९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेसभित्र फेरि अन्तरघात?

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद गेहेन्द्र गिरी अघिल्लो तुलसीपुर उपमहानगरको मेयरमा अघिल्लो पटकको आफ्नो हारलाई अहिले जीतमा बदल्न चाहन्थे। फलतः दोस्रो पटक अहिले उनी मेयर पदको उम्मेदवार बने।

गठबन्धनको शक्ति अनि कांग्रेस भित्र देखिको आन्तरिक व्यवस्थापनको सहजतालाई उनले आफ्नो जीतको बलियो आधार देखिसकेका थिए। तर तुलसीपुर उपमहानगरको मेयर बन्ने गिरी सपना दोस्रो पटक पनि तुहियो।

अघिल्लो पटक एमाालेका घनश्याम पाण्डेबाट पराजित उनी अहिले फेरी एमालेकै टिकाराम खड्काबाट पराजित बने। अघिल्लो पटक पार्टी भित्रको अन्तरघातका कारण पराजय भोग्नु परेको दाबी गरेका गिरीले अहिले पनि आफू पार्टी भित्रकै अन्तरघाको शिकार बनेको निक्र्यौलमा पुगेका छन्।

गठबन्धनको बलियो शक्ति अनि कांग्रेस भित्रको उचित व्यवस्थापनलाई आफ्नो जीतको बलियो आधार देखेका गिरीले अघिल्लो निर्वाचनमा भन्दा अहिलेको अन्तरघातको पाटोलाई कम देखेका छैनन्। उनले भने ‘पार्टीभित्रको व्यवस्थापन केही मिलेको हो कि जस्तो देखियो, तर अन्तरघातको पाटो अघिल्लो चुनावमा भन्दा कम रहेन।’

चुनावमा कांग्रेस भित्रको शक्ति एक नहुनुलाई आफ्नो पराजयको प्रमुख कारण देखेका गिरीले यो अन्तरघातमा वडा तह देखि उपल्लो तह सम्मकै नेताहरुको हात देखका छन्। ‘केही माथिकै नेताहरु पनि घात अन्तरघातमा लागे,केही वडा तहकै नेताहरु खुलेआम लागे,’ गिरीले भने ‘पार्टी भित्रको शक्ति एकत्रित होला भन्ने मेरो परिकल्पना थियो, तर अहिले पनि भएन, मलाई लाग्दैन अब यो समस्या कांग्रेसभित्र निमिट्यान्न हुन्छ भन्नेमा।’

आफ्नो पराजयको कारण अन्तरघात बुझेका गिरीले कांग्रेसका लागि आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई अनुकुल देखिरहेका छैनन्। अन्तरघातको असर ती निर्वाचनमा पनि स्पष्ट देखिन सक्ने खतरा रहेको भन्दै उनले भने ‘तर म कामना गर्छु संसदीय चुनावमा यस्तो अन्तरघात नहोओस्।’

नेपाली कांग्रेसका जिल्ला उपसभापति गिरीराज सुवेदी वडा सदस्य बन्न चाहन्थे। घोराही उपमहानगरपालिका वडा नम्बर ४ को वडा सदस्य बनेर जिल्ला समन्वय समितिको संयोजक बन्ने सुवेदीको योजना पनि जनमतले तुहाइ दियो। उनी वडा सदस्यमै पराजित बने। सुवेदीले पनि गठबन्धनमा देखिएको अविश्वास संगै पार्टी भित्रको अन्तरघात आफ्नो हारको कारण मान्छन्।

‘विगतमा जस्तो घात अन्तरघात अहिले हुँदैन भन्नेमा हामी ढुक्क थियौँ,’ उनले भने ‘तर पहिलेको भन्दा अहिले पनि परिस्थती फेरिएन, हामी कांग्रेसीहरुले नै एमालेलाई मतदान गर्ने परिस्थीति अहिले पनि स्पष्टै देखियो।’ आफ्नो पराजयका लागि केही ठुलै नेताहरुले दिशा निर्देश गरे, अनि वडा तहका नेता कार्यकर्ताहरु आफू इतर बनेर भुमिका खेलेको सुवेदीको बुझाइ छ।

