coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

काठमाडौंलाई सुन्दर सहर बनाउन सबैको साथ आवश्यक: नवनिर्वाचित मेयर साह

काठमाडौं महानगरको मेयरमा बालेन साह निर्वाचित

नवनिर्वाचि मेयर वालेन्द्र साह। तस्बिर: विजय राइ/नागरिक

काठमाडौं महनागरपालिकाका नवनिर्वाचि मेयर औपचारिक घोषणासँगै बालेन्द्र साहले महानगरपालिकाकाका मतदातालाई परिवारका रुपमा लिएको बताएका छन्।

शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा निर्वाचन आयोगले महानगरको निर्वाचन परिणाम घोषणा कार्यक्रममा मेयर साहले उक्त कुरा बताएका हुन्। उनले र काठमाडौंलाई सुन्दर सहर बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए।

मेयरकाे औपचारिक घोषणासँगै बोलेनको विजय उत्सव सुरु भएको छ। सभागृहमा मेयर निर्वाचित भएको घोषणासँगै समर्थकले बालेनको साथमा विजय जुलुस निकालेका छन्। उनीहरूले यसलाई विजय उत्सव नभई धन्यवाद र्‍याली भनेका छन्।  

स्वतन्त्रबाट उठेका साहले कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई हराउँदै मेयरमा निर्वाचित भएका हुन्। साहले ६१ हजार ७६७ मत ल्याएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिंहले ३८ हजार ३४१ मत ल्याइन्। स्थापितले ३८ हजार ११७ मत ल्याए। साहले सिंहको भन्दा २३ हजार ४२६ मत बढी पाएका छन्।

को हुन् बालेन्द्र?

बालेन्द्र साहको नामबाट चुनाव जितेका उनी संगीत जगतमा बालेनका नामले चिनिन्छन्। उनको पुख्र्याैली घर महोत्तरी जिल्लाको एकडारा–१ हो। उनका हजुरबुबा मुनिलालका चार छोरामध्ये एक रामनारायणका कान्छा छोरा बालेन्द्र हुन्। बालेन्द्रका पिता रामनारायण आयुर्वेद डाक्टर हुन्। उनी करिब चार दशकअघि नै काठमाडौंको सिंहदरबारस्थित आयुर्वेद औषधालयमा चिकित्सकको रूपमा काम गर्न महोत्तरीबाट आएका थिए। सोही बेलादेखि साह परिवार यतै छ। बालेन्द्रकी पत्नी सविना जनस्वास्थ्य क्षेत्रमा काम गर्छिन्। उनका दाजु कुशल चार्टर्ड एकाउन्टेन्ट हुन् भने भाउजू बैंकमा काम गर्छिन्। उनकी बहिनी चित्रकार हुन्।

पुख्र्यौली घर मधेस भए पनि २०४७ सालमा काठमाडौंको गैरीगाउँमा जन्मिएका बालेन्द्र पेसाले इन्जिनियर हुन्। सानैदेखि संगीततर्फ झुकाव राख्ने उनी स्ट्रकचरल इन्जिनियर, ¥यापर, अभिनेता, संगीत निर्माता–निर्देशक, गीत लेखक, कवि इत्यादिको रूपमा परिचित छन्। उनले सार्वजनिक गरेको चुनावी घोषणापत्रमा डिजिटल सरकारदेखि आइडिया बैंकसम्मको कल्पना गरिएको छ। शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायत क्षेत्रमा पनि उनले महत्वाकांक्षी योजना अघि सारेका छन्। 

 

प्रकाशित: १३ जेष्ठ २०७९ ०३:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App