२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

माओवादीमा पनि मन्त्री बदल्न दबाब

नेकपा माओवादी केन्द्रमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ पठाउनुपर्ने आवाज उठेको छ। पार्टी पंक्तिबाट अध्यक्ष पुष्पकमल दाहालमाथि मन्त्री बदल्न चर्को दबाब परेको छ। मन्त्री फेर्ने र नफेर्ने विषयले माओवादीभित्र आन्तरिक विवाद सिर्जना भएको छ।

नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेपछि माओवादी केन्द्रमा पनि यो विषयले प्रवेश पाएको हो। सत्ता गठबन्धनमा आबद्ध अर्को जनता समाजवादी पार्टी (जसपा) नेतृत्वलाई पनि मन्त्री फेर्न दबाब परेको छ। सत्तासीन पार्टीभित्र मन्त्रीका आकांक्षी बढी भएकाले पुराना हटाएर नयाँ बनाउनुपर्ने आवाज उठेको हो।

माओवादी केन्द्रका नेता वर्षमान पुनले अहिले सरकारमा भइराखेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पालो दिनुपर्ने आवाज पार्टीमा उठेको बताए। ‘नेकपा एकीकृत समाजवादीका साथीहरूले मन्त्री फेर्ने भनेपछि हाम्रोमा पनि बदल्न दबाब परेको छ,’ पुनले भने। पुनका अनुसार अन्य दलमा मन्त्री फेर्न दबाब परेपछि त्यसको असर माओवादीमा पनि परेको हो।

माओवादी केन्द्रबाट मन्त्री भएकाले राम्रो काम नगरेको भन्दै आलोचना हुँदै आएको थियो, छ। विगतमा माओवादीका केही केन्द्रीय सदस्यले पार्टीबाट सरकारमा मन्त्री भएकाले खासै राम्रो काम गर्न नसकेको भन्दै उनीहरूलाई फिर्ता बोलाएर नयाँलाई बनाउनुपर्ने माग नेतृत्वसँग गरेका थिए। तर शीर्ष नेताहरूले त्यसलाई बेवास्ता गर्दै आएका थिए। नेकपा एसले मन्त्री परिवर्तन गर्न लागेपछि माओवादी नेतृत्वलाई पनि त्यसै गर्न दबाब परेको बताइएको छ।

अहिले माओवादीबाट जनार्दन शर्मा, पम्फा भुसाल, देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वरराज गहतराज मन्त्री र बोधमायाकुमारी यादव राज्यमन्त्री छन्। ‘पार्टी अध्यक्षलाई भेटेर केही नेताले मन्त्री परिवर्तन गर्न आग्रह गर्नुभएको छ, कसैलाई सधैं अवसर प्राप्त भइरहेको कसैले अवसर नै नपाएको गुनासो आएको छ’, माओवादी स्थायी कमिटीका एक सदस्यले भने। ती सदस्यका अनुसार संसदीय निर्वाचन आउन लागेका बेला मन्त्री फेर्दा कार्यकर्तामा राम्रो सन्देश जान्छ।

गठबन्धन सरकार गठन हुँदा माओवादीभित्र मन्त्री बन्न रस्साकस्सी चलेको थियो। त्यतिबेला पार्टी अध्यक्ष दाहालले आलोपालो गर्ने गरी सरकारमा ६ जनालाई पठाएका थिए। त्यसबेला देव गुरुङ, हरिबोल गजुरेल, जयपुरी घर्तीलगायत नेताले मन्त्री बन्ने आकांक्षा देखाएको र उनीहरूलाई पछि पठाउने आश्वासन दिइएको थियो। पार्टीले मन्त्री बदले पहिला आश्वासन पाएकाले मन्त्री बन्ने अवसर पाउने सम्भावना भने निकै कम रहेको स्रोतले जनाएको छ।

‘माओवादीभित्र पनि खासखासले अवसर प्राप्त गरिरहेका छन्। उनीहरूबाहेक अरू त केही होइनन् भनेजस्तो भएको छ। पार्टीमा अवसर पाएकाले सरकारमा पनि पाएका छन्,’ माओवादी एक नेताले भने।

निर्णय कार्यान्वयन हुन्छ: खनाल

नेकपा एकीकृत समाजवादी (नेकपा एस) मा मन्त्री फेर्ने निर्णय विवादमा परेको छ। विवाद भए पनि पार्टी नेतृत्व जसरी पनि मन्त्री परिवर्तन गर्ने तयारीमा छ। संसद्मा मन्त्रालयगत बजेटमाथि छलफल भइरहेको छ। सम्बन्धित मन्त्रीले जबाफ दिएपछि नेकपा एसले मन्त्री बदल्ने निर्णय कार्यान्वयनमा लैजाने तयारी गरेको हो।

‘पार्टीले गरेको निर्णय किन कार्यान्वयन भएको छैन भन्नेबारेमा मैले कारण थाहा पाएको छैन,’ सम्मानित नेता झलनाथ खनालले भने। उनले अन्य पार्टीमा विवाद हुन्छ भनेर आफ्नो पार्टीले गरेको निर्णय रोक्ने काम गलत भएको उनले बताए।

‘पार्टीले गरेको निर्णय कार्यान्वयन हुन्छ। यसमा दायाँबायाँ हुँदैन,’ खनालले भने। नेकपा एसले आइतबार नै नयाँ मन्त्रीको सूची प्रधानमन्त्रीलाई बुझाएको थियो। पार्टीका एक नेताका अनुसार विदेश गएका राज्यमन्त्री भवानी खापुङ बिहीबार मात्रै आइपुग्ने भएकाले नयाँ मन्त्रीहरूको शपथ रोकिएको हो।

उनी नेपाल आएपछि नयाँ मन्त्रीको शपथ हुने तयारी भएको स्रोतको दाबी छ। नेकपा एसले खापुङलाई राज्यमन्त्रीबाट मन्त्रीमा बढुवा गरेको छ। उसले नयाँ मन्त्रीमा शेरबहादुर कुँवर, जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, हीराचन्द्र केसीलाई सिफारिस गरेको छ।

नेकपा एसका मन्त्री खुमलटारमा

नेकपा एसका मन्त्रीहरूले बुधबार पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका छन्। उनीहरूले दाहालसँग मन्त्रिपरिषद् पुनर्गठनबारे कुराकानी गरेको स्रोतको दाबी छ। गत आइतबार नेकपा एसले मन्त्री फेर्ने निर्णय गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ मन्त्रीहरूको नाम बुझाएपछि सो पार्टीका बहालवाला मन्त्रीहरू रामकुमारी झाँक्री र विरोध खतिवडाले दाहालसँग भेट गरेका थिए।

उनीहरूले मन्त्री फेर्न नहुने लबिङ गरेका भए पनि सार्वजनिक खपतका लागि पार्टीको निर्णय मान्ने बताउँदै आएका छन्। नेकपा एसबाट पर्यटनमन्त्री बनेका प्रेम आले र श्रममन्त्री किसान श्रेष्ठले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मन्त्री बदल्दा सरकारलाई समस्या पर्न सक्ने भन्दै धम्क्याएका थिए। नेकपा एसका मन्त्रीहरूले बुधबार माओवादी अध्यक्ष दाहालसँग सामूहिक भेट गरेका हुन्। उनीहरूले आलोपालोभन्दा पनि दक्षताका आधारमा मन्त्री चयन हुनुपर्नेमा पार्टीले आलोपालोको नीति लिएको गुनासो दाहालसँग गरेका थिए। 

प्रकाशित: २६ जेष्ठ २०७९ ००:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App