई अल्मतमा पारेर बजेट फेल खुवाउने रणनीतिमा एमालेका साथीहरु देखिएका थिए,’ अशोक भन्छन् ‘यो योजनाको अस्त्रका रुपमा हाम्रो पार्टीका माननीयहरुलाई हेरिएको थियो, तर एमालेको त्यो योजना बिफल बन्यो।’  

त्यसोत, एमालेको पक्षमा लाग्दा कारवाहीमा पर्ने त्रासदी पनि जसपा भित्र छ नै। यसअघि पार्टीको ह्विप उलंघन गरेर तत्काली शंकर पोख्रेल नेतृत्वको सरकारमा दुई सांसद मन्त्री बनेपछि दुई सांसदको पद नै खारे भएको थियो। तत्कालीन पोख्रेल नेतृत्वको सरकारमा सहभागी हुँदा जसपाले गरेको कारवाहीका कारण पनि जसपाका सांसदहरुले पार्टी निर्णयको खिलापमा जाने हिम्मट नगरेको जसपा बताउँछ। ‘गठबन्धनको खिलापमा रहन र जसपालाई मुख्यमन्त्री लिन एमालेले प्रसताव गरेको हो,’ जसपाका लुम्बिनी अध्यक्ष यादवले भने ‘तर हामीहरुलाई मुख्यमन्त्री भन्दा पनि गठबन्धनमा कसरी एक भएर जाने भन्ने एकमात्रै चिन्तन हो।’  

एमालेले जसपाका सांसदहरुलाई आफ्नो पक्षमा पारेर वर्तमान सरकार ढाल्ने रणनीति बनाएको भएपनि त्यो परिस्थतीमा पनि वर्तमान सरकारलाई समस्या पर्ने नपर्ने संसदको अंकगणित प्रष्टै थियो। यो प्रदेशसभामा अहिले सभामुख सहित ८१ सांसद छन्। एमालेका ३६ सांसद छन् भने बाँकी गठबन्धनका सांसद छन्। जसपाका चार सांसद एमालेको पक्षमा लागेको भएपनि एमालेको पक्षमा ४० मत पुग्ने थियो अर्थात बहुमत पुग्ने थिएन। तर गठबन्धन र एमालेको सांसद संख्या बराबरी हुन्थ्यो। यो बेला सभामुखको मत निर्णायक हुन्थ्यो। कसैको पनि बहुमत नपुगेको अवस्थामा भने संसदको ठूलो दलको नेतृत्वमा सरकार गठन हुनु पर्ने प्रावधान छ। यो बेला मुख्यमन्त्रीको आश्वासन पाएको जसपाको नेतृत्वमा सरकार गठन हुने अवस्था बन्ने थिएन। सरकार एमालेकै नेतृत्वमा बन्ने थियो। सत्तारुढ गठबन्धनले जसपालाई यो बिषयले झस्काईदिएको थियो। ‘संसदमा सांसद संख्या बराबरी अर्थात कसैको पनि बहुमत नपुगेको अवस्थामा संसदको ठूलो दलको नेतृत्वमा सरकार गठन हुने थियो, यो बेलामा एमालेकै नेतृत्वमा सरकार बन्ने हो,’ सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका एक सांसदले भने ‘हामीहरुले यो अवस्था जसपालाई प्रष्ट पारेर झस्काईदिएका पनि थियौँ।’

यति मात्रै हैन, जसपाको आन्तरिक बिबादमा खेलेर सत्ता ढाल्ने कसरत थालेको एमालेको खिलाफमा सत्तारुढ गठबन्धनका दलहरुले पनि गृहकार्य गरिरहेका थिए। उनीहरुले जसपाका सांसदहरु जाने परिस्थती बनेको भएपनि चार मध्य सबै सांसदलाई जानबाट रोक्ने प्रयास थालेका थिए।  

उनीहरुले जसपाका एक सांसदलाई भने रोक्ने रणनीति बनाएका थिए भने एमालेकै दुई सांसदलाई आफूतिर तान्ने प्रयास समेत गरिरहेका थिए। ‘जसपाका एक सांसदलाई भने हामीहरुले रोक्ने गरि तयारी गरिसकेका थियौँ,’ माओवादीका ति सांसदले भने ‘यससंगै एमालेकै सांसद संख्ष ३६ बाट झारेर ३४ मा पुर्याउने रणनीतिमा पनि हामी लागिरहेका थियौँ।’ तर आफ्नो पक्षमा बहुमत पुग्ने नदेखेपछि र जसपा पनि आफ्नो पक्षमा आउने परिस्थती नदेखिएपछि भने एमाले अहिले सत्ता ढाल्ने रेसबाट पछि हटेको छ।  

 

 

 

 

प्रकाशित: ६ असार २०७९ १२:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App