coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने दलहरू वडामै खुम्चिए

कांग्रेसको जित घट्यो एमालेले बढायो

देशको राजनीतिक वृत्तमा महत्व पाउँदै आएका र मोरङको राजनीतिमा पनि प्रतिस्पर्धी दलका रुपमा रहंदै आएका दलहरू स्थानीय तहको निर्वाचनमा वडामै सीमीत भएका छन्।

जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलहरू हाल सम्पन्न स्थानय तह निर्वाचनमा वडामै सीमित भएका छन्। नेकपा एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीले मोरङमा एउटा वडा अध्यक्षसमेत जित्न सकेन।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा मोरङका १७ वटै स्थानीय तहमा कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा रह्यो। कुनै पनि स्थानीय तहमा कांग्रेस र एमाले बाहेकका दलहरू प्रतिस्पर्धीका रुपमासमेत देखिएनन्।

जहाँ एमाले विजयी भयो त्यहाँ कांग्रेस निकटतम प्रतिस्पर्धी रह्यो। जहाँ कांग्रेस विजयी भयो त्यहाँ एमाले निकटतम प्रतिस्पर्धी रह्यो। मोरङमा २०७४ को स्थानीय तहको निर्वाचनमा एउटा स्थानमा विजयी भएको नेकपा माओवादी केन्द्र यो निर्वाचनमा मोरङका कुनै पनि स्थानीय तहमा निर्वाचित हुन सकेन।

यो निर्वाचनमा माओवादी केन्द्रले मोरङको मिक्लाजुङ गाउँ पालिकामा उपप्रमुखमा विजयी हुन सफल भयो। मिक्लाजुङमा कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेर उमेदवारी दिएको थियो। अन्य स्थानीय तहमा माओवादी केन्द्र वडामा मात्रै सीमित भयो। माओवादी केन्द्रले धेरैजसो स्थानीय तहमा वडा अध्यक्षसमेत जित्न सकेन।

यस्तै मधेस आन्दोलन पछि मोरङको दक्षिणी क्षेत्रमा धेरै प्रभाव राख्न सफल जनता समाजवादी पार्टी पनि यो निर्वाचनमा वडामै सीमित रह्यो। राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका निर्वाह गर्दै आएका माओवादी केन्द्र र जनता समाजवादी पार्टी मोरङमा झन् झन् कमजोर बन्दै गएको स्थानीय तहको निर्वाचनले देखाएको छ।

पहिलो पटक स्थानीय तहको निर्वाचनमा उठेको नेकपा एकिकृत समाजवादी पार्टीले मोरङमा प्रतिस्पर्धी दलका रुपमा आफूलाई उभ्याउन सकेन। स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादी पार्टीको प्रभाव शून्य बराबर नै देखियो।

१० वर्षे जनयुद्ध लडेर मूल धारको राजनीतिमा आएको माओवादी केन्द्र र मधेस आन्दोलनबाट राष्ट्रिय  राजनीतिमा प्रभाव राख्न सफल जनता समाजवादी पार्टी दुवै दल कमजोर बन्दै जाँदा मोरङमा पुराना दलहरू कांग्रेस र एमालेकै हालीमुहाली भएको छ।

अघिल्लो निर्वाचनमा मोरङको जहदामा जित हाँसिल गरेको जसपा यो निर्वाचनमा जहदामै पनि प्रतिस्पर्धीसमेत बन्न सकेन। यस्तै अघिल्लो निर्वाचनमा विराटनगर महानगरपालिकाको ६ वटा वडामा विजयी भएको जसपा यो निर्वाचनमा २ वटा वडामा खुम्चिएको छ।

यता अघिल्लो निर्वाचनमा विराटनगरको एउटा वडामा विजयी भएको नेकपा माओवादी केन्द्र यो निर्वाचनमा कुनै पनि वडामा विजयी हुन सकेन। आफूलाई परिवर्तनकारी भन्ने दलहरू खुम्चंदै जाँदा विराटनगर महानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी भने चम्केको छ।