‘उपल्ला नेताहरुको दिशा निर्देश नभएर वडा तहबाटै घात अन्तरघात गर्ने कुरा त भएन,’ सुवेदीले भने ‘सकृयता चाहिँ वडा तहमा बढि देखियो।’ सुवेदीले पनि पार्टी भित्रको यो अन्तरघातको असर आगामी निर्वाचनमा पर्ने खतरा देखिरहेका छन्। फलतः पार्टीकै आधिकारीक उम्मेदवारका रुपमा लाग्ने कांग्रेसीहरुलाई कारवाहीको दायरामा ल्याउनै पर्ने आवश्यक्ता उनले देखेका छन्।

‘कांग्रेस भित्रको अन्तरघातको यो श्रृंखला अहिले पनि रोकिएन, यो आगामी निर्वाचनमा अझ घातक बन्ने खतरा मैले देखेको छु,’ उनले भने ‘फलतः पार्टी भित्रका यस्ता गलत प्रबृत्तिहरुलाई कारवाही नगर्दा सम्म पार्टी भित्रको घात अन्तरघातको श्रृंखला रोकिने मैले देखेको छैन।’

कांग्रेस र माओवादीको गठबन्धन रहेको घोराही उपमहानगरको मेयरमा माओवादीका हेमराज शर्मासंगै उपमेयरमा कांग्रेसका भुपबहादुर डाँगी पनि पराजित बने। यो उपमहानगरमा पनि कांग्रेस तथा माओवादीले गठबन्धनको जीत सहज देखेका थिए। तुलसीपुरको मेयरमा पराजित गेहेन्द्र गिरीले जस्तै घोराहीको उपमेयरमा पराजित डाँगीले पनि कांग्रेस भित्रको कमजोर ब्यवस्थापनको पाटोलाई आफ्नो हारको कारण मानेका छन्।

उनले भने ‘हामीहरुले पार्टी भित्रको व्यवस्थापन उचित रुपमा गर्न सकेनौँ,जसको असर चुनावी परिणाममा देखियो।’ त्यसोत, गठबन्धन प्रतिको कांग्रेसीहरुको नकारात्मक धारणाले पनि यसलाई प्रभावमा पारेको उनको भनाइ छ। कांग्रेसले जिल्लाका ५ पालिकाको नेतृत्वमा अहिले बाजी मारेको भएपनि पार्टी भित्रको कमजोर व्यवस्थापनको पाटो भने वडा तहमा उदांगिएको छ।

कांग्रेसका जिल्ला सभापति शंकरप्रसाद डाँगीकै वडा शान्तिनगर गाउँपालिका वडा नम्बर २ मा कांग्रेसकै बागी उम्मेदवारले आधिकारीक उम्मेदवारलाई परापजत गरिदिए। यसैगरी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ को वडा अध्यक्षमा भिडेका कांग्रेसका जिल्ला सहसचिव राजु आचार्य आफै पराजित बन्न पुगे।

जिल्ला सचिव अर्जुन योगीको वडा घोराही उपमहानगर ५ मा पनि कांग्रेस पराजित बन्न पुग्यो। यसैगरी जिल्ला सदस्य किरण रेग्मी पनि घोराही १७ को वडा सदस्यमा पराजित बने। यी सबैमा देखिएको हारको कारण कांग्रेसीहरुले पार्टी भित्रकै अन्तरघातलाई मानेका छन्। त्यसो त, कांग्रेस भित्र चल्दै आएको घात अन्तरघातको श्रृंखला लामो छ।

पराजयको प्रमुख कारण आफै भित्रको घातलाई विश्लेषण गर्दै आएको कांग्रेस भित्रको यो बहस यो स्थानीय तहको निर्वाचनमा पनि मत्थर बनेन। पार्टीको महाधिवेसन लगत्तै भएको स्थानीय तहको निर्वाचनमा अहिले अन्तरघातको झनै देखिएको कांग्रेस नेताहरुको बुझाइ छ।

‘भर्खरै हामीहरुले पार्टीको महाधिवेशनमा आन्तरिक प्रतिस्पर्धा सक्काएका थियौँ,’ जिल्ला उपसभापति गिरीराज सुवेदीले भने ‘लगत्तै स्थानीय तहको निर्वाचनमा होमिनु पर्ने परिस्थीति बन्यो, फलतः महाधिवेशनको असन्तुष्टि स्थानीय तहको निर्वाचनमा छरपष्टै पोखियो।’

प्रकाशित: १५ जेष्ठ २०७९ ११:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App