१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मेयर आचार्य र उपमेयर मञ्जुले गरे पदबहाली

पोखरालाई पर्यटकीय राजधानी बनाउनेसहित तीन प्रस्तावमा हस्ताक्षर

पदबहाली गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य। तस्बिर: उमेश पुन/नागरिक

पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यले बिहीबार पदबहाली गरेका छन्। शुक्रबार विहान मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईसमक्ष सपथ खाएका आचार्यले दिउँसो २:४५ बजे पदबहाली गरेका हुन्।

पदबहालीलगत्तै उनले ३ महत्वपूर्ण निर्णय गरेका छन्। पहिलो निर्णयमा उनले न्यून आय भएका शिशुलाई पोषण भत्ता उपलब्ध गराउने, सिम्बोल अफ पोखरा प्रतियोगिता र पोखरालाई पर्यटकीय राजधानी बनाउन संघ सरकारलाई प्रस्ताव गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन्।

पदबहालीपछि पत्रकारसँग बोल्दै नवनिर्वाचित मेयर आचार्यले पोखरालाई पर्यटकीय राजधानी बनाउन संघ सरकारसमक्ष प्रस्ताव लैजाने बताए। त्यहि भएर सो सम्बन्धी प्रस्ताव लैजाने निर्णय पदबहाली गरेलगत्तै गरिएको उनले बताए। पोखरा पर्यटनको केन्द्र भएकाले सबै हिसाबले पोखरालाई पर्यटकीय राजधानी बनाउन उपयुक्त हुने भएकाले यस्तो प्रस्ताव लैजान लागिएको उनको भनाई छ। प्रस्ताव सामान्य प्रशासन मन्त्रालय हुँदै संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइने उनले बताए।

पोखरालाई पर्यटकीय राजधानी बनाउने प्रस्ताव पपुलर भएपनि यो संघ सरकारबाट अस्वीकृत प्रस्ताव हो। यसअघि यहि प्रस्ताव निवर्तमान मेयर मानबहादुर जिसीले पनि लगेका थिए। उसो त गण्डकी प्रदेश सरकारलेपनि दुई पटक यो प्रस्ताव संघ सरकारसमक्ष लगिसकेको छ। पहिलो पटकको निर्णय संघ सरकारको मन्त्रिपरिषद बैठकमा लगिएपनि त्यहाँ सहमति नजुटेपछि फिर्ता भएको थियो। ओली सरकार हुँदा गएको उक्त प्रस्ताव फिर्ता भएपनि शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि सकारात्मक हुने आशासहित गण्डकी प्रदेश सरकारले दोश्रो पटक मन्त्रिपरिषद बैठकले निर्णय गरेर पठाएको छ तर अहिलेसम्म निर्णय भएको छैन। 

पोखराका निर्वाचित वडाध्यक्षहरुलाई सपथ खुवाउँदै मेयर धनराज आचार्य। तस्बिर: उमेश पुन/नागरिक

त्यस्तै, मेयर आचार्यले न्यून आय भएका परिवारलाई पोषण भत्ता उपलब्ध गराउने निर्णय गरेका छन्। यो भत्ता वडाको सिफारिसमा महानगरबाट वितरण गरिने मेयर आचार्यले बताए। तर पोषण भत्ता कति दिने भन्ने निर्णय गर्न भने बाँकी छ। ‘भत्ता कति समयसम्म दिने, कति दिने भन्ने आगामी बजेटमा उल्लेख भएर आउनेछ,’उनले भने।

त्यस्तै, मेयर आचार्यले पोखराको पहिचान झल्किने ‘सिम्बोल अफ पोखरा’ निर्माण गर्ने घोषणा गरेका छन्। कुनैपनि ठाउँको पहिचान झल्किने सिम्बोल हुने भन्दै उनले पोखराकोपनि पहिचान झल्किने ‘सिम्बोल अफ पोखरा’ एक वर्ष भित्र बनाइने बताए। तर ‘सिम्बोल अफ पोखरा’ कस्तो बनाउने? त्यसमा के के राख्ने भन्नेबारेमा प्रतियोगितामार्फत चयन गरिने उनको भनाई छ। ‘अक्सफर्ड युनिभर्सिटी जाँदा त्यहाँ उसको सिम्बोल छ। पेरिसमा पनि छ। पोखरा चिनाउन यहाँ पनि त्यस्तै सिम्बोल बनाउने छौं,’उनले भने। प्रतियोगितामा भाग लिन ‘थ्रीडीसहितको एनिमेसन’ तयार गरेर महानगरमा पेश गर्नुपर्ने र उत्कृष्ट छनौट गरेर ‘सिम्बोल अफ पोखरा’ बनाइने उनले बताए। प्रतियोगितामा उत्कृष्ट छनौट हुनेलाई २ लाख रुपैयाँ पुरस्कार राशी दिइने उनले बताए। ‘सिम्बोल अफ पोखरा’को थ्रीडी एनिमेसन बुझाउने समय २ महिना राखिएको छ।

यसैबीच, नवनिर्वाचित उपमेयर मञ्जुदेवी गुरुङले महिला हिंसाविरुद्ध गरिँदै आएको महिला पुरुष समचेतना कार्यक्रम र अपाङ्गता भएका बालबालिकाहरुलाई शिक्षामा समान पहुँच स्थापित गर्ने कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेकी छन्। शुक्रबार दिउँसो पदबहाली गर्दै उनले महिला हिंसाविरुद्ध पुरुषको ऐक्यवद्धताका लागि सञ्चालन गरिँदै आएको ‘महिला पुरुष समचेतना कार्यक्रम’लाई निरन्तरता दिने निर्णयमा हस्ताक्षर गरेकी हुन्।

यसअघि बिहीबार पूर्वाह्न मेयर आचार्य, उपमेयर गुरुङसहित पोखरा महानगरका ३३ वटै वडाका वडाध्यक्ष तथा वडा सदस्यहरुले सपथ खाएका थिए। शुरुमा मेयर आचार्यले मुख्य निर्वाचन अधिकृतबाट सपथ खाएका थिए। त्यसपछि मेयर आचार्यले उपमेयर गुरुङ, वडाध्यक्ष तथा सदस्यहरुलाई पालैपालो सपथ खुवाएका थिए।

मेयर आचार्य र उपमेयर गुरुङ गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमार्फत निर्वाचित भएर आएका हुन्। बिहीबार राती सम्पन्न मत गणनामा आचार्य नेकपा एमालेका कृष्णबहादुर थापालाई पराजित गर्दै मेयरमा र गुरुङ नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई पराजित गर्दै उपमेयरमा निर्वाचित भएका हुन्।

प्रकाशित: १२ जेष्ठ २०७९ १५:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App