राप्रपाले विराटनगरमा प्रभाव जमाउँदै गएको निर्वाचनको मत परिणामले देखाएको छ। यो पटकको निर्वाचनमा राप्रपाले विराटनगरको एउटा वडामा जित हाँसिल गर्न सफल भएको छ। भने विराटनगरको वडा नम्बर २ मा थोरै मत अन्तरले मात्रै हार व्यहोरेको छ। यस्तै विराटनगरका अन्य वडाहरूमा पनि राप्रपाले विगतको भन्दा बढी मत प्राप्त गरेको छ।

कांग्रेसको जित घट्यो एमालेले बढायो

२०७४ को निर्वाचनमा ९ वटा स्थानीय तहमा जित हाँसिल गरेको कांग्रेसले यो निर्वाचनमा ८ वटा स्थानीय तहमा मात्रै जित हाँसिल गरेको छ। २०७४ को निर्वाचनमा ४ वटा स्थानीय तहमा जित हाँसिल गरेको नेकपा एमालेले यो निर्वाचनमा ९ वटा स्थानीय तहमा जित हाँसिल गरेको छ।

एमालेलेले ९ स्थानीय तहसँगै वडाहरूमा पनि धेरै स्थानमा जित हाँसिल गरेको छ। मोरङमा कांग्रेसले प्रमुख जितेका अधिकांश स्थानीय तहमा नेकपा एमालेले उप प्रमुख जितेको छ। वडाहरूमा पनि एमालेकै वर्चस्व छ।

यस्तै एमालेले प्रमुख जितेको एउटा स्थानीय तहमा मात्रै कांग्रेसले उपप्रमुखमा जित हाँसिल गरेको छ। मोरङको  सुन्दरहरैंचा, लेटाङ, पथरी शनिश्चरे, केरावारी, सुनवर्षी, कानेपोखरी, उर्लावारी, रंगेली नगरपालिकामा प्रमुख, उपप्रमुख दुवैमा मा एमालेले जित हाँसिल गरेको छ।

यस्तै बेलवारी नगरपालिकाको मेयरमा नेकपा एमाले विजयी भएको थियो। बेलवारीको उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ। यता नेपाली कांग्रेसले प्रमुख जितेको विराटनगर महानगरपालिका, रतुवामाई नगरपालिका, कटहरी गाउँपालिका र ग्रामथान गाउँपालिकाको उपप्रमुखमा  नेकपा एमाले विजयी भएको छ। मोरङको बुढीगंगा , धनपालथान र जहदामा प्रमुख र उप प्रमुख दुवै पदमा नेपाली कांग्रेस विजयी भएको छ।

मोरङको मिक्लाजुङमा भने प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा माओवादी केन्द्र निर्वाचित भएको छ। मोरङका वडाहरूमा एमालेकै वर्चस्व देखिएको छ। मोरङका १७ पालिकाका १ सय ५५ वडाहरूमध्ये नेकपा एमालेले ८० वटा वडाको अध्यक्ष जित्न सफल भएको छ। यस्तै नेपाली कांग्रेसले ५८ वटा वडाको अध्यक्ष जितेको छ। माओवादी केन्द्रले ८ वटा वडाको अध्यक्ष जितेको छ।

त्यस्तै जनतासमाजवादी पार्टीले ५ वटा वडाको अध्यक्ष जितेको छ। मोरङमा  राप्रपाले १ वडा अध्यक्ष जितेको छ। स्वतन्त्र उमेदवारहरूले ३ वटा वडाअध्यक्ष जितेका छन्। राजनीतिक परिवर्तका संवाहक भन्दै आएका दलहरूको प्रभाव कमजोर हुँदै जानु, पुराना दलहरू नेपाली कांग्रेस र  नेकपा एमालेको सबै स्थानीय तहमा वर्चस्व हुनु त्यस्तै राप्रपाले प्रभाव जमाउँदै जानुले आगामी दिनमा नेकपा माओवादी केन्द्र, जसपालगायतका दलहरूका लागि मोरङको राजनीति निकै चुनौतीपूर्ण देखिएको छ।

प्रकाशित: ११ जेष्ठ २०७९ १२:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App