१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

आम्बोटेदेखि शीतल निवाससम्म

भोजपुर- नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारी भोजपुरको दुर्गम मानेभञ्ज्याङ गाविस–१ आम्बोटेमा २०१८ असार ५ मा जन्मेकी हुन्। विकट जिल्लाको दुर्गम गाउँमा जन्मेकी भए पनि उनी शिक्षित परिवारकी छोरी हुन्। बुबा रामबहादुर र आमा मिथिला पाण्डेका तीन छोरा र दुई छोरीमध्ये विद्या जेठी हुन्।

स्नातक तह उत्तीर्ण बुबा रामबहादुर पाण्डे कुलुङको वीरेन्द्र उच्च माविका प्रधानाध्यापक थिए। विद्या ९–१० वर्षको हुँदा उनका बुबाको निधन भयो। प्राथमिक शिक्षा गाउँकै बेहेरेश्वर प्राविबाट लिएकी थिइन्। यो प्राथामिक विद्यालय उनकै हजुरबुबा तिलकबहादुर पाण्डेले स्थापना गरेका थिए जो पञ्चायतकालमा प्रधानपञ्च थिए।

प्रमाणपत्र तहसम्म भोजपुर बहुमुखी क्याम्पसमै अध्ययन गरेकी भण्डारीले विराटनगरबाट स्नातक तह उत्तीर्ण गरेकी हुन्। विद्योदय हाइस्कुल (हालको विद्योदय उच्च मावि) बाट उनले एसएलसी उत्तीर्ण गरिन्। भण्डारी घरदेखि नै राजनीतिक वातावरणमा हुर्किएकी हुन्। उनको परिवारका हजुरबुबादेखि काकासम्म गाउँका प्रधानपञ्च, जिल्ला पञ्चायत सदस्य थिए जसले भण्डारीलाई बाल्यकादेखि नै राजनीतिमा लाग्न प्रेरित गर्यो ।

परिवारका अधिकतर सदस्य नेपाली कांग्रेसआबद्ध भए पनि विद्या भने कम्युनिस्टसँग नजिक भइन्। उनी बुधबारको निर्वाचनबाट राष्ट्रपतिमा निर्वाचित मात्र भइनन्, देशको पहिलो राष्ट्रपति महिला बन्ने इतिहास पनि बनाइन्।

चर्चित दासढुंगा काण्डमा नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीलाई गुमाएपछि विद्या राजनीतिमा प्रवेश गरेको धेरैले चर्चा गरिरहे पनि उनको राजनीतिक यात्रा ०३५/३६ सालतिरै सुरु भएको हो। दासढुंगा घटनामा पति मदनलाई गुमाएकाले उनी राष्ट्रिय राजनीतिमा चर्चामा आइन्। त्यही काण्डपछि विद्याले सक्रिय राजनीति थालेकी हुन्। ०५० साल माघमा भएको उपनिर्वाचनमा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा पूर्वसभामुख दमननाथ ढुंगानालाई उनले पराजित गरेकी थिइन्।

विद्या २०५६ मा भएको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र २ बाट निर्वाचित भइन्। २०६४ साल चैत २८ मा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा पराजित भण्डारी २०७० मंसिर ४ को दोस्रो संविधानसभा चुनावबाट समानुपातिक सभासद बनेकी थिइन्। २०३९ सालमा मदन भण्डारीसँग विवाह गरेकी उनका दुई छोरी छन्।

भण्डारीको जन्मगाउँ मानेभञ्ज्याङमा अहिले उनको परिवारका सदस्य छैनन्। गाउँको जग्गा बेचेर मोरङको बाहुनी गाविस झरेका उनका भाइ अमेरिका छन्। भण्डारीकी आमा र बहिनी सुशीला भने सुनसरीको चतरास्थित वृद्धाश्रममा बस्छन्। अमेरिका रहेका उनका भाइहरू र भण्डारीले आमालाई आफूसँगै राख्न अनुरोध गर्दा पनि आमा वृद्धाश्रममै बसिरहेको भण्डारीनिकट स्रोत बताउँछ।

भण्डारी कहिलेकाहीँ पार्टीले आयोजना गर्ने कार्यक्रममा आफ्नो गृहजिल्ला उपस्थित हुने गरेकी थिइन्। संविधानसभाको दोस्रो निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन २०७० कात्तिक २३ मा भोजपुरको टुँडिखेलमा आयोजित कार्यक्रममा उनी अन्तिमपटक भोजपुर आएकी थिइन्।

राजनीतिक यात्रा

भोजपुर क्याम्पस पढ्दा २०३५ सालमा तत्कालीन नेकपा (माले) सम्बद्ध युवा लिगमा संगठित हुँदै राजनीतिक यात्रा सुरु गरेकी भण्डारी २०३७ सालमा काठमाडौंमा भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको पाँचांै राष्ट्रिय सम्मेलनमा भोजपुरबाट प्रतिनिधि बनेकी थिइन्। २०३७ सालमा तत्कालीन नेकपा (माले) को सदस्यता प्राप्त उनी २०३६ देखि २०४४ सम्म अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, पूर्वाञ्चलको सदस्य बनिन्।

२०३९/४० सालमा महेन्›मोरड क्याम्पसको स्ववियु कोषाध्यक्षमा समेत निर्वाचित बनेकी थिइन्। २०५४ मा अखिल नेपाल महिला संघको अध्यक्षमा निर्वाचित उनी हालसम्म अखिल नेपाल महिला संघ अध्यक्ष थिइन्।

२०५४ सालमा नेपालगञ्जमा भएको नेकपा (एमाले) को छैठौं महाधिवेशनबाट केन्›ीय कमिटी सदस्यमा निर्वाचित उनी २०५९ सालमा जनकपुरमा भएको नेकपा (एमाले) को सातौं महाधिवेशनमा केन्द्रीय कमिटी सदस्य भइन्। २०६४ सालमा बुटवलमा भएको आठौं महाधिवेशन र २०७१ सालमा काठमाडौंमा भएको नवौं महाधिवेशनबाट उनी उपाध्यक्षमा निर्वाचित भएकी हुन्।

माधव नेपाल नेतृत्वको सरकारमा रक्षामन्त्री बनेकी विद्या बुधबार देशकै सर्वाेच्च पद राष्ट्रपतिमा निर्वाचित भएकी छिन्।

भोजपुरमा दीपावली

भण्डारी राष्ट्रपतिमा निर्वाचित भएको खुसीयालीमा उनको जन्मगाउँ र जिल्लामा दीपावली गरिएको छ। भण्डारी जन्मेको भोजपुरको मानेभञ्ज्याङ गाविस, उनको जन्मगाउँ आम्बोटे र भोजपुर सदरमुकाममा दीपावली गरिएको हो। बुधबार राष्ट्रपतिमा चुनिएकी भण्डारी मानेभञ्ज्याङ–१, आम्बोटेमा २०१८ असार ५ मा जन्मेकी हुन्। उनी नेपालकै पहिलो राष्ट्रपति महिला बनेको खुसीयालीमा एमाले, भोजपुरले पार्टी कार्यालयअगाडि दीपावली गरेको छ। उनी जिल्लाको विकट गाउँमा जन्मेर देशको सर्वाेच्च पदमा पुगेकामा जिल्लाबासी हर्षित् छन्।

प्रकाशित: ११ कार्तिक २०७२ २०:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